सुदूरपश्चिममा काँग्रेस र जसपा नेकपाका दुवै समूहसँग बार्गेनिङमा
नेकपा विभाजनको असर
धनगढीः नेकपा विभाजन भएपछि सुदूरपश्चिम प्रदेशमा पनि सत्तासमिकरणको जोडघटाउ तीब्र बनेको छ।
सुदूरपश्चिम प्रदेश सरकारमा प्रचण्ड–नेपाल समूहको स्पष्ट बहुमत रहेको दाबी गरिएका बेला ओली समूहले पनि प्रदेशसभा सदस्यहरुलाई आफ्नो पक्षमा पार्ने कसरत जारी राखेको छ।
३९ जना प्रदेशसभा सदस्य मध्ये प्रचण्ड–नेपाल समूहले ३४ जना आफूहरुसँगै रहेका बताउँदा ओली समूहले करिब १३ जना आफ्नो पक्षमा उभिएको दाबी गरिरहेको छ।
प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्यहरुलाई आफ्नो पक्षमा पारेर प्रतिपक्षी दल काँग्रेस र राजपासँग मिलेर सरकार बनाउने रणनीतिका साथ ओली समूह अघि बढेको छ।
तर प्रचण्ड–नेपाल समूहले पनि भित्रभित्रै आफ्ना प्रदेशसभा सदस्यहरुलाई अर्को समूहमा जान रोक्दै काँग्रेस र राजपालाई फकाउने प्रयास जारी राखेको स्रोत बताउँछ।
‘ओली समूहले दाबी गरेअनुसार १३ जना प्रदेशसभा सदस्य मात्र उनीहरुको पक्षमा उभिदा अहिलेको सरकार विरुद्ध अविश्वासको प्रस्ताव आउने निश्चित छ,’ एकजना प्रदेशसभा सदस्यले दिनेश खबरसँग भने, ‘तर उहाँहरुको दाबी अनुसारको समिकरण अहिले नै भएको अवस्था छैन्। केही सांसदहरु स्पष्ट रुपमा नखुलेको कुरा हो।’
ओली पक्ष बलियो बन्दै गएको अवस्थामा प्रचण्ड–नेपाल समूहले पनि प्रतिपक्षी काँग्रेस र राजपासँग सत्ता समिकरण गर्ने रणनीति अख्तियार गरि छलफललाई अगाडि बढाएको स्रोत बताउँछ।
‘सकभर हाम्रो पक्षमा रहेका बहुमत प्रदेशसभा सदस्यहरुलाई ओली समूहतिर जान नदिने प्रयास रहन्छ,’ प्रदेशसभा सदस्यले भने, ‘तर त्यसाे हुन सकेन भने काँग्रेस र राजपासँग सहकार्य गरेर संयुक्त सरकार बनाउँछौँ।’
काँग्रेस र जसपा पनि दुवैतिर बार्गेनिङमा
नेकपा फुटको भरपुर फाइदा उठाउने दाउमा प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी रहेका छन्।
नेकपाका दुवै समूहले सत्ता साझेदारीको अफर गरिरहेका बेला १२ प्रदेशसभा सदस्य रहेको काँग्रेस र २ प्रदेशसभा सदस्य रहेको राजपा निर्णायक देखिएका छन्।
निर्णायक भूमिकालाई आफू अनुकुल लाभ प्राप्त हुनेगरि उपयोग गर्ने दाउमा दुवै पार्टीका प्रदेशसभा सदस्य रहेको बताइन्छ।
काँग्रेसले दुवै समूहसँग सत्ता साझेदारी गर्ने अवस्था आए सरकारको नेतृत्वको दाबी गर्ने रणनीति अख्तियार गरेको छ।
राजपाले पनि सरकारमा जानै पर्ने अवस्था आए राम्रो मन्त्रालयको जिम्मेवारी दिनुपर्ने प्रस्ताव राखेको नेकपा स्रोत बताउँछ।
काँग्रेसले मुख्यमन्त्रीकै दाबी गरिरहेपनि नेकपाका दुबै समूहले सरकारको नेतृत्व नदिने नेताहरु बताउँछन्। काँग्रेस र राजपाले दुवै समूहभित्र शक्ति बाँडफाँडका लागि बार्गेनिङ तीब्र बनाएको समाचार स्रोतको दाबी छ।