सुदूरपश्चिमका मुख्यमन्त्री ‘एक्लिदै’, काँग्रेसलाई सत्ता साझेदारीको प्रस्ताव !
नेकपा विभाजनको असर
धनगढीः प्रचण्ड–नेपाल समूहमा बहुमतमै रहेका भनिएका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट अल्पमतमा पर्न थालेको संकेत मिलेको छ।
आइतबार दिउँसोसम्म आफ्नो नेतृत्वको सरकार सुरक्षित रहेको दाबी गरिरहेका मुख्यमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग सत्ता साझेदारीको प्रस्ताव राखेका छन्।
आइतबार साँझ मुख्यमन्त्रीसँग भेटवार्ता गरेका नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले मुख्यमन्त्री भट्टले सरकारमा सहभागी हुन अफर गरेको खुलाएका छन्।
‘उहाँले आफूलाई पार्टीभित्रैबाट असहयोग भएकाले सघाउन आग्रह गर्नुभएको छ। सरकारमा के भूमिका रोज्नुहुन्छ भन्ने आशयको कुरा गर्नुभएको थियो, ’रावलले दिनेशखबरसँग भने, ‘तर मैले जवाफमा हामीलाई अहिले पद चाहिएको छैन् भनेको छु। तपाईहरु मिलेर जानुस भन्ने सुझाव दिए।’
रावलले मुख्यमन्त्री निकै गम्भीर रहेको आफूले पाएको बताए। नेकपाका नेता लेखराज भट्टको सिफारिसमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्ट नेकपा विभाजन भएपछि प्रचण्ड–नेपाल समूहमा उभिएका थिए।
लेखराज भट्टसँग सम्बन्ध बिग्रिएपछि नेकपाका प्रदेश इन्चार्ज भीम रावलसँग नजिकिएका भट्ट आफ्नो सरकार सुरक्षित रहेको दाबी गर्दै आएका थिए।
तर प्रचण्ड–नेपाल समूहकै १८ जना प्रदेशसभा सदस्यले भट्ट विरुद्ध हस्ताक्षर संकलन गरिसकेको स्रोत बताउँछ।
पूर्व सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीको अगुवाईमा भएको भनिएको हस्ताक्षर अभियानपछि झस्कीएका मुख्यमन्त्री भट्टले शनिबार सोडारीलाई बोलाएर छलफल गरेका थिए।
सोडारीले जवाफमा मुख्यमन्त्री नभएर आफूले मन्त्रीहरु हेरफेर हुनुपर्ने बताउँदै आएको प्रतिक्रिया दिएका थिए।
ओली समूहले पनि प्रदेशसभा सदस्य आफ्नो पक्षमा पार्ने कसरत तीब्र बनाएका बेला मुख्यमन्त्रीले सरकार संकटमा परेको प्रतिपक्षी दलका नेतासँगको भेटमा स्पष्ट संकेत गरेका छन्।
तर प्रचण्ड–नेपाल समूहका इन्चार्ज भीम रावल मुख्यमन्त्रीसँग असन्तुष्ट प्रदेशसभा सदस्यहरुलाई व्यवस्थापन गर्न सक्रिय बनेको स्रोत बताउँछ।
नेकपा विभाजन भएपछि पहिलो पटक आइतबार धनगढीमा आयोजना गरिएको कार्यकर्ता भेलामा पूर्व नेकपा माओवादीको मन्त्रीहरु भने सहभागि भएका थिएनन्।
तर पूर्व एमालेबाट कानून मन्त्री बनेका प्रकाश शाह, वन मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी भने कार्यक्रममा सहभागी थिए।
ओली समूहका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा, मुख्यमन्त्री भट्टसहित पूर्व माओवादीका आर्थिक मामिला मन्त्री झपट बोहरा, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनीता चौधरी भने कार्यक्रममा सहभागि भएका थिएनन्।
सम्बन्धित समाचार
सुदूरपश्चिमका मुख्यमन्त्री विरुद्व प्रचण्ड–नेपाल समूहकै ‘१८ सांसदको हस्ताक्षर’
सुदूरपश्चिममा राजनीतिक हल्लीखल्ली: २७/२६ को चर्चा, बहुमतको सरकार बन्ने ओली पक्षको दाबी
के सुदूरपश्चिमका मुख्यमन्त्रीको कुर्सी धरमराएकै हो ?
प्रचण्ड–नेपाल समूहकै प्रदेशसभा सदस्य सोडारी भन्छन्- मुख्यमन्त्रीलाई समस्या हुनसक्छ
सुदूरपश्चिममा काँग्रेस र जसपा नेकपाका दुवै समूहसँग बार्गेनिङमा