सुदूर नेपाललाई विश्वसँग जोड्दै

विर्सिए सबैले चुनावी नारा, छाडा चौपाया छाडाका छाडा

छाडा चौपाया धपाउँदै धनगढीका स्थानीय।
छाडा चौपाया धपाउँदै धनगढीका स्थानीय।
२०७७ मंसिर १९, ०४:३८ विन्दु चन्द

धनगढीः स्थानीय तह निर्वाचनताका सबै राजनीतिक दलको घोषणापत्रमा छाडा पशुचौपाया व्यवस्थापन मुख्य चुनावी नारा थियो । त्यही चुनावी एजेण्डाले भोट मागेकाहरु हाल ५ वर्षे कार्यकालको उत्तरार्धमा छन् । तर समस्या ज्यँुुकात्यूँ छ ।

छाडा चौपायाले सबैभन्दा सास्ती किसानलाई भएको छ । धनगढी उपमहानगरपालिका ३ की भागरती रानाले छाडाचौपायाले अन्नबाली जोगाउनै मुस्किल भएको बताइन् ।

दिनमा खेतमा पसेको देख्दा लखेट्ने गरेको भएपनि रातिको समयमा हुलका हुल गाईगोरु खेतमा पसेर गहुँ तथा तरकारी बाली सखापै पार्ने गरेको दुखेसो सुनाइन् ।

चौपायाधनीले दुध दिन्जेल गाई पाल्ने र दुध दिन छोडेपछि सडकमा छोडिदिने प्रवृतिले समस्या सिर्जना भएको धनगढी उपमहानगरपालिका ३ की अर्की कृषक गगांदेवी पडाल बताउँछिन् ।

उनले भनिन्, ‘रातदिन गाईहरुकै गोठालो बस्नुपर्छ, गौशाला बनाए पनि राख्दैनन्, बर्खामा धान सखाप पार्यो अहिले ठीक गहुं उम्रिएको छ, गहुँ खाईदिन्छन्, तरकारीहरु जम्मै खाइदिन्छन् ।’

छाडा चौपाया व्यवस्थापन गर्ने भन्दै चुनावी एजेण्डा बनाएका जनप्रतिनिधिहरु बेखबर भएको कृषकहरुको गुनासो छ ।

कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रमा मात्रै हजारौं छाडा चौपाया रहेका छन् । तर धनगढीमा कति संख्यामा छाडा चौपाया छन् ? भन्नेबारे यकिन तथ्यांक छैन ।

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशिला मिश्र भट्टले बाहिरबाट आउने चौपायाले धनगढीमा समस्या सिर्जना भएको बताइन् । छाडा चौपायालाई नगरपालिकामै पु¥याएर जाने गरेको हुँदा ती चौपायालाई गौशालामा राखेर व्यवस्थापन गर्दै आएको उनको भनाइ छ ।

छाडाचौपाया व्यवस्थापन धनगढीको मात्रै समस्या होइन । सुदूरपश्चिम प्रदेशमै छाडा चौपाया व्यवस्थापन प्रमुख चुनौती बन्दै गएको छ । छाडाचौपायाले सडक दुर्घटना पनि बढ्दो छ ।

तर प्रदेश सरकारले व्यवस्थापनको लागि हालसम्म कुनै ठोस कदम चाल्न नसकेको हो । 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस