सुदूर नेपाललाई विश्वसँग जोड्दै

तमुबीच एकता, सद्भाव, सहयोग र समन्वयको भावना जगाइराख्न आग्रह

२०७७ पुष १५, ०४:५४ रासस

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले तमुहरुबीच एकता, सद्भाव, सहयोग र समन्वयको भावना जगाइराख्न देशविदेशमा रहेका गुरुङ समुदायलाई आग्रह गरेका छन् ।  

तमु समुदायको मुख्य पर्व तमू ल्होसारका अवसरमा तमु ल्होसार मूल आयोजक समितिद्वारा आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै उनले ल्होसार पर्वले समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न सहयोग पुग्ने बताए । 

गुरुङ समुदायले भव्य रुपमा विगतका वर्षमा टुँडिखेलमा विभिन्न कार्यक्रम आयोजना गरी भेटघाट गर्ने, रमाइलो गर्ने गरेपनि यस वर्ष कोरोना भाइरसका कारण त्यसरी मनाउन नपाइए पनि भिडियोमार्फत शुभकामना दिने र भेटघाट गर्ने अवसर मिलेकामा आयोजकप्रति नेपाल सरकारका प्रवक्ता गुरुङले धन्यवाद दिए । 

देशका विभिन्न भूभागमा रहेका गुरुङ समुदायले आज नयाँ वर्षको स्वागतसहित तमु ल्होसार पर्व विभिन्न कार्यक्रम गर्दै मनाइरहेका छन् ।

कमेन्ट लोड गर्नुस