के सुदूरपश्चिमका मुख्यमन्त्रीको कुर्सी धरमराएकै हो ?
नेकपा विभाजनको असर
धनगढीः नेकपा विभाजनपछि प्रचण्ड–नेपाल खेमामा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री सुरक्षित रहेको दाबी गरिएका बेला फेर्नुपर्ने माग उठेको छ।
प्रतिनिधिसभा विघटनको घोषणाको प्रभावले प्रदेश सरकारमा पनि सत्ता फेरबदलको चर्चा चलिरहदा प्रचण्ड–नेपाल समूहले सुदूरपश्चिम सरकार नढल्ने दाबी गरिरहेका छन।
तर प्रचण्ड–नेपाल खेमाभित्रै मुख्यमन्त्री त्रिलोचन भट्टलाई हटाउनुपर्ने बहुमत प्रदेशसभा सदस्यले माग उठाएको स्रोत बताउँछ।
नेकपाका ३९ जना प्रदेशसभा सदस्य मध्ये ३४ जना स्पष्ट रुपमा आफ्नो पक्षमै रहेकाले तत्कालन सरकार परिवर्तन हुने सम्भावना नभएको बताइएपनि भित्र–भित्रै मुखयमन्त्री हटाउनुपर्ने आवाज पेचिलो बन्न थालेको छ।
‘मुख्यमन्त्रीको भूमिकामाथि विगतदेखि नै हामीले प्रश्न उठाउँदै आएका हौँ,' प्रचण्ड–नेपाल समूहका एकजना प्रदेशसभा सदस्यले दिनेशखबरसँग भने - 'उहाँले जनअपेक्षाअनुसार काम गर्न सक्नुभएन। ‘प्रदेश सरकारको नेतृत्वमा अर्को समूह आउने सम्भावना नभएपनि मुख्यमन्त्रीसहितका केही मन्त्रीहरु हटाउनुपर्ने माग उठेको छ। बहुमत प्रदेशसभा सदस्यको सोही माग छ।’
प्रचण्ड–नेपाल समूहकै अर्का प्रदेशसभा सदस्यले पनि मुख्यमन्त्री फेर्नुपर्ने माग उठेको कुरा साँचो भएको दिनेशखबरलाई बताए।
उनले भने, ‘यसअघि पनि बहुमत प्रदेशसभा सदस्यले उहाँको काम गर्ने शैली भएन। प्रदेश सांसदहरुसँग कुनै सल्लाह नै नगरि आफूखुसी निर्णय गर्न थालेपछि पदबाट हटाउनुपर्ने माग उठेको थियो। तर पछि नेताहरुले असन्तुष्टि व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएपछि त्यो आवाज मत्थर भएको हो।’
ती सदस्यको भनाइमा प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्रीलाई हटाउनुपर्ने माग उठेका बेला नेकपा सुदूरपश्चिमका इन्चार्ज समेत रहेका प्रचण्ड–नेपाल समूहका भीम रावलले असन्तुष्टि व्यवस्थापन गर्ने आश्वासन दिएपछि उनीहरु पछि हटेका थिए।
ओली समूहका सुदूरपश्चिम संयोजक लेखराज भट्टकै सिफारिसमा तत्कालीन माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका भट्टले उनको साथ छोडिसकेका छन। अहिले उनी भीम रावलसँगै रहेको बताइन्छ।
प्रचण्ड–नेपाल समूहका अधिकांश प्रदेशसभा सदस्य अन्योलमा
नेकपा विभाजनपछि केही बाहेक सुदूरपश्चिमका अधिकांश प्रदेशसभा सदस्य मौन बसेका छन। भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा, प्रदेशसभा सदस्य रतन थापा, नेपालु चौधरी, लिलाधर भट्ट र महेशदत्त जोशी स्पष्ट रुपमा ओली समूहमा देखिएका छन।
आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा कता लाग्छन् अहिले सम्म प्रस्ट भइसकेको छैन। तर बोहरा पनि ओली खेमामै रहेको दाबी गरिन्छ।
यी बाहेकका सबै प्रदेशसभा सदस्य आफूसँगै रहेको जिकिर प्रचण्ड–नेपाल समूहको छ। तर अधिकांश प्रदेशसभा सदस्यले आफ्ना खेमा स्पष्ट भइनसकेको प्रतिक्रिया दिएका छन।
खेमा प्रस्ट नभएको बताउने मध्येका एकजना प्रदेशसभा सदस्यले दिनेशखबरसँग भने, ‘राजनीतिक घटनाक्रम के–कसरी अगाडि बढ्छ। त्यो हेर्न बाँकी छ। अधिकांश साथीहरुले सोही आधारमा निर्णय लिने तयारी गरेको देखिन्छ।’