सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंमा अध्ययनरत धनगढीका दुई विद्यार्थीले बाढीपीडितलाई डेढ लाखको खाद्यान्न पठाए

२०८३ भदौ १९, ०४:५८ खबर संवाददाता

धनगढीः काठमाडौंमा अध्ययनरत धनगढीका दुई विद्यार्थीले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित परिवारका लागि १ लाख ५० हजार ३ सय रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका छन् ।

धनगढी उपमहानगरपालिका–५ का विद्यार्थी सक्षम भण्डारी र सशांक भण्डारीले बाढीपीडितका लागि चामल, दाल, तोरीको तेललगायत दैनिक उपभोग्य खाद्यान्न खरिद गरी रसुवा पठाएका हुन् ।

बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै प्रभावित परिवारको दैनिकी कष्टकर बनेपछि आफूहरूले सकेको सहयोग गर्ने निर्णय गरेको सशांक भण्डारीले बताए। 

विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सबैको साझा दायित्व भएकाले आफ्नो क्षमताअनुसार खाद्यान्न सहयोग गरेको उनकाे भनाइ छ ।

आफ्नो सानो सहयोगले भए पनि बाढी प्रभावित परिवारलाई तत्कालको आवश्यकतामा केही राहत मिल्ने विश्वास उनले व्यक्त गरे।

रसुवाको भोटेकोसी बाढीबाट प्रभावित परिवारका लागि विभिन्न व्यक्ति, संघसंस्था र स्थानीय तहबाट राहत तथा पुनःस्थापनाका लागि सहयोग जुट्ने क्रम जारी छ । 

कमेन्ट लोड गर्नुस