सुदूर नेपाललाई विश्वसँग जोड्दै

गणतन्त्रमा राजाको पक्षमा नाराबाजीको अन्तर्य

२०७७ मंसिर ६, ०४:०२

करन साउँद

विगतमा राजतन्त्र नेपाली जनताको अहित र सम्पूर्ण शक्ति एकलौटी भयो भन्दै सडकमा जनता ओर्लिए । १० बर्षे जनयुद्ध पनि भयो । २०६२/२०६३ मा जनआन्दोलन भयो । त्यसको मुख्य उदेश्य नै राजतन्त्रको अन्त्य गर्ने र देशमा गणतन्त्र स्थापना गर्ने थियो । आन्दोलनमा २५ जना सहिद भए । हजारौं नागरिक घाइते भए । देशमा संविधान सभाको चुनाव भयो । देशमा राजतन्त्रको अन्त्य भयो र देशमा गणतन्त्र पनि संस्थागत भयो । ३ तहको संरचना आयो ।

गणतन्त्र स्थापना सँगै देशमा थुप्रै नेताहरु देशको मन्त्रीदेखि राष्ट्रपतिसम्म भए । तर जनताका हकहित प्राप्तिका लागि भएको आन्दोलन नेताको हकहितमा मात्रै सीमित भयो ।

१० वर्ष जनयुद्ध तथा जनआन्दोलन जुन उदेश्यका लागि भयो, त्यसको मर्म विपरित नेताहरु आफ्नो स्वार्थमा लागेपछि समस्या सिर्जना भएको हो । नातावाद, कृपावाद र आफ्नो दुनो सोझ्याउँने कार्यमा नेताहरु तल्लीन भए । 

जुनकारण २०६२/२०६३ देखि आजसम्म जनतामा निराशा पैदा भयो । हिजो एक राजाले देशको सम्पत्ति सके भन्ने जनताहरु आज प्रत्येक गाउँ–गाउँ, टोल–टोलमा राजाहरु हुन थाले । राज्यको ढुकुटी जति आफ्नो स्वास्थ्य, मनोरञ्जन र पारिवारिक सुख शान्तिमा अहिलेका राजा भनौदा (छोटेराजा) हरुले राज्यको सम्पत्तिमाथि लुट मचाए । दोहन गरे । 

फलतः असल नागरिकले दलाल भ्रष्ट घुसखोरीका विरुद्ध आज आवाज उठाउन थालेका हुन् । हिजो राजा फाल्नुपर्छ भन्ने नागरिक जसरी सडकमा आए त्यसरी नै आज त्यही नागरिक राजा आउ देश बचाउ भन्दै सडकमा ओर्लिएका हुन् । जसको सम्पूर्ण सम्पूर्ण राजनीतिक दलका जिम्मेवार असफल नेतृत्वले लिनुपर्छ ।

राजा आउने, नआउने त्यो एक वहस अनि नागरिकको चासोको सवाल होला । तर राजा आउनुपर्छ र राजतन्त्र हुनु पर्छ भन्ने कुरामा मानिसहरु बीचमा मतभेद उत्तिकै छ । किन कि, हिजो हामीले त्यही राजाको लागि ज्यान दिनु प¥यो । फेरि त्यही राजा आउनुपर्छ भन्ने कुरा कतिपय व्यक्तिले मुर्खताको संज्ञा पनि देलान्् । तर राजा आउने तथा राजतन्त्र नआउने कुरा जनताले प्राप्त गर्ने हकअधिकार र शासन प्रणालीमा भर पर्ने कुरा हो ।

देशमा राजा नै चाहिने हो, भने पृथ्वीनारायण शाह, महेन्द्र शाह, विरेन्द्र शाह जस्ता राजाको खाँचो थियो । तर त्यो सम्भावना छैन । किन कि, त्यसको पछिल्लो पूर्व राजा ज्ञानेन्द्र शाह एक उदाहरण हुन् । त्यसकारण नेपाली जनताले राजतन्त्रमा विश्वास गर्ने ठाउँ पनि छैन ।

आखिर किन आए त नेपाली जनता सडकमा ? भन्ने विभिन्न तार्किक कुरा पनि छन् । किन कि, जनतामा जुन निराशा पैदा भएको छ, त्यो निराशलाई आशामा परिणत गर्ने ठाउँ आज त्यही सडक भएको छ । 

आज नेपाली जनता हजार राजा पाल्नु भन्दा एउटा राजा पाल्न ठीक भन्दैछन् आज । यसको वास्तविकता नै हरेक ठाउँमा करोडौंको भ्रष्टाचार, पद र सत्ताको दुरुपयोग हुनु हो । जनताप्रतिको गैरजिम्मेवारीपन हो ।

वर्तमान राजनीतिक दलका हरेक पार्टीका नेतृत्वबाट नेपाली जनता निराश छन् । जुनकारण आज राजा आउ, देश बचाउ भन्ने नारा सडकमा देखिनु स्वाभाविक नै लाग्छ ।
 

कमेन्ट लोड गर्नुस