सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ माघ , आइतवार ०२:०८
Jan 17 2021, Sunday
02:08:26 PM

माओत्सेतुङको जन्मोत्सव र नेपाली कम्युनिस्ट

२०७७ पुष ११ ०४:२४
अ+

समिर जोशी

आज डिसेम्बर २६ तारिख। आजको दिन विश्व क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको लागि एक ऐतिहासिक दिन हो । किनकि आजकै दिन अर्थात् सन् १८९३ डिसेम्बर २६ तारिखका दिन विश्व सर्वहारावर्गका महान नेता तथा चिनियाँ कम्युनिष्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओत्सेतुङको जन्म भएको थियो ।

आज चीनलगायत विश्वभरका क्रान्तिकारी कम्युनिष्टहरुले कमरेड माओको १२७ औं जन्मजयन्ती बडो धुमधामका साथ मनाउन गइरहेका छन् त कसैले सामान्य अनौपचारिक तरिकाले श्रद्धाञ्जली अर्पण गर्दै स्मरण गर्दै आएका छन्  । विश्वभरि फैलिएको कोभिड १९ का कारण माओ जयन्ती मनाउने कार्यक्रमलाई प्रभाव पारेको पनि देखिन्छ । यद्यपी क.माओका योगदानहरुको रक्षा गर्ने प्रण गर्दै तथा माओद्वारा प्रतिपादित माओवादलाई संसार बदल्ने वैचारिक हतियारको रुपमा आत्मसात गर्ने कतिबद्धता जाहेर गरिरहेका छन् । मूलतः नेपालमा दुईधारका कम्युनिस्ट पार्टीहरु छन् मास्कवादी लेनिनवादी र मालेमावादी माक्सवादी लेलिनवादीहरुले माओवादलाई आत्मसात नगरे पनि क्रान्तिकारी कम्युनिष्टहरुले भने आज क. माओको १२७ औं जन्मजयन्ती बडो धुमधामका साथ बनाउने तयारी गरिरहेका छन् ।

अतः कमरेड माओत्सेतुङको जन्म सन् १८९३ डिसेम्बर २६ तारिखको दिन चीनको हुनान प्रान्तको स्याङतान जिल्लाको पहाडि गाउँ साओ साङचुङमा एक मध्यम वर्गीय किसान परिवारमा भएको थियो ।

“बैरीको सन्यशक्तिलाई एक एक गरी ध्वस्त पार्न श्रेष्ठ सैन्यशक्ति केन्द्रित गर, क्रान्तिकारी युद्ध जनसमुदायको युद्ध हो, जनतालाई संगठित गरेर उनीहरुमाथि भर परेर मात्र यसलाई चलाउन सकिन्छ । साँच्चिकै फलामे किल्ला के हो ? त्यो जनसमुदाय हो, ती लाखौं जनता हुन्, जो वफादारीपूर्वक र इमान्दारीपूर्वक क्रान्तिको समर्थन गर्दछन् । यो त्यही वास्तविक किल्ला हो, जसलाई कुनै पनि शक्तिले भत्काउन असम्भव छ, विल्कुलै असम्भव छ । प्रतिक्रान्तिले हामीलाई नष्ट पार्न सक्तैन, बरु हामीले नै त्यसलाई, सखाप पारिदिने छौं । क्रान्तिकारी सरकारको वरिपरि लाखौंलाख जनतालाई एकत्र गर्दै हाम्रो क्रान्तिकारी युद्धलाई फिजाउँदै हामीहरु सबै प्रतिक्रान्तिलाई सखाप पारिदिने छौं र पूरा चीनमाथि कब्जा जमाउने छौं ।”  –माओत्सेतुङ

कमरेड माओ विश्वसर्वहारा वर्गका नेता तथा चिनियाँ कम्युनिष्ट पार्टीको अध्यक्ष एवं सामन्ती तथा अर्थ औैपनिवेशिक मुलुकमा गरिने नयाँ जनवादी क्रान्ति अर्थात् नयाँ खाले पुँजीवादी जनवादी क्रान्तिका सिद्धान्तकार, रणनीतिज्ञ, योजनाकार एवं प्रयोगकर्ता समेत हुनुहुन्छ ।
दीर्घकालीन जनयुद्ध, छापामार युद्ध (गोरिल्ला वार), ग्रामीण इलाकाहरुमा आधार इलाकाहरुको निर्माण, गाउँदेखि शहर घेरेर केन्द्रीय राज्यसत्ता कब्जा गर्ने रणनीतिक योजनाकार र प्रयोगकर्ताको रुपमा क. माओलाई लिइन्छ ।

कमरेड माओले चिनियाँ समाजभित्र चलेको भीषण दुई लाइन संघर्ष र विचारधारात्मक अन्र्तसंघर्षको सफल नेतृत्व मात्रै गर्नु भएन, ती समस्या र फरक विचारहरुलाई विधिवत र पद्धतिपूर्ण तरिकाले हल गर्दै नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण गरेर त्यसको नेतृत्व समेत गर्नुभयो । कमरेड माओको नेतृत्वमा सन् १९४९ अक्टुबर १ का दिन महान चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भएको घोषणा पनि स्वयम् क.माओद्वारा नै गरियो । र त्यसपछि चीन एउटा नयाँ युगमा प्रवेश गर्यो ।

उन्नाइसौ शताब्दिको पूर्वाद्धमा अर्थात सन् १८४८ को फ्रेबुरीमा दुनियाँलाई बुझ्ने र त्यसलाई बदल्ने दर्शनका रुपमा माक्र्सवादको जन्म भएपछि यसले संसारभरि एउटा नयाँ तरंग पैदा गर्यो । औद्योगिक मजदुरहरु मात्र होइन, उत्पीडनमा पर्दै आएको मानव जातिको ठूलो हिस्सामा समेत यसले अभूतपूर्ण जागरण ल्यायो ।

महान माक्र्सले आफ्ना घनिष्ठ सहयोद्धा फ्रेडरिक एंगेल्सको सहयोगमा यही जागरणलाई समेट्दै सर्वहाराक्रान्तिको विज्ञानलाई व्यावहारिक रुपमा प्रयोग गर्न खोज्नु भयो । यद्यपि माक्र्स एंगेल्स स्वयं प्रत्यक्ष रुपमा संलग्न नभएको भएपनि माक्र्सवादकै गर्भबाट जन्मेको पहिलो सर्वहारासत्ता पेरिस कम्युन अढाई महिना नपुग्दै असफलतामा टुंगियो ।

पेरिस कम्युनको असफलताको कारण खोजी गर्ने क्रममा महान माक्र्सले सर्वहारा वर्गको अधिनायकत्वकोअनिवार्य आवश्यकतालाई औंल्याउदै माक्र्सवादको थप विकास र संरक्षण गर्ने क्रममा महत्वपूर्ण योगदान थप्नु भयो ।

माक्र्सवादको जन्मसँगै जन्मेको संशोधनवादले पेरिस कम्युनको असफलतापछि झर्ने ठाउँको उठान थाल्यो । विशेषगरि माक्र्स र एंगेल्सको निधनपश्चात बर्नस्टिन र काउत्स्की जस्ता संशोधनवादी गद्दारहरुले माक्र्सवादको अपव्याख्या गर्दै यसको सारतत्वमाथि आक्रमण शुरु गरेर सर्वहारा क्रान्तिको दर्शन माक्र्सवादको आत्मालाई मार्ने प्रयत्न गरे । यस प्रकारको उनीहरुको षड्यन्त्र र कुकर्म लामो समयसम्म चल्न सकेन । माक्र्स र एंगेल्सको मृत्यु भएको केही वर्ष पछाडि अर्थात् २० औं शताब्दीको पहिलो दशकमा नै लेनिनले भीषण वैचारिक संघर्षमार्फत् सर्वहारावर्गको क्रान्तिकारी झण्डालाई दह्रोसँग पकड्नु भयो । लेनिनले संशोधनवाद मात्र होइन । तमामखाले माक्र्सवाद विरोधी शक्तिहरुमाथि विचारको धारिलो तरवार प्रहार गर्दै माक्र्सवादको रक्षा र विकास गर्नुभयो ।

साम्राज्यवादलाई पुँजीवादको मरणासन्न अवस्थाको चित्रण गर्दै लेनिनले साम्राज्यवादको नयाँ परिभाषासमेत गर्नुभयो र लेनिनले भन्नुभयो “आजको युग साम्राज्यवाद र विश्वसर्वहारा वर्गबीचको भीषण वर्गसंघर्षको युग हो ।”

दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीनवटै क्षेत्रमा मौलिक विकास गरेर लेनिनले माक्र्सवादलाई माक्र्सवाद लेनिनवादको दोस्रो र नयाँ चरणमा पुर्याउनु भयो ।

लेनिनको देहान्तपछि उहाँका सुयोग्य उत्तराधिकारी स्टालिनले माक्र्सवाद–लेनिनवादको रक्षा गर्नुभयो । तर स्टालिनको निधन भएपछि पुनः सर्वहारा शिविरमाथि संशोधनवादी प्रहार हुन थाल्यो । महान अक्टुबर क्रान्तिद्वारा आर्जन गरिएको सर्वहारासत्ता प्रतिक्रान्तिको साधन बन्न पुग्यो । ख्रुश्चोवी आधुनिक संशोधनवादले गोमन सर्पले फोहोरा दिंदै सोभियतसत्तामाथि भीषण आक्रमण गरेर प्रतिक्रान्तिको बिजारोपन मात्रै गरेन पुँजीवादको पुनःस्थापना समेत गरायो । यसले विश्व सर्वहारावर्ग र सोभियत सर्वहारा अधिनायकत्वमाथि भीषण हमला छेड्यो । यसको असर विश्वभरका सर्वहारावर्गमाथि पर्न पुग्यो ।

स्टालिनको मृत्युपश्चात् सर्वहाराक्रान्तिको नेतृत्व गर्ने अभिभारा कमरेड माओत्सेतुङको काँधमा आयो । क. माओले चीनको विशिष्ट परिस्थितिमा माक्र्सवाद–लेनिनवादको मौलिक प्रयोग गर्दै क्रान्ति र समाजवादको नयाँ मोडेल निर्माण गरी सर्वहाराक्रान्तिको विज्ञान माक्र्सवाद–लेनिनवादलाई तेस्रो र नयाँ चरणमा विकास गरेर माक्र्सवाद–लेनिनवादलाई माओवादको उच्चतम उचाइमा उठाउनु भयो ।

“माक्र्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । २१ औं शताब्दीको माक्सवाद भनेकै माओवाद हो भन्दा फरक नपर्ला सामन्ती–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरुका क्रान्तिका समस्याहरुको समाधान गर्नुपर्ने, सन् १९५३ मा स्तालिनको मृत्युपश्चात् रुस एवम् पूर्वी युरोपका कैयौं देशहरुमा पुँजीवादको पुनःस्थापनाका कारणहरुको खोज गरी त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरुको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरुद्धको लडाईं लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद–लेनिनवाद–माओवादको तेस्रो, नयाँ र गुणात्मक उचाइमा पुर्याउने काम भएको हो । माओवादको सार भनेको सर्वहारा साँस्कृतिक क्रान्ति र निरन्तर क्रान्तिको सिद्धान्त हो ।

यसरी आज अन्तर्राष्ट्रिय सर्वहारावर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिङ्गो अभेद्य इकाइको रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद रहेको छ । माओवादलाई आजको विश्वको माक्र्सवाद–लेनिवादका रुपमा ग्रहण नगरीकन कोही पनि सच्चा कम्युनिष्ट बन्न सक्दैनन् ।”

दर्शनको क्षेत्रमा द्वन्द्वात्मक भौतिकवादको सारतत्वको रुपमा एवं प्रकृति, समाज र मानवीय ज्ञानका सबैक्षेत्रमा द्वन्द्ववादका आधारभूत नियमका रुपमा अन्र्तविरोधको नियमको उद्घाटन माओद्वारा भएको हो । अन्तर्विरोधको नियमको सार्वभौमिकता र प्रधान अन्तर्विरोधको निक्र्योलको पद्धति र महत्वको विश्लेषणले द्वन्द्ववादको समझदारीको विकासलाई क्रान्तिका रणनीति र कार्यनीति निर्धारणमा अन्तर्विरोधको आधारभूत नियमले खेल्ने महत्वपूर्ण भूमिका स्वतः स्पष्ट छ ।

द्वन्द्वात्मक भौतिकवादका तीन नियमलाई उहाँले एउटै नियम अन्तरविरोधमा सूत्रीकरण गर्नुभयो । अथवा यसो भन्न सकिन्छ– मात्राबाट गुणमा रुपान्तरण र निषेधको निषेधलाई दुई विपरीतहरुको सङ्घर्ष र एकतामा सूत्रीकरण गरी त्यसलाई अन्तरविरोधको नियम बताउनुभयो । मात्राबाट गुणमा रुपान्तरण अन्तरविरोधको प्रकृयाबाट हुन्छ । निषेधको निषेध हुँदै हुँदैन, बरु पुरानोको नकार र त्यसको ठाउँमा नयाँको सकार हुन्छ भनी उहाँले ठोकुवा गर्नुभएको छ । पुरानोको नकार र नयाँको सकार पनि अन्तरविरोधकै प्रकृयामा हुन्छ । पुरानो र नयाँ स्वयं विपरित हुन् ।

ज्ञान सिद्धान्तको क्षेत्रमा क. माओले वर्गसंघर्ष, उत्पादनका निम्ति संघर्ष एवं वैज्ञानिक प्रयोगलाई ज्ञानको श्रोत बनाएर इन्द्रीय ग्राह्य ज्ञानबाट बुद्धिसंगत ज्ञानमा पुग्ने प्रक्रियाका सम्बन्धमा तथा सिद्धान्त र व्यवहारको आपसी सम्बन्धका बारेमा क. माओले गर्नुभएको विश्लेषणले माक्र्सवादी दर्शनमा महत्वपूर्ण योगदान पुगेको छ ।

संशोधनवादका विरुद्ध संघर्षका क्रममा द्वन्द्ववादको प्रधान पक्षका रुपमा एक दुईमा विभाजित हुन्छ भन्ने सम्बन्धमा क. माओद्वारा गरिएको विषद व्याख्या र प्रयोगले संशोधनवादसँग लड्नका लागि क्रान्तिकारीहरुको हातमा एउटा धारिलो हतियार प्राप्त भएको छ ।

दर्शनलाई पुस्तकालय, दार्शनिकहरुको अध्ययन र कोठे चिन्तनबाट निकालेर आमजनतासम्म पुर्याएर एउटा अजय शक्तिका रुपमा प्रयोग गर्नुपर्ने आवश्यकताका बारेमा माओले गर्नुभएको अनुसन्धानले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई उन्नत रुपले भौतिक शक्तिमा परिणत गर्ने आधार बनेको छ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा नोकरशाही पुँजीवादको चरित्रको विश्लेषण क. माओको एउटा महत्वपूर्ण खोजी हो । नोकरशाही पुँजीवादलाई ध्वंश गरी उनिहरुको सम्पत्ति कब्जा गरेर मात्र उत्पीडित राष्ट्रहरुबाट साम्राज्यवादलाई लखेट्न तथा समाजवादका लागि जगहाल्न सम्भव हुन्छ भन्ने निष्कर्षको महत्व स्पष्ट । समाजवादीकालको अर्थनीतिका आधारभूत सिद्धान्तको जग मजबुद बसाउने काममा क. माओले महत्वपूर्ण भूमिका रहेको छ ।

वैज्ञानिक समाजवादको क्षेत्रमा उत्पीडित राष्ट्रहरुमा नयाँ जनवादी क्रान्तिको समग्र अवधारणाको विकासमा क. माओको ऐतिहासिक योगदान रहेको छ । साम्राज्यवादी युगको वर्गसंघर्र्षको अनुभवका आधारमा माक्र्सवादी सैन्यविज्ञानको उच्चशिखर जनयुद्धको सिद्धान्तको विकासले अन्तरर्राष्ट्रिय सर्वहारावर्गलाई एउटा शक्तिशाली हतियारले लैस गर्ने काम गरेको छ । यस सिद्धान्तअनुसार शक्तिशाली दुश्मनलाई परास्त गर्न वैज्ञानिक विधि स्पष्ट भएको छ । ‘राजनैतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ ।’ भन्ने माओको केन्द्रीकृत भनाइको महत्व पनि स्वयम् स्पष्ट छ ।

समाजवादी कालभरि वर्गसंघर्ष जारी रहने क.माओद्वारा विकास गरिएको सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत जारी राख्ने सिद्धान्त समाजवादी अवस्थामा पुँजीवादको पुनस्र्थापना रोक्ने एउटा मजबुत सैद्धान्तिक हतियार भएको छ ।

साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादी वर्ग कागजी बाघ हुन् तथा आउँदा ५० देखि १०० वर्ष विश्व अजङ्गको हेरफेरबाट गुज्रनेछ, भन्ने भनाइहरुको असाधारण महत्व रहेको छ । यसले विश्व सर्वहारावर्गलाई क्रान्तिको रणनीति निर्धारणमा महान् योगदान पुर्याएको छ । रुसी संसोधनाद र अमेरिकी साम्राज्यवादका विरुद्धको सङ्घर्षमा माओ आफैंले तिनीहरुको प्रयोग गर्नुभएको छ ।

यसरी दर्शन, राजनीतिक अर्थशास्त्र एवम् वैज्ञानिक समाजवादका तीनवटै क्षेत्रमा क. माओले माक्र्सवादी विज्ञानलाई गुणात्मक रुपले त्यसको नयाँ चरणमा विकास गराउनु भएको छ । त्यस अवस्थामा सर्वहारावर्गले आफ्नो मुक्तिको दर्शनलाई माक्र्सवाद–लेनिनवाद–माओवादको एउटा हतियारको रुपमा प्राप्त गरेको छ । माओले सर्वहारावर्गको मुक्तिको लागि जनताको सेना निर्माण गर्ने अनिवार्य भएको बताउँदै दीर्घकालीन जनयुद्धको सिद्धान्त प्रतिपादन गर्नुभयो । उहाँले चीनमा समाजवाद निर्माणको नयाँ बाटो खोजी गर्नुभयो र महान् सर्वहारा साँस्कृतिक क्रान्तिमार्फत् निरन्तर क्रान्तिको सिद्धान्त आविष्कार गरि विश्वसर्वहारा क्रान्तिलाई संशोधनवाद विरुद्ध लड्न वैचारिक हतियार प्रदान गर्नुभयो ।

अतः घटनाक्रमहरुले शान्दार ढंगले के पुष्टि गर्दै आएको छ भनै वर्तमान विश्वमा साम्राज्यवादले खडा गरेको चुनौतीहरुको सामना गर्न सक्ने सामथ्र्ये माओवादले मात्र राख्दछ । त्यसैले माओवाद संसारभरिका दुश्मनहरुका लागि एउटा आतंकको विषय बनेको छ ।

क्रान्ति व्यवहारबाट पनि यो स्पष्ट भएको छ कि संसार बदल्ने वैचारिक हतियार माओवाद हो र यसले मात्र दुनियाँलाई बदल्न सक्छ । त्यसैले संसारभरका सबै रुपरंगका संशोधनवादीहरु नयाँ नयाँ पदावली प्रयोग गर्दै माओवादको सारतत्वमाथि भीषण आक्रमण गरिरहेका छन् ।

यो निश्चित कुरा हो कि सर्वहाराक्रान्तिको विज्ञान एउटा गतिशील विज्ञान हो । यो पुरोहितहरुको एउटा धार्मिक ग्रन्थ होइन । तर सधैंभरि संशोधनवादको सुरुवात ‘बदलिदो परिस्थिति र सिर्जनात्मक प्रयोग’कै नामबाट हुने गरेको तथ्यलाई क्रान्तिकारीहरुले कहिल्यै पनि विर्सन हुँदैन ।

संक्रमणकालमा क्रान्तिको रक्षा गर्नु नै विचारको रक्षा भनेको माओवादको रक्षा हुन जान्छ । यदि हामीले विचार अर्थात् माओवादको रक्षा र विकास गर्न सक्यौ भने बीसौं शताब्दीका महान उथलपुथललाई दोहोर्याउन सक्ने छौं र संसार पुनः एकपटक सर्वहाराक्रान्तिको सुन्दर गर्जनले गुञ्जायमान हुनेछ ।

एकाइसौं शताब्दीको सर्वहाराक्रान्तिको विज्ञान माओवादको रक्षा र विकास गर्न सक्यौं भने “आगामी ५० देखि १०० वर्षहरु महान उथलपुथलका वर्षहरु हुनेछन्” भन्ने माओको भविष्यवाणी सही सावित हुनेछ । यस महान् उथलपुथलद्वारा फेरी संसार हराभरा हुनेछ र साम्राज्यवादी चिहानमा संसारभरका शोषित, उत्पीडित जनसमुदायले एकैसाथ मुक्तिको गीत गुनगुनाउन पाउने छन् ।

नेपाल आजसम्म पनि अर्थसामन्ती नवऔपनिवेशिक अवस्थामा छ । वैज्ञानिक समाजवाद हुदै साम्यवादसम्म पुग्नका लागि पहिलो चरणमा सम्पन्न गरिने महान नेपाली नयाँ जनवादी क्रान्ति बाँकी नै छ । आज नेपाली नयाँ जनवादी क्रान्ति बाँकी नै छ । आज नेपाली नयाँ जनवादी क्रान्तिका सामु दक्षिणपन्थी नवसंशोधनवाद प्रमुख खतराको रुपमा खडा हुन पुगेको छ । यसले नाना प्रकार र रुपरंगका भ्रमहरु सिर्जना गरिरहेको छ । यसलाई परास्त नगरी महान नेपाली नयाँ जनवादी क्रान्ति असम्भव छ । दक्षिणपन्थी नवसंशोधनवादद्वारा नेपाली नयाँ जनवादी क्रान्तिमाथि भीषण हमला भइरहेको वर्तमान परिस्थितिमा नेपालका क्रान्तिकारी कम्युनिष्टहरुले माओवादको वैचारिक हतियारलाई दह्रोसँग पकडेर आत्मसात गर्ने मात्र होइन, मलाई व्यवहारमा क्रियान्वयन गर्नु नै क्रान्तिकारी कम्युनिष्टहरुको अनिवार्य कर्तव्य बन्न पुगेको छ र एक्काइसौं शताब्दीको माक्सवाद भनेकै माओवाद हो भन्नेमा एकमत हुन जरुरी छ । यसैमा नै कमरेड माओको १२८ औं जन्मजयन्ती मनाउनुको सार्थकता हुनेछ ।

सन्दर्भ सामग्री:  विभिन्न प्रकाशित पुस्तकहरु, माओको जीवनी, दर्शन दिग्दर्शन, मोहन वैद्य किरणको हिमाली दर्शन, विप्लवको एकीकृत जनक्रान्ति, गोपाल किराँतीको वैज्ञानिक समाजवाद, विकिपीडिया आदि।

Skip Ad