सुदूर नेपाललाई विश्वसँग जोड्दै

बन्धक स्वाभिमान

२०७७ मंसिर २०, ०५:५७

-मदन भट्ट 

किन चाहियो चिनुक राफेल ?
एफ सिक्स्टिन अनि ट्यांकहरुको गर्जन ।
किन चाहिए तिम्रा किप्याड,
अनि माउसको नियन्त्रणमा रहेका, 
तिम्रै औंलाहरुद्वारा निर्देशित,
अन्तर्देशीय मिसाइलहरु ।

मलाइ थाहा छ,
तिमी माथि शासन गर्न, 
तिम्रो भूगोल होइन,
तिम्रो स्वाभिमान जिते पुग्छ ।
तिमीलाई तिमीबाट खोस्न,
तिम्रो छातीमा होइन,
तिम्रो मनमा परेड खेले पुग्छ । 

च्यातेर फालिसके, 
अमरसिंह र बलभद्रको ईतिहास ।
अब हरेक पार्टीभित्र,
लेन्डुप दोर्जे भए पुग्छ ।
दूतावासमा हाजिर लगाउने,
नेता किने पुग्छ ।
नेता भए पुग्छ ।।

सिमानाको पिल्लरमा,
अल्झाएर तिमीलाई,
सन्धीका धारा उपधारामा,
तिम्रो बहादुरी कैद गरे पुग्छ ।

सिमानामा खोलिएका, 
मृत्युका कारखानाबाट,
नशाको व्यापार गरे पुग्छ ।
तिमीलाई कज्याउन, 
तिम्रा युवाहरुको नशामा,
नशाकै नशा बाडे पुग्छ ।

बाँंधहरुमा पानी लुटे पुग्छ ।
कोठीहरुमा जवानी चुसे पुग्छ ।
कार्गिलमा रगत सुके पुग्छ ।
जेपी रोडदेखि पाकिस्तान बोर्डरसम्म,
लैनचौरका एम्बुलेन्स कुदे पुग्छ ।

तिम्रो स्वाभिमानको मुल्य कति हो ? 
किन्ने सामथ्र्य छ ।
अनि
किनेको पनि छु ।
केही दलाल किने पुग्छ
बिक्न बेचिन तम्तयार,
सिङ्गै सिंहको दरबार किने पुग्छ । 
 

कमेन्ट लोड गर्नुस