लिपुलेकको कुरा उठेपछि भारतीय पत्रिकाले मेरो अन्तरवार्ता हटायो
यादव जोशी
सुदूरपश्चिमका आमचासोको विषय, राष्ट्रिय गौरवका आयोजना, वर्गीय मुद्दा, सार्वजनिक प्रशासन, सेवा वितरण, न्यायीक हक र केन्द्रीय राज्य सत्ताले दलनमा पारेका आवाजहरुलाई जिल्ला युनिटको सहयोगमा संग्रहित र संगठित गर्दै केन्द्रीय थलोबाट राज्यले सुन्ने गरी शंखघोष गर्न बोलन्या थली (फ्रीडम अफ स्पीचको उदय भएको कुरा मैले भनि राख्नु पर्दैन। हामीले गरेका कर्म, लिइएको बाटो र चलाएको अभियानले प्रष्ट पार्ने हो।
बोलन्या थलीको संस्थापक संयोजक हुँदै गर्दा विभिन्न बाधा, राजनीतिक रंग, वैधानिकीकरणका नाममा कृत्रिम अवरोधहरुलाई छिचोल्दै यहाँसम्म पुग्नमा नौ वटै जिल्लाका अभियन्ता साथीहरूको साथ, सहयोग र समर्थन, मोफसलमा पत्रकारिता गर्ने पत्रकार साथीहरूको पूर्ण सहयोग, राजनीतिक दलकर्मीहरुको समर्थन, प्रशासनको सहयोग र अधिकारकर्मीहरुको प्रत्यक्ष संलग्नताले नै हो भनेर हामीले प्रष्ट बुझेका छौ।
पश्चिम सेती जलविद्युत आयोजना हाम्रो मुख्य मुद्दा भएपनि सामाजिक जागरणका मुद्दाहरुमा सामथ्र्य र स्रोतले भ्याएनुसारको भूमिका निर्वाह गर्न आइरहेका छौ। एमसीसी विरुद्धमा कीरा आन्दोलन, बयलगाडा आन्दोलन कोभिड महामारीबीच आश्रय अड्डा, दैलोमा दवाइ, घरफर्क अभियान, दानापानीलगायत स–साना कर्महरुले सकेको गर्दै र नसकेको सहयोगको अपिल गर्दै बोलन्या थलीले आफ्नो उपस्थिति देखाउदै आएको थियो।
७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत निर्माणका लागि बोलन्या थलीले चलाएको कचौरा आन्दोलन, सांसदहरुको साझा (सार, संगीत) संघर्ष, टुकी आन्दोलन, वृक्षारोपण अभियान, सेटमा नियमित बहस सङ्गै ढुङ्गाडमा ७५० डोका आन्दोलन र त्यसको प्रारुपमा प्रधानमन्त्रीलाई एक लाख पत्र दिने भन्दै प्रदेशका ८८ वटै स्थानीय तहहरुमा जनप्रतिनिधि र जनताहरुबाट पत्र संकलनको लागि दार्चुला पुगेका थियौ । अभियान चलिरहेकै बेला १२ डिसेम्बरको दिन खलंगा दार्चुलामा डडेलधुरा युनिट संयोजक दीपक भट्टका साथ पत्र संकलनको कार्य भईरहेको थियो। जसको सहजीकरण उद्योग वाणिज्य संघ दार्चुलाले गरिरहेको थियो।
त्यसैदिन भारतको पत्रिका दैनिक जागरणका उत्तराखण्डका पत्रकार प्रमोद भट्टले मलाई निकै खोजिरहेको र अन्तरवार्तासहित स्टोरी बनाउने पाएको थिए। त्यसपछि उहाँ र मेरो कुरा हुन्छ, पश्चिम सेती अभियान र आयोजनाबारे। लगानीको मोडेल बारे। वित्त ब्यबस्थापन। भारतीय कम्पनीको चासो। चिनिया थ्री गर्जेजको भूमिका र आयोजनाले पार्ने प्रभावलगायत विषयमा टेलीफोनमा आधा घण्टा र ह्वाटस् एपमा फोटो शेयरिङ्ग इत्यादि!
उहाँका प्रश्नहरु जायज र पत्रकारिता क्षेत्रको दायित्व बोध पूर्ण नै थिए। उल्लेखित बिषयहरुमा मैले बेली विस्तार सबै कुरा भन्दै गए र प्रधानमन्त्रीलाई दिइने एक लाख पत्र अभियानबारे पनि । पछि उहाँलाई पत्रको नमूना र लेखाइको अर्थ बुझाउन जहाँ मैले सुनाएको थिए, पश्चिम सेती सँगै लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूगोलबाट पत्र प्रेषित हुदैछ। जुन पत्रमा पनि लेखिएको छ। यद्यपि यो विषय त दिल्ली-काठमाडौको कुरा सरोकार भएको भन्नुभो। पछि दुईदिनमा निकाल्ने भनेको स्टोरी हटाइएको जानकारी पाए।
आफैले हटाए वा सम्पादकले हटाउन लागाए । कुरो त बुझेको छैन तर लिपुलेको नामले भारतीय पत्रकारहरु धर्म नै भुल्दा रहेछन्। लिपुलेक, लिम्पीयाधुरा र कालापानीको भुगोलबाट । (यादव जोशी बोलन्या थलीका संयोजक हुन्।)