सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा फुट्छ भन्नेलाई भीम रावलको जवाफ, ‘हाँडी हो र ? लट्ठीले पट्ट हान्यो फुटिहाल्ने’

२०७७ मंसिर ७, ०४:४१ खबर संवाददाता

धनगढी : पार्टी नेतृत्वप्रति प्रायः असन्तुष्ट देखिने नेता भीम रावल आइतबार धनगढीमा पनि सोही प्रबृति दोहोर्‍याए । नेकपा पार्टी अध्यक्षद्वयको कार्यशैलीदेखि असन्तुष्ट बनेका उनी पार्टीभित्रको अन्तरविरोधले राष्ट्रिय राजनीतिमा पनि असमञ्जस्यताको स्थिति पैदा गरेको बताउँछन् ।

पछिल्लो समय नेकपा पार्टी फुट्ने/नफुुट्नेवारे टिकाटिप्पणी चलिरहेको बेला उनले कुनै हालतमा नफुट्ने दाबी गर्छन् । उनले भने, ‘यो कुनै माटोको हाँडी होइन, कुनै व्यक्तिले लठ्ठी पट्ट हान्यो फुटिहाल्ने ? यो कुनै कमजोर पार्टी होइन । कुनै पनि पार्टी विभाजन हुनु अगाडि त्यहाँ सैद्धान्तिक सहमति हुनु पर्‍यो । महत्त्वपूर्ण राष्ट्रिय बिषय हुनु पर्योे । विभाजन गर्ने मान्छेहरुले सहमति गरेर हस्ताक्षर गरेको हनुपर्यो ।’

पार्टी विभाजन भए नेकपाका अध्यक्षद्वय ओली र दाहाल दुवैलाई कुनै फाइदा नहुने उनको भनाइ छ ।  

यसैबीच नेता रावलले पार्टी अध्यक्ष ओलीले अबको नेतृत्व युवा पुस्तालाई दिनुपर्छ भनी दिएको भनाइ केवल युवालाई आफ्नो पक्षमा तान्नलाई बोलेको समेत आशय व्यक्त गरे ।

नेकपा पार्टीको सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका नेता रावलले यहाँको प्रदेश सरकार र स्थानीय तहको कार्यशैली पनि सन्तोषजनक नभएको बताउँछन् । 

उनले प्रदेश सरकारको मन्त्रीपरिषद फेरबदल गर्ने भनी पार्टीले गरेको निर्णय कार्यान्वयन नभएको प्रति पनि असन्तुष्टि पोखे ।

उनले भने, ‘३ वर्षको समीक्षा गरेर बाँकी २ वर्ष प्रभावकारी बनाउनको लागि कसरी जाने भन्ने प्र्रश्नको कुरो हो । पार्टीले प्रदेश मन्त्रीपरिषद् फेरबदल गर्ने निर्णय गरिसकेकाले सोही अनुसार अगाडि बढुनुपर्छ भन्ने कुरा हो ।’

कमेन्ट लोड गर्नुस