न्याउल्या, डेउडा र देउडा गीतबीचको अन्तरसम्बन्ध
यज्ञराज उपाध्याय
१.विषय प्रवेश
कालीको लड्कन्या माछो कर्णालीका भेल
हृदय जल्याको जल्यै कैल होला सेल
माथि उल्लेखित गीत काली–कर्णालीको सामाजिक, धार्मिक र साँस्कृतिक सम्बन्ध नङ र मासुझै अन्योत्यास्रित छ भन्ने कुराको दृष्टान्त हो । महाकाली नदीको उद्गमस्थल नेपाली भूमिको लिपुलेक हो । यही लिपुलेकबाट अविरल रूपमा बगिरहेको महाकाली नदीको नामबाट नै महाकाली अञ्चलको नामाकरण हुन गएको हो । मित्र राष्ट्र भारतसँगको पश्चिमी भौगोलिक सिमाना छुट्टयाउने काम महाकाली नदीले नै गरेको छ । महाकाली अञ्चलमा चार वटा जिल्ला रहेका छन् । दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर । नेपाली लोक बाजा कर्नाल झै बाङगो गरेर घुम्दै बगेको हुनाले कर्णाली नदीको नामाकरण त्यही लोक बाजा कर्नालबाट कर्नाली हुन गएको किंवदन्ती छ । जो अहिले पनि हाम्रा बुढापाकाहरूबाट सुन्न सकिन्छ । भौगोलिक सिमानाको आधारमा नेपाललाई चौध अञ्चलमा बिभाजन गर्ने क्रममा यही कर्णाली नदीको नामबाट कर्णाली अञ्चलको नामाकरण हुनगएको हो । कर्णाली अञ्चल अन्तर्गत हुम्ला, जुम्ला, कालिकोट, मुगु र डोल्पा गरी पाँचवटा जिल्ला रहेका छन् । महाकाली र कर्णाली अञ्चलको बीचमा सेती अञ्चल पर्दछ । सेती अञ्चलमा अछाम, बझाङ्ग, बाजुरा, डोटी र कैलाली गरी ५ वटा जिल्ला रहेका छन् । प्रशासनिक र राजनीतिक सुव्यवस्थाका लागि मुलुकलाई विविध भागमा छुट््याउने क्रममा हालको डोटी जिल्लाको नामकरण गरिएको भएता पनि प्राचीन स्वतन्त्र र शक्तिशाली डोटी राज्यले सिङ्गो कत्यूरी सम्भयताको समग्र क्षेत्रलाई बुझाउने गर्दथ्यो । जसमा १६ सय गाउँ पर्ने हुनाले ‘सोल सयै डोटी’ भन्ने पनि गरिन्थ्यो । अहिले पनि यहाँको भाषा र संस्कृतिलाई डोटेली भाषा र डोटेली संस्कृति भनेर सम्बोधन गरिने गरिन्छ । यही महाकाली अञ्चलदेखि सेती हुदै कर्णाली अञ्चलसम्मको भू–भागलाई हामी काली–कर्णाली क्षेत्र भनेर बुझ्ने गर्दछौं । भौगोलिक रूपमा विकट र आर्थिक रूपमा विपन्न भएता पनि साँस्कृतिक वैभवताका रूपमा अग्रस्थानमा रहेको छ यो क्षेत्र । नेपाली भाषाको उदगम स्थल पनि यही क्षेत्र हो ।
२.न्याउल्या गीतको चिनारी
सुन्दर प्रकृति, विविधमूर्त तथा अमूर्त संस्कृतिको भण्डारको रूपमा रहेको काली–कर्णाली क्षेत्रका अमूर्त संस्कृति मध्ये न्याउल्या काली–कर्णाली जनजीवनको सर्वप्रिय पेवा गीत तथा खेल हो । न्याउल्या गाउँदा न्याउल्या गीतको रूपमा र पैतोल (स्टेप) मिलाएर गोलाकार रूपमा खेल्दा न्याउल्या खेलको रूपमा चिनिन्छ । न्याउल्या खेल खेल्दा डेढ स्टेप चालेर डेउदी पार्दै खेलिने भएकोले यसलाई डेउडा पनि भन्ने गरिएको छ । न्याउल्या खेल नखेल्ने हो भने काली–कर्णाली क्षेत्रमा मनाइने चाडपर्व, मेला, महोत्सवहरू, अधुरा र अपुरा नै मानिन्छन् । आ–आफ्ना विधागत बिशेषता बोकेका चाड पर्वहरूमा सम्बन्धित संस्कृतिको प्रस्तुति अगाडि र पछाडी मनोरञ्जनको रूपमा न्याउल्या गीतहरू गाउदै न्याउल्या खेल खेलिन्छ । न्याउल्या खेल नखेल्दासम्म काली–कर्णालीबासीहरूको मन दरिलो र भरिलो हुनै सक्दैन । त्यसैले न्याउल्या गीत र न्याउल्या खेलको काली–कर्णाली जनजीवन सँग अन्योन्याश्रित सम्बन्ध रहेको छ । कर्णाली प्रदेशदेखि सुदूरपश्चिम हुँदै छिमेकी राष्ट्र भारतको उत्तराखण्ड कुमाउ र गढवालसम्म न्याउल्याले आफ्नो दरिलो प्रभाव विगतदेखि वर्तमानसम्म जमाउदै आएको छ ।
३.न्याउल्या गीतको उत्पत्ति
हामीले मनाउदै आएका प्रत्येक संस्कार र संस्कृतिहरु प्राकृत छन् । हाम्रो प्राकृत समाजमा प्रकृतिजन्य वातावरण, वनस्पति, चराचुरुङ्गी र तिनीहरुबाट उत्पन्न स्वर, नाद, झंकार र भावद्वारा प्रभावित वा अनुप्राणित भई गीत सङ्गीतको जन्म भएको मान्यताहरु विश्वभरी रहँदै आएका छन् । ईशा पूर्व दोश्रो शताब्दीका विद्वान महर्षि मण्डुकले सङ्गीतका सात स्वरहरुको उत्पति पशुपंछिको आवाज अनुकरणबाट भएको मान्यता अघि सारेका थिए भने चाल्र्स डार्विन र आइन्सटाइनको मान्यता पनि त्यही अनुकरण चरित्रमा आधारित थियो । नेपालको सन्दर्भमा नेपालीलोक सङ्गीत अन्तर्गतको लोकप्रिय झ््याउरेको उत्पति झ््याउकिरीको स्वरबाट भए जस्तै कर्णाली प्रदेश र सुदूरपश्चिमाञ्चलमा लोकप्रिय गीत न्याउल्याको उत्पति न्याउली चरीको सुमधुर र विरहयुक्त स्वरबाट भएको हो भन्ने लोक मान्यता रहि आएको छ । यो मान्यतालाई महर्षि मण्डुक, चाल्र्स डार्विन र आइन्सटाइनको मान्यताले थप बल पु¥याएको मान्न सकिन्छ । न्याउली चरीको स्वरलाई विरहको प्रतिकका रुपमा लिने गरिन्छ । “न्याउली चरीका दीर्घ मधुर ध्वनिले खोला, नाला, वनपर्वत प्रतिध्वनित हुन्छन् । यस न्याउली चरीबाट निस्केको सुमधुर विरहयुक्त र प्राकृतिक न्याउली शैलीको अनुकरण मानव जातीले गरेका हुनाले यस ललित लोक सङ्गीतको नाम न्याउल्या गीत रहन गएको” कुरा इतिहासकार तथा अन्वेषक योगी नरहरिनाथले इतिहास प्रकाशभाग तीनको ‘अवतरणिका’ शीर्षक अन्तर्गत पेज ५०३ मा उल्लेख गर्नु भएको छ । नाटककार श्री पहलमान सिंह स्वारले सय वर्ष अघि पद्यमा लेख्नु भएको अछामका चाडपर्व पुस्तकमा “डेउडी पारी खेलिने खेललाई न्याउल्या” भनेर उल्लेख गर्नु भएको छ । संस्कृतिविद् रामबहादुर रावलले “अभिनन्दन स्मारीका २०५९” को नेपाली सभ्यता र संस्कृतिको मूल–खस सभ्यता शीर्षकको लेखमा “खसानको पेवा न्याउल्या” भनेर उल्लेख गर्दै न्याउली चरीकै स्वरबाट न्याउल्याको उत्पति भएको कुरा अगि सार्नु भएको छ ।
४.न्याउल्या, डेउडा र देउडाको अन्तर सम्बन्ध
न्याउल्याकाली–कर्णाली क्षेत्रमा विशेष महत्वका साथ दोहोरीका रुपमा खेलिने चाल प्रधान खेल हो । न्याउली चरीको विरहयुक्त स्वरबाट प्रस्फुटित भएको मानिने न्याउल्या गाउदा कतिपय लयमा डेढीको प्रमुखता हुने र खेल्दा डेढ स्टेपमा खुट्टा चालेर, डेउढी पारेर कोल घुमेझै गरी गोलाकार रुपमा खेलिने भएकोले यसलाई डेउडा भनिएको हो । त्यसैले न्याउल्या र डेउडा एउटा सिक्काको दुई पाटाका रुपमा रहेकाले यिनीहरुको सम्बन्ध नजिकको छ । डेउडा शब्द बढी प्रचलनमा ल्याउने भूमिका जनकवि केसरी धर्मराज थापाको रहेको पाइन्छ । २०१५ सालमा काली–कर्णाली क्षेत्रको भ्रमण गरेर काठमाडौं आइसके पछि वहाँले नै डेढीको प्रमुखतालाई मध्यनजर गरी डेउडा भनेर रेडियो नेपालबाट प्रशारण गरेपछि यो शब्दले झाँगीने अवसर पाएको हो । त्यसपछि डेउडा र देउडाको अर्थप्रति ध्यानै नदिइ न्याउल्या गीतहरुलाई मनमानी ढंगले कसैले देउदा र कसैले डेउडा भन्न थाले । न्याउल्या ओझेलमा पर्दै गयो ।
“देउडा” डेउडा र न्याउल्या भन्दा फरक विषय बस्तुको विधा हो । देउडा “देवता” शब्दबाट आएको र “देवता” देवडा हुँदै देउडा हुन गएको भन्ने भनाई पाइन्छ । देउडा शब्द ब्युत्पतिको दृष्टिबाट हेर्दा दे = देव, उ = उपासना, डा = डाक्ने अर्थात देव देवताको उपासना गर्न डाक्ने वाआह्वान गर्ने भन्ने बुझिन्छ र देउडा हुनगएको देखिन्छ । अर्को रुपमा हेर्दा देउ+डाक्नेको संघिवाट देउडा शब्द बनेको छ । जसको अर्थ हुन्छ देउतालाई उडेर वा दौडेर आउनु होस् भन्ने । प्रा.डा. ऋषिराम पोखरेलका अनुसार देउडा शब्दको वनोट “देवा एवं उड्डीय आयान्तु” ब्युत्पतिबाट देवताहरु यसरी उड्दै आउन भन्ने अर्थ मानेर तीनै लोकवाशी देवतालाई क्रमशः ३ कदम अगाडी, ३ कदम पछाडी ३ कदम दायाँ र ३ कदम बाँया सर्दै भूमिमा टेक्दै उफ्राई बढी गर्दै स्वर, ताल, लयका साथ विशिष्ट चाडपर्व, उत्सव समारोहमा गीत र नृत्य सँगसँगै प्रदर्शन गरिने हुनाले ‘देउडा’ शब्द बनेको देखिन्छ । अर्को ब्युत्पतिअनुसार ‘देववत् उड्डडीय नृत्यते’ अर्थात देवताहरु झै उड्दै (उफ्रिदै) स्वर, ताल र लय मिलेका गीतका आधारमा नाचिने हुनाले देवडीबाट कालान्तरमा भाषिक सरलताका दृष्टिले ‘देउडी’ र देउडा हुनगएको बुझिन्छ । देउतालाई डाक्ने वा रक्षा गर्न बोलाउने अर्थमा देउडा शब्द बनेको अर्थात देउता डाक्ने नाचलाई ‘देउडा’ भनिएको कुरा युक्ति संगत देखिन्छ भनेर प्रा.डा.ऋषिराम पोखरेलले अछामका चाडपर्व पुष्तकमा आफ्नो राय दिनु भएको छ ।
यसरी हेर्दा देउडा भन्नाले निश्चित पक्ष र तिथीमा मनाइने विशेष पर्वमा देव देवताको उपासना गर्दै, देव देवताका भक्ति गाथा, चरित्र गाथा गाएर संझिने आमन्त्रित गर्ने भन्ने बुझिन्छ । काली–कर्णाली क्षेत्रमा होरीमा राम, कृष्ण, शिव, पाण्डव, देवकी, नन्दनका क्रिडा चरित्र गाथाभक्ति पूर्वक एवं मनोरञ्जनात्मक रुपमा गाउँदै खेलिने गरिन्छ । यिनीहरुलाई होरीका देउडा भन्ने गरिन्छ ।
शिवनाचे सदा शिव बम भोला२
ए शिव मकुटमा गंगा विराजे
लटुरी लटुरीकी लोला
शिव नाच्ने सदाशिव बम झोला
५.न्याउल्या गीतको संरक्षना र गायन पद्धति
मानव जीवनका अन्तरनिहित भोगाई एवं प्रकृति वर्णनको विषय वस्तु बनाएर लोक कलाकारको अन्तस्करणबाट स्वतःस्फूर्त रुपमा निस्किने चौध अक्षरले युक्तलोक रचनालाई न्याउल्या गीत भनिन्छ । न्याउल्या गीतमा दुई पंति रहेका हुन्छन् । प्रत्येक पंतिमा चौध चौध अक्षर हुन्छन् । दुबै पंतिको अन्त्यमा तुक मिलेको हुन्छ । प्राय गरेर न्याउल्या गीतमा पहिलो पंतिले खासै अर्थ बोकेको हुँदैन । अभिव्यक्त गर्न खोजेको गीतको अर्थ दोश्रो पंतिबाट झल्केको हुन्छ ।
दुई वारीकी दुई पारीका दूइ जनी दर्नाकी
इच्छा थियो करम नाई रानीवन चर्नाकी
पिपल तोला नौ दोकान गैराला पाटन
दिहल्साई ओठको हाँसो सौरणी काटन
मुलतः यसको प्रतिपाद्य विषय प्रेम र श्रृंगार हो । संयोग श्रृंगार भन्दा वियोग श्रृंगार बढि मार्मिक हुन्छ । वियोगावस्थाको गहन पिडा, बाडुली, संझना आदिले प्रमुखता पाएको हुन्छ । संयोगावस्थाको अनुरागपूर्ण सुखदअनुभूति, माधुर्य, उल्लास, उमंग र प्रेम पनित्यत्तिकै रुपमा प्रस्फुटित भएको हुन्छ न्याउल्या गीतमा । मुख्य गरेर लोक जीवनका सुख दुःख, संयोग, वियोग, राग, विराग, माया, प्रेम, हर्ष, विषाद, हाँसो, रोदन, आस्था, अनास्था, नीति, भक्ति आदि र प्रकृति वर्णन न्याउल्या गीतका विषय वस्तु बन्दछन् । ग्रामिण जीवनका सरल र सौहार्दपूर्ण वातावरण र एकापसी विश्वास र सद्भाव जस्ता लोक परागले न्याउल्या गीत सुवासित भएको हुन्छ । अभाव, कष्ट, पिडा र विसङ्गतिका चोटिला विषय वस्तुहरु पनि न्याउल्या गीतमा व्यक्त भएका हुन्छन् । न्याउल्या गीतमा आफ्नो प्रेमी प्रेमिकालाई साइ, सुवा, बाज, बाजकली, मुगामाल, मुरली चडो, जुनकिडी, जस्ता शब्दहरुबाट सम्बोधन गरिने गरिन्छ ।
चौबन्दी ढाँकाको चोलो छिट्का फरियाकी
बाज्कली घर काँहो तम्रो बैश भरियाकी
यी कैका परेवा हुन्ना पानी खाँदा कुवा
मलाई क्यानबन्दिबनाई रानीवनका सुवा
न्याउल्या गीतहरुलाई विभिन्न लय र भाकामा गाउन सकिन्छ । बसेर लामो श्वर तानेर ठाडी भाकाका विभिन्न लयहरुमा गाउँदा यी गीतहरु ठाडी भाकाका अन्तरा बन्दछन् । ग्वाला गोठालो बनेर वा घाँसपातका लागि एकान्त वनमा गएर गाइने भएकाले यी गीतलाई वन गीत पनि भनिन्छ । न्याउल्या गीत गाउँदा डेढीको प्रमुखता रहने र नाच्दा (खेल्दा) डेढ स्टप चालिने भएकोले डेउडा पनि भन्ने गरिएको छ । न्याउल्या गीतमा अस्लिलताको प्रयोग भएको पाइन्छ । अस्लिलताको प्रयोग गरी दुइटा समूहले गाएर आनन्द प्राप्त गर्ने भएकाले यसलाई भगन्याउल्या पनि भनिन्छ । न्याउल्याले गीतको रुपमा जनिचर्चा कमाएको छ त्यो भन्दा कयौं गुणा बढी न्याउल्या खेलको नामले प्रसिद्धि कमाएको छ ।
६.न्याउल्या गीतको खेल विधि विधान
पुरुष–महिला, पुरुष–पुरुष, महिला–महिलाका बिच दोहोरो सवाल र जवाफका साथ डेढ स्टेप अगाडि र पछाडि खुट्टा चालेर दोहोरो पैतोल (खुट्टाको चाल) मिलाउदै विभिन्न लय र भाकामा समान स्वर लहरी सँगै न्याउल्या गीतको गायन सहित दुई समूहले गोलाकार रुपमा खेलिने खेललाई न्याउल्या खेल भनिन्छ । न्याउल्या खेल खेल्दा एकले अर्कोको पाखुराभित्र हात घसाई दरिलो तरिकाले समाएर गोलाकार रुपमा अगाडि बढ्दै डेउढी पारेर एक पाइला अगाडि बढाई आधा पाइला पछाडि सार्दै खेलिने भएकोले डेढ स्टेपमा खुट्टा चालिने हुँदा डेउडा खेलको नामले पनि चर्चित भएको छ न्याउल्या खेल । न्याउल्या खेल खेल्दा डेढ स्टेपमा चालिने खुट्टाको चाललाई पैतोल भनिन्छ । खेल खेल्दा सबैको पैतोल (स्टेप) मिलेको हुनु पर्दछ । खेलमा एक जनाले मात्रै पैतोल मिलाउन सकेन भने उसभन्दा पछाडिको सबैको पैतोल बिग्रिने हुन्छ ।
न्याउल्या खेल शुरु गर्दा सर्बप्रथम खेलको सफलताको कामना गर्दै पृथ्वीमाता अर्थात जन्मभूमिलाई पुकार्दै आराधना गरी आशिष लिइन्छ । अनि भलाकुसारी सहित कुनै विषयमा प्रवेश गरी सवाल जवाफ गरिन्छ ।
ओ न्याउल्या स्याँलाकी सिटिक्या लौरी मलेवाकी भाँटी
ओ न्याउल्या गडा भया साइका बाउली दाइनी भयइ माटी
ओ न्याउल्या अछामका गोदाम्याकी फुलौट््याउ कालो
ओ न्याउल्या लालाबाला निकाइ छन्की गाथ छकि सुकालो
न्याउल्या खेल खेल्ने दुबै समूहमा एक–एक जना गीत भन्ने प्रमुख व्यक्ति हुन्छन् । गीत भन्ने पुरुषलाई “गीतउड््या” र महिलालाई “गीताउडी” भनिन्छ । यिनीहरुको स्थान चलचित्रका नायक नायिकाको झै हुन्छ । न्याउल्या खेलमा सोधिएको प्रश्न सहितको गीतको उत्तर तत्काल दिन असमर्थ भएपछि उसले खेल छोडेर बाहिरिने प्रचलन छ । जसलाई “हरुवा”को उपमा दिइन्छ । जित्ने केटालाई “जिताउड््या” र केटीलाई “जिताउडी” भनिन्छ । काली–कर्णाली क्षेत्रमा केटा केटीलाई “छोर््याट्टा”, “छोर््याट्टी”अर्थात छोट्टा छोट्टी भन्ने गरिन्छ । एकातिर छोर््याट्टा र अर्कातिर छोर््याट्टी भएको न्याउल्या खेललाई रोमाञ्चित र पूर्ण खेल मानिन्छ । छोर््याट्टी नभएको छोर््याट्टाहरुले मात्र खेलेको खेललाई “राँडो” खेल भनिन्छ । यस्तो खेलमा केटाहरुले गीतमार्फत नै केटीहरुलाई सहभागिताका लागि आग्रह गर्दछन् ।
बल्ल गयो बाटै बाटा बड गयो गोर््याट्टी
राँडै खेल अस्स्वाइलो भयो आइजावो छोर््याट्टी
गीत भन्ने गीताउड््या र गीताउडीले आफ्नो पालो आएको केही मिनेट हैन सेकेन्ड मै गीतफर्काउनु पर्दछ अर्थात प्रतिउत्तर दिनु पर्दछ । नभएगीतभनिरहेको गीताउड््या गीताउडीले नै हस्तक्षेपकारी भूमिकानिर्वाह गर्दछन् । त्यसैले गीताउड््या र गीतउडीमा तत्कालअर्कोपक्षबाट आएको गीतको अर्थ बुझ्न सक्ने र सवालजवाफ गर्न सक्ने चातुर्य शक्तिनिहितभएको हुनुपर्दछ । प्राय गरेर लोग्ने मान्छेले गीतभन्दा खेल खेलीरहेको घेरा भन्दा एक कदम अगाडी दाहिने खुट्टा सारेर दाहिने हातमाथिगर्दै अनि चोर औला ठड््याएर फूर्तिलो तरिकाले भन्ने गर्दछन् । गर्नै नसक्ने गारो कामको र उत्तर दिन अप्ठयारो हुने गरी विषय बस्तुबनाई सोधिने गीतलाई “झिट्टो” हाल्ने भनिन्छ । गीत रच्न सक्षम गीताउड््या र गीताउड््यीले झिट्टोको उत्तर दिनतुरुन्तै स्वीकार्छन ।
केटी – सक्न्याभ्यामर्दका छोरा तोला सुन् लर्काईदे
गीतभनुकीझिट्टो हालु साई छिटो फर्काईदे
केटा – खेत रोप्न पायाँन मैले तमसुकबनाई फर्जी
गीत भन्दिछै झिट्टो हाल्छै बाज त्यरो मर्जी
केटी – अछामका बेल्खेतमाकिर्मिलाको जन्त
तँ छैत बाबुको छोरो सर्ग तारा गन्त
केटा – पर्बाली सैनका गाड चैत उम्य्रो सिस्नु
सर्गतारा गन्न जान्छु तँलगाई दे लिस्नु
केटीले सोधेको गीतमाआकासकातारा गन्नअसम्भब कुरा हो । केटाले त्यसको चातुर्यपूर्ण तरिकाले उत्तर दिएको छ । साँच्चिकै यिनीहरु आशुकवि नै हुन् । न्याउल्या खेलमा केटा केटीका विच प्रेम प्रसंगले नै बढि स्थानओगटेको पाइन्छ ।
केटा – अछाम छोर््याट्टी राम्रीभउतै गहनाले
रात निननाई दिनभोकनाई साइकालहनाले
केटी – आँखाउदाआयाकाआँशु रुमालपुत्थो छु
जोवन लैजा मुकीहोइजा म पन सुत्तो छु
केटा – भैसी आमा सोगटकी गोठालो नारीको
लामु हो पिरमका डोरी म खोलापारीको
केटी – अषाढ धानखोप्न भनीआमा गै भकाल्या
मायामान्याचल्ल्या साइकीक्या छियो छकाल्या
पहिले न्याउल्यागीतमा घाँस, दाउरा, मेलापात, गाई, भैंसी, भेडा, बाख्रा चराउनजाँदाका कुराहरू, वर्षात्मा खोलानाला बढेर भेट्न जाननसकेका कुराहरू बढीरुपमा आउने गर्दथे । अहिले विज्ञान प्रविधिको विकासले ती कुराहरू विस्तापितभएका छन् र गीतमा इमेल, इन्टरनेट, फेसबुक, च्याट, मोबाइलआदिका कुराहरू बढि मात्रामाआउने गरेका छन् ।
कामजतिभाउजूकाभाग बसि खान्यानन्द
इन्टरनेट चल्लैन छकि अन्लाइन सधै बन्द
गफ गर्न पाइदैन च्याटमा मूटु दुख्छ हल्का
पगार फुल्याकाफूलकिन लाउन्छै झल्का
फोन गर्छु नेटवर्क बिजि केइ खबर पाइन
साई होइजाकास्मिरी कोट मेराआङ लाइन
न्याउल्या खेल खेल्ने केटा केटीलाई खेलाउड््या र खेलाउडी भनिन्छ । खेल खेल्दै गर्दा जब मनै छुने कुनै गीतको उत्तर आउछ अर्थात बढी भन्दा बढी कुनै गीतले रोमाञ्चित बनाउछ तब केटा समूहले घुडा खुम्च्याउदै निहुरेर जोरले भुईमा खुट्टाबजार्दै एक कदम बढेर जुरुक्क उठ्ने गर्दछन् । यो क्षेण साँच्चिकै आनन्ददायी हुन्छ खेल खेल्नेहरुकालागि ।
७. न्याउल्या खेल प्रस्तुतिको अवसर
न्याउल्या खेल मुख्य गरेर विवाह, ब्रतबन्ध, न्वारन, छैटी, रतेउली जस्ता मांगलिक कार्य र वर्षभरी मनाइने होरी, शिवरात्री, विशु, दशै, अनन्तपूर्णिमा, कृष्णजन्माष्टमी, माघे सक्रान्तिलगायतका सबै चाड पर्वहरुमा प्रस्तुत गर्ने अथवा खेल्ने गरिन्छ । यसका अलावा वनभोज जाँदा, खुशियालीका अवसरमा कुनै कार्यक्रम मनाइँदा, कुनै विशेष जमघट, सभा समारोह आदिमा पनि न्याउल्या खेल खेलिन्छ । न्याउल्या खेलको प्रस्तुति विना जुनसुकै चाड पर्व र मांलिक कार्यहरु अधुरो र अपुरो नै भएको महसुस हुन्छ काली–कर्णालीहरुलाई । पहिले पहिले त न्याउल्या खेल खेल्न चाडपर्व र मांगलिक कार्य नै चाहिन्छ भन्ने थिएन । कामकाजबाट फर्केपछि बेलुकी पख गाउँको पटकानी (साँस्कृतिकपर्व मनाउने सार्वजनिक ठाउँ) मा जम्मा भएर न्याउल्या खेल खेल्ने प्रचलन थियो । दिउँसो भरी काम गर्दाको थकाई मेट्ने चौतारीका रुपमा न्याउल्या सबैका लागि मनोरञ्जनपूर्ण खेल बन्ने गर्दथ्यो । अहिले प्रविधिको विकासले काली–कर्णाली क्षेत्रमा पनि मनोरञ्जनका साधनहरुले दरो रुपमा उपस्थिति जनाई सकेका हुनाले चाडपर्व, मांगलिक कार्य र सभा समारोह भन्दाबाहेकको समयमा खेलिने न्याउल्या खेल विस्थापित हुँदै गएका छन् ।
८. न्याउल्या खेलमा समय सिमा
न्याउल्या खेलको लागि कुनै निश्चित समय र सिमा हुँदैन । यो खेल बिहान बेलकी दिउँसो राती जुनसुकै समयमा पनि खेल्न सकिन्छ । कम्तीमा एक दुई घण्टादेखि बढीमा पुरै दिन र रातभरी खेलिन्छ । न्याउल्या खेल जति खेल्दा पनि थाकेको महसुस हुँदैन । गीतभित्रको लालित्यमय लोक साहित्यले मन मष्तिस्क र शरीरलाई दरिलो भरिलो बनाउदै उर्जा थपिरहेको हुन्छ । भोक तिर्खा केही लाग्दैन । पहिले पहिले त एक दिनमात्र हैन तीन दिन चार दिनसम्म लगातार खेलिने गरिन्थ्यो काली–कर्णाली क्षेत्रमा न्याउल्या खेल । त्यतिबेलाका काली–कर्णाली क्षेत्रका गिताउड््या गिताउडी मध्ये प्रख्यात गीताउड््या थिए अछाम तिमिल्सैनका देवानन्द तिमिल्सिना र गीताउडी थिइन अछाम वैद्यनाथकी नामसरी । भनिन्छ यिनीहरुको न्याउल्या खेल खेलाउन सारै राम्रो जोडी थियो । यिनीहरुको जीवन न्याउल्या खेलेरै वित्यो । यिनीहरु न्याउल्या खेल्न जुनगाँउमा जान्थे त्यो गाँउमा न्याउल्या तीन चार दिनसम्म खेलिन्थ्यो रे । यिनका अलावा डोटीका चल्ल्या साई लगायत अन्य धेरैले गीताउड््या र गीताउडीका रुपमा काली–कर्णाली क्षेत्रमा नाम कमाएका थिए ।
९.न्याउल्या खेलमा सहभागिता
महिला–महिला र पुरुष पुरुषहरुले मात्र खेलेको न्याउल्या खेलमा जातीय र वर्गिय भेदभाव रहेको हुँदैन । पारिवारिक बन्धनमा पनि बाँधिनु पर्दैन । पदीय हैसियत र मर्यादाको पनि वास्ता हुँदैन । जुनसुकै उमेर, पद र जातजातीका महिला पुरुष हातेमालो गर्दै यो खेलमा सहभागी हुन सक्छन् । तर महिला पुरुषको सामुहिक खेलमा केही विभेदकारी सिमा रेखाहरु कोरिएका छन् । यसलाई मध्यकालबाट प्रादुर्भाव भएको सामन्तवादी संस्कृतिका रुपमा लिन सकिन्छ । बाहुन, क्षेत्रीका पुरुषहरुले दलित समुदायका महिलासँग खेल्ने तर दलित समुदायका पुरुषहरुले बाहुन क्षेत्रीका महिलासँग खेल्न नपाउने सामन्ति संस्कार अहिले पनि रहेको छ । पारिवारीक नाता सम्बन्धले पनि महिला पुरुषलाई न्याउल्या खेल्न सिमा रेखामा बाधिदिएको छ । विवाहित महिला भन्दा पनि अविवाहित केटीहरु यो खेल खेल्न खुला हुन्छन् । न्याउल्या रमाइलो र मनेरञ्जनका लागि खेलिने खेल भएको हुनाले यस्ता विभेदकारी नीतिको अन्त्यहुनु आजको आवश्यकता भएको छ ।
न्याउल्या खेलमा खेल्ने भन्दा धेरै गुणा बढी हेर्नेहरुको सहभागिता रहेको हुन्छ । न्याउल्या खेल हेरेर रमाइलो मान्नेहरुलाई काली–कर्णाली क्षेत्रमा रम्चेरु भनिन्छ । खेल्ने भन्दा रम्चेरुहरु कम आनन्दित हुँदैन । खेलको घेरा भित्र र बाहिर रम्चेरुहरु गोलबद्ध र लामबद्ध भएर बसेका हुन्छन् । न्याउल्या खेलमा प्रस्तुत हुने महिला पुरुषका सवाल र जवाफी गीतहरुमा रमाउदै एकाग्र भएर उत्साहित हुँदै सुनिरहेका हुन्छन् ।
१०. सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आगामी दिनमा अवलम्बन गर्नु पर्ने केही नीतिगत विषयहरु
देशको प्रादेशिक विकासमा सन्तुलन कायम गर्न बि.सं. २०३७ सालमा नेपाल अधिराज्यलाई पाँच विकास क्षेत्रमा विभाजन गरिएको थियो । देशको राजधानी काठमाडौलाई भौगोलिक केन्द्रबिन्दु मानी राजधानी काठमाडौंबाट निकै टाढा रहेको महाकाली र सेती अञ्चलको समग्र भू–भागलाई सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको संज्ञा दिइएको थियो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात २०७२ भदौं ३० गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादबबाट घोषणा गरी जारी भएको संविधानमा राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड अन्तर्गत यो क्षेत्र ७ नं. प्रदेशको रूपमा रहन गयो । प्रदेश सरकारको निर्माण पश्चात प्रदेश सभाबाट बहुमतद्वारा पारित गरी प्रदेश नं. ७ को नाम सुदूरपश्चिम प्रदेश घोषणा गरियो । यस प्रदेशले मुलुकको १३ प्रतिशत क्षेत्रफल ओगटेको छ । यस प्रदेशमा तराई, पहाड र हिमाल सबै किसिमको भौगोलिक क्षेत्र समाहित भएको छ ।
भौगोलिक रूपमा विकट र आर्थिक रूपमा बिपन्न भएता पनि साँस्कृतिक वैभवका रूपमा नेपालकै अग्रस्थानमा रहेको छ सुदूरपश्चिम । यस प्रदेशमा बाहुन, क्षेत्री, थारू, मगर, नेवार, मुसलमान, सार्की, कामी, दमाई, ठकुरी, सुनार, ब्यासी, सौका, वादी, राउटे, थकाली, कुम्हालआदिको बसोबास रहेको छ । यहाँका अमूर्त लोक संस्कृतिमा डेउडा, देउडा, न्याउल्या फाग, सगुन, माँगल, अठवाली, चैत, धमारी, पुतला, होली, डुड्केली, भारत, चाँचरी, झोडा, सगुनभोलाउलो, भाटगीत, आरती, ढुस्को, भैली, भोस्सो, बाह्रमासा, बात, आशी र्गीत, माणा, झुनमुन्या, छोला, घटुसिम, गरखाल, मासकविन, किर्जेमेला, चाँचर, सजना, सखिया,होरी, बाह्रमासा, मलार, वसन्त, माघी, रास, झिझिया, निर्गुन, बराती, झुमर आदि रहेका छन् । यिनीहरुको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनका लागि सामाजिक विकास मन्त्रालयले आगामी दिनमा देहाय अनुसारका नीतिगत विषयहरु अवलम्बन गर्नु पर्ने देखिन्छ ।
१) विश्व व्यापीकरण, आधुनिकीकरण, पश्चिमा संस्कृतिको प्रभाव र अन्य समस्याबाट हाम्रो संस्कृति र गीत सङ्गीतलाई जोगाउन दृश्य, स्लाइड, डिजिटल प्रविधिको विकासका साथै लोक बाजा संग्रहालयको स्थापन, पुस्तकालयको स्थापना, थिएटरको निर्माण, बेला बेलामा विभिन्न ठाउँमा विधागत सम्मेलन, प्रशिक्षण, प्रतियोगिता, उत्सव महोत्सव आदिको आयोजना र सञ्चालन गर्न सामाजिक विकास मन्त्रालयद्वारा सुदूरपश्चिम प्रादेशिक प्रज्ञा प्रतिष्ठानको स्थापना गरिनु पर्दछ ।
२) लोपोन्मुख अवस्थाका लोक नृत्य, लोक गीत, लोक बाजा, लोक नाटकको खोजी, संरक्षण र विस्तारका लागि योगदानदिने व्यक्ति, समूह र संस्थाको बेलैमा पहिचान गरी आवश्यक सहयोग र कदरको व्यवस्था गरिनु पर्दछ ।
३) विभिन्न विधाका प्रतिभाशाली कलाकारहरुलाई आर्थिक समस्याबाट जोगाई विधागत विषयमा दक्ष र क्रियासील बनाउन आवश्यक कार्यक्रम ल्याइनु पर्दछ ।
४) कोठे लोक डेउडा गीतलाई प्रोत्साहन दिने, पैसाको आडमा कलाको प्रयोग गलत ठाउँमा गर्ने, गीत–सङ्गीतमा विकृति मिसाउने परिपाटीलाई रोक्न निश्चित नीतियुक्त प्रणालीको व्यवस्था गर्नु पर्दछ ।
५) सेतीकालीसित, हिमाल र पहाडलाई तराई सित जोड्न सांस्कृतिक उत्सव र महोत्सव जस्ता संस्कृति आदान–प्रदानकार्यक्रम निरन्तर सञ्चालन गरिनु पर्दछ ।
६) हरेक जिल्ला विकास समिति, नगरपालिका र गाउँपालिकामा कला संस्कृति हेर्ने फाँटको स्थापना गर्न र सम्बन्धित निकायको कम्तीमा पाँच प्रतिशत बजेट कला संस्कृतिको लागि छुट््याउनु पर्ने व्यवस्थाको लागि आवश्यक पहल गर्नु पर्दछ ।
७) गीत–सङ्गीत, कला र संस्कृति सँग सम्बन्धित विधाका संघ–संस्था र कलाकारहरुलाई प्रादेशीक प्रज्ञा प्रतिष्ठानसँग आवद्ध गर्ने र कलाकारहरुले गरेको योगदान र कलाक्षेत्रमा आवद्ध भएको समयको मुल्याङ्कन गरी वरिष्ठताको क्रमनिर्धारण गर्ने व्यवस्था गरिनु पर्दछ ।
८) विधागत रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गरी सुदूरपश्चिमेली गीत–सङ्गीत, कला संस्कृतिको पहिचान र विस्तारका लागि संस्कृति आदान–प्रदान कार्यक्रमको लागि आवश्यक व्यवस्था गरिनु पर्दछ ।
९) गीत–सङ्गीतका विधागत विषयमा पुरस्कारको स्थापना गरी कला साधकहरुको योगदानको कदर स्वरुपती पुरस्कारहरु प्रदान गर्ने व्यवस्था गरिनु पर्दछ ।
११. न्याउल्या गीतको संरक्षण आजको आवश्यकता
यूरोपबाट हत्या हिंसा मच्चाउदै एसियाप्रवेश गरेका हुणहरूको बोलवाला समाप्त भएपछि कत्यूरी र खस साम्राज्यको उदयसँगै नेपालीभाषाले राज्यभाषाको मान्यताप्राप्त गरे पछि त्यससँगै न्याउल्या संस्कृतिले पनि मौलाउने अवसर प्राप्त गरेको पाइन्छ । खसराजाहरूले राजकीय भाषाको रूपमा मान्यता प्रदान गरेकाले नेपाली भाषा तत्कालीन अवस्थामा खस भाषाका नामले चिनिने गरिन्थ्यो । उत्तरको छिमेकी राष्ट्र चीनको खार क्षेत्र र दक्षिणी छिमेकी राष्ट्र भारतको कुमाउ, गढवाल र अल्मोडासम्म फैलिएको खस साम्राज्यमा न्याउल्या संस्कृतिले तत्कालिन अवस्थामा समान रूपमा आफ्नो आधिपत्य जमाएको पाइन्छ । त्यसैले न्याउल्यालाई खसान क्षेत्रको पेवा पनि भन्ने गरिएको छ । डोटीका चल्लेसाईदेखि अछामका देवानन्द जस्ता अनेकौ गीताउडेहरूको सम्पूर्ण जीवन न्याउल्या गीत भनेर गिताउडेको रूपमा न्याउल्या खेल खेलेर विताएको पाइन्छ । विगतको केही समय पहिले न्याउल्या खेल घण्टौसम्म मात्र हैन दिनौ दिनसम्म अविछिन्न रूपमा खेलिने गरिन्थ्यो रे । उजुरी गर्दा, इन्साफ दिदा, मायाप्रिति गाँस्दा, विवाह गर्दा, न्याय माग गर्दा, बादविवाद गर्दा, कुनै कुराको जनाउ दिदा आदी धेरै विषयहरूमा न्याउल्या गीतबाट नै यस्ता भन्न खोजेको कुरा अभिव्यक्त गर्ने गरिन्थ्यो रे । हिजोको जस्तो न्याउल्या गीतको समृद्ध अवस्था आज रहेको छैन । आजको अवस्था भोली रहला भन्ने आस पनि मर्दै गएको छ । त्यसैले हाम्रो अमूर्त साँस्कृतिक धरोहर न्याउल्या गीतको समयमै संरक्षण हुनु आजको प्रमुख आवश्यकता देखिएको छ ।
हाम्रो भाषासँगै मौलाएको न्याउल्या गीत भाषा, साहित्य, इतिहाँस, पुरातत्व, समाज र मानवशास्त्रको अध्ययनका निम्ति पनि त्यत्तिकै महत्वपूर्ण छ । सुदूरपश्चिमदेखि कर्णाली प्रदेशसम्म ज्यादै वैभवशाली रूपमा रहेका न्याउल्या गीतहरू दिनहु दिनलोप हुँदो अवस्थामा रहेका छन् । नयाँ पुस्ताले अपनाउन लाज मान्ने, पुरानो पुस्ता मर्दै जाने र संकलन तथा संरक्षणपट्टि राज्य, प्रदेश सरकार तथा स्थानीय निकाय र व्यक्तिहरू कसैको पनि ध्यानन पुग्ने जस्ता विविध कारणले नेपाली भाषा र लोक साहित्यमा अतितको धरोहर सावित भएको न्याउल्या गीत हेर्दाहेर्दै लोप हुँदै जाने अवस्था देखा परेको छ । भाषा, संस्कृति र गीत संगीतको संरक्षणमा कसैको पनि यथोचित दृष्टि पुगेको देखिदैन । तसर्थ विगतमा जे जस्तो भएता पनि अव प्रदेश सरकार र स्थानीय निकाएको दृष्टि न्याउल्यालगायतका मूर्त र अमूर्त साँस्कृतिक सम्पदाको संरक्षणमा जान आवश्यक भएको छ । आज हुन नसकेका विकास निर्माणका काम भोली पनि गर्न सक्छौं । तर न्याउल्या जस्ता अमुर्त लोक संस्कृतिहरू व्यवहारमा खारिने र श्रुति परम्परामा हुर्किदै विकसित हुने भएकाले समयमै संकलन र संरक्षण हुननसके यी विधाहरू सम्बन्धि जाने बुझेका व्यक्तिहरूको मृत्युसँगै यी संस्कृतिको पनि मृत्यु हुने भएकोले भोलीका दिनमा पछुताउनु बाहेक हामी सँग कुनै विकल्प रहँदैन ।
कुनै पनिभाषा, साहित्य, संस्कृति गीत संगीतको संरक्षण तथा विकासका लागि सम्बन्धित प्रदेश सरकार, स्थानीय निकाय र व्यक्तिहरूनै जागरूक हुन आवश्यक हुन्छ । बाहिरकाहरूमा रूची र जागरूकता होला परन्तु कर्तव्य बोध र जिम्मेवारी हुन सक्तैन । त्यसैले काली–कर्णाली क्षेत्रको न्याउल्यालगायतका संस्कृतिको संरक्षण र विकासका लागि प्रदेश, सरकार, स्थानीय निकाय र सम्बन्धित व्यक्तिहरूले समयमै तत्परता देखाउनु पर्दछ र आवश्यक वातावरण तयार गर्नु पर्दछ । हिजो बजेट बाँडफाँडको सम्पूर्ण अधिकार सिंहदरवारलाई थियो । हामी भन्ने गर्दथ्यौं – सिंहदरवारको दृष्टि काली–कर्णाली क्षेत्रमा पुग्न सकेन र हामीलाई यथोचित बजेट दिएन । आजत्यो बजेट बाँडफाँडको अधिकार प्रदेश सरकारले प्राप्त गरेको छ । स्थानीय निकाय हिजोको तुलनामा श्रोत सम्पन्न भएका छन् । यो अवस्थामा पनि प्रदेश सरकार र स्थानीय निकायहरूले काली–कर्णाली क्षेत्रको न्याउल्यालगायतका संस्कतिको संरक्षण, सम्पद्र्धन, प्रवद्र्धन र विकासका लागि तदारूकता देखाउन सकेन भने यो भन्दा ठूलो दूर्भाग्य काली–कर्णाली क्षेत्रका जनताका लागि अरू हुने छैन । अव हामीलाई केन्द्रले हेरेन भनेर दुर्वलताका माँगलहरू गाइरहन आवश्यक छैन । हाम्रो पहिचानलाई विश्व समुदाय समक्ष झल्काउने काली–कर्णाली क्षेत्रको माया, सद्भाव र आस्थाको धरोहर न्याउल्यालगायतका मूर्त र अमूर्त संस्कृतिको संरक्षण सम्बद्र्धन, प्रवद्र्धन तथा विकासका लागि संस्कृति क्षेत्रका विज्ञंहरूको सल्लाह, सुझाव, साथ र सहयोग लिएर काली–कर्णाली क्षेत्रका प्रदेश सरकार र सवै स्थानीय निकायहरू हातेमालो गर्दै अगाडि बढ्नु पर्ने आजको प्रमुख आवश्यकता देखिएको छ ।
१२. निस्कर्ष
काली–कर्णाली क्षेत्रका गाउँ बस्तीमा सदियौदेखि संस्कृतिको विराट स्वरूपका रुपमा झांगिएको न्याउल्या (डेउडा) अहिले पनि त्यहाँको समाजमा कर्णप्रिय र सर्वप्रिय अमूर्त लोक संस्कृतिका रुपमा आफ्नो आधिपत्य जमाई रहेको छ । जुम्लाको सिंजा क्षेत्रबाट नेपाली भाषाको उत्पतिसँगै न्याउल्या गीतले पनिआफ्नो स्वरूपलाई फराकिलो पार्ने अवसर पाएकोले नेपाली भाषा र न्याउल्या गीतलाई खस सभ्यताको देन मान्न सकिन्छ । खसान प्रदेशबाट उत्पत्ति भएको नेपाली भाषा पूर्वतिर सर्दै समयको परिवर्तन सँगै परिष्कृत हुँदै आजको राष्ट्रिय नेपालीभाषाको रुपमा उभिन सफल भएको भएता पनि काली–कर्णालीक्षेत्रमा भने ज्यूँकात्यूँ पहिलेकै स्वरुपमा बाची रहेको छ । काली–कर्णालीबासीहरूको जनजिब्रोमा झुण्डिएको त्यही मौलिक भाषासँग कसिलो रुपमा अंकमालगर्दै न्याउल्या गीतले आफ्ना पखेटाहरु फिजाइ रहेको छ । भाषा संस्कृतिको गहिरो रुपमा अध्ययन नै गरी सेती, महाकाली र कर्णाली क्षेत्रका विविध विशेषता बोकेका सबै प्रकारका गीतहरुलाई मात्र देउडा भनेर बुझ्ने गरिएको र अहिले त देउडा भाषाको गीतभनेर केन्द्रिय संचार माध्यमबाट बोल्ने गरेको सुनिन्छ । त्यसैले भाषा र संस्कृतिको गहिरो अध्ययन हुन आवश्यक देखिन्छ ।
सन्दर्भ सामाग्री
१) रावल रामबहादुर (२०५९) नेपाली सभ्यता र संस्कृतिको मूल–खस सभ्यता धनगढी कैलाली – अभिनन्दन स्मारीका
२) शाह सुरत बहादुर (२०६५) अछामका चाडपर्व – श्री वैद्यनाथ क्षेत्र प्रकाशन समिति, अछाम
३) उपाध्याय यज्ञराज (२०५९) हाम्रो लोक संस्कृति – धनगढी कैलाली अभिनन्दन स्मारीका
४) उपाध्याय यज्ञराज (२०६६) अछामको लोक संस्कृतिः सुदूरपश्चिमाञ्चल सरोकार मञ्च नेपाल, काठमाडौं
५) उपाध्याय यज्ञराज (२०६८) वैद्यनाथ क्षेत्रको लोक संस्कृति – वैद्यनाथ क्षेत्र अछाम विद्वानहरुको दृष्टिमा – श्री वैद्यनाथ क्षेत्र प्रकाशन समिति, अछाम
६) योगि नरहरीनाथ (२०१३) अवतरणीका– कर्णाली प्रदेशका न्याउल्या गीत–इतिहास प्रकाश अंक २ भाग ३–इतिहास प्रकाश संघ, मृगस्थली गोरक्ष पीठ
७) स्वार पहलमान सिंह – अछामका चाड पर्व
८) उपाध्याय यज्ञराज (२०७४) अछाम जिल्लामा प्रचलित न्याउल्या गीतभित्रका अमूर्त संस्कृति–मधुपर्क अमूर्त संस्कृति विशेषाङ्क– गोरखापत्र संस्थान, काठमाडौं
(नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिषठानका पूर्व प्राज्ञ परिषद् सदस्य समेत रहनुभएका यज्ञराज उपाध्यायद्वारा लिखित यो आलेखलाई कार्यपत्रको रुपमा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक मन्त्रालयद्वारा आयोजित पुरातत्व तथा संस्कृति सम्बन्धी कार्यशालामा प्रस्तुत गरिएको थियो ।)