सुदूर नेपाललाई विश्वसँग जोड्दै

रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश

२०८१ पुष २५, ०६:१९ खबर संवाददाता

पोखरा : पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको हो। 

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। अदालतको आदेशसँगै लामिछानेले अब बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनेछन्।

सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध गएको ७ पुसमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा छ। सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ। लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ। 

कास्की प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रूपैयाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलाई राय दिएको थियो। 


 

कमेन्ट लोड गर्नुस