सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा राजनीतिक हल्लीखल्ली: २७/२६ को चर्चा, बहुमतको सरकार बन्ने ओली पक्षको दाबी

२०७७ पुष ७, ०१:४१ खबर संवाददाता

धनगढीः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा फुटको घोषणा हुन मात्रै बाँकी रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि अल्पमत, बहुमतको अंक गणित सुरु भएको छ। 

सुदूरपश्चिममा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष कमजोर अवस्थामा छ। 

तर केन्द्रमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट ओली समूहमा रहेकाले प्रदेशको राजनीतिक समिकरण पनि फेरबदल हुने सम्भावना बलियो भएको उनी निकट नेताहरुको विश्लेषण छ। 

सुदूरपश्चिम प्रदेशसभामा रहेका ५३ जना मध्ये नेकपाका ३९, नेपाली काँग्रेसका १२ र राजपाका २ जना प्रदेशसभा सदस्य छन। 

३९ जना प्रदेशसभा सदस्य मध्ये ३४ जना आफ्नो समूहमा रहेको दाबी भीम रावल पक्षले गरेको छ। सो दाबीअनुसार ओली पक्षमा ५ जना प्रदेशसभा सदस्य छन भन्ने देखिन्छ।  

प्रचण्ड–नेपाल निकट, भीम रावल पक्षका एक प्रदेशसभा सदस्यले दिनेशखबरसँग भने, ‘हाम्रो पक्षमा स्पष्ट दुई तिहाइ बहुमत छ। ओली समूह अल्पमतमा भएकाले उनी पक्षीय मन्त्रीको पद समेत धरापमा परेको छ। समिकरण फेरबदल हुने कुनै सम्भावना नै छैन्।’  

तर ओली समूहको दाबी भने छुट्टै छ। उनी पक्षीय प्रदेशसभा सदस्य भन्छन्, ‘केन्द्रमा लेखराज भट्टले प्रधानमन्त्री ओलीलाई साथ दिनुभएको छ। त्यसको प्रभाव सुदूरपश्चिममा पनि परेको छ। अहिले पूर्व माओवादी र एमालेका समेत गरी १३ जना ओलीको पक्षमा खुलेका छन।’  

अहिलेसम्म भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा, नेकपा कैलालीका अध्यक्ष पनि रहेका प्रदेशसभा सदस्य रतन थापा र नेपालु चौधरी ओलीका पक्षमा खुलेका प्रदेशसभा सदस्य हुन्।

ओलीको पक्षमा स्पष्ट खुलेका ३ जना प्रदेशसभा सदस्य बाहेकका १० जना अरु को–को छन्? भन्ने प्रश्नमा उनले भने, ‘विस्तृतमा सबै कुरा त अहिले नै भन्न मिल्दैन् तर प्रमुख सचेतक तारालामा तामाङ लगायतका १३ जना ओली पक्षमा उभिने निश्चित छ।’

अहिलेसम्म भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा, नेकपा कैलालीका अध्यक्ष पनि रहेका प्रदेशसभा सदस्य रतन थापा र नेपालु चौधरी ओलीका पक्षमा खुलेका प्रदेशसभा सदस्य हुन्।

अर्का प्रदेशसभा सदस्यको भनाईमा भने आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोरा, प्रमुख सचेतक तारालामा तामाङ, प्रदेशसभा सदस्य कुलबिर चौधरी, लालबहादुर खड्का, मानबहादुर सुनार, कुन्ति जोशी, लिलाधर भट्ट लगायतका प्रदेशसभा सदस्य ओली समूहतीर लाग्ने देखिएको छ। 

काँग्रेस र राजपासँग सहकार्य गर्दा बहुमतको सरकार बन्ने दाबी  

सुदूरपश्चिममा ओली समूहको दाबीअनुसारको अंकगणित मिलेमा काँग्रेस र राष्ट्रिय जनता पार्टीसँग मिलेर बहुमतको सरकार बनाउने दाबी गरिन्छ।   

ओली समूहमा नेकपाका १३ सहित प्रतिपक्षी नेपाली काँग्रेसका १२ र राजपाका २ गरी २७ जना प्रदेशसभा सदस्य मिल्दा बहुमतको सरकार बनाउन सकिने बताइन्छ। त्यसो गर्दा प्रचण्ड–नेपाल पक्षमा २६ जना मात्र प्रदेशसभा रहने जिकिर छ। 

तर केन्द्रमा विकसित हुने राजनीतिक घटनाक्रमले प्रभाव पार्ने भएकाले तत्कालै यो दाबी लागु हुने सम्भावना भने नभएको नेकपाका अर्को सांसद बताउँछन्। 

‘तपाईले भनेको कुरा मैले नी सुने। तर राजनीतिक घटनाक्रमले कस्तो खालको मोड लिन्छ त्यसपछि मात्र यी विकल्पमा अगाडि बढ्ने अवस्था आउन सक्छ। अहिले नै त्यो हुँदैन्,’ उनले दिनेशखबरसँग भने। 

अर्थमन्त्री बोहरा मुख्यमन्त्री हुने चर्चा 

यसैबीच, ओली पक्षको दाबीअनुसार सुदूरपश्चिम प्रदेश सरकार गठन भइहालेमा मुख्यमन्त्री को हुने भन्ने चर्चा पनि हुन थालेको छ।

अहिलेका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा र भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराबीच मुख्यमन्त्रीमा प्रतिस्पर्धा हुन सक्ने दाबी गरिन थालिएको छ। 

‘यदी यस्तो खालको समिकरण गर्नुपरिहाल्यो भने झपट बोहरा नै मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ,’ उनी निकट प्रदेशसभा सदस्यले दिनेशखबरसँग भने, ‘तर पठान बोहरा उहाँको प्रतिस्पर्धीको रुपमा देखिनुभएको छ। यी सबै कुरा परस्थितीले निर्धारण गर्छ।’

अर्थमन्त्री बोहराले भने आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन। दिनेशखबरले राखेको जिज्ञाशामा मन्त्री बोहराले भने, ‘अहिले गम्भीर परस्थिती सिर्जना भएको छ। त्यो विषयमा मैले कुनै सोच नै बनाएको छैन्। पार्टी एक हुनुको विकल्प छैन्। म पार्टी एकताको पक्षमा छु।’

तर ओली समूहसँग सहकार्य गरेर अगाडी बढ्नुपर्ने विषयमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्यहरुले प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।  

 

कमेन्ट लोड गर्नुस