सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा १२ तोला सुन चोरी, २ जना पक्राउ

२०७७ मंसिर ३, ०४:२६ खबर संवाददाता

धनगढीः धनगढीमा १२ तोला सुन चोरी प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का एक स्थानीयको घरबाट कार्तिक २ गते १२ तोला सुन चोरीमा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले चोरीमा संलग्न भएको आशंकामा धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीका २५ वर्षीय हर्क गिरीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनीसँगै मोटरसाइकलमा सवार अर्का युवकलाई पनि पक्राउ गरिएको बताउँदै प्रहरी निरीक्षक थापाले संलग्न भए/नभएको बारेमा अनुसन्धान भइरहेकाले तत्काल नाम खुलाउन नमिल्ने दिनेश खबरलाई बताए । प्रारम्भीक अनुसन्धानबाट गिरी भने चोरीमा संलग्न रहेको खुलेको प्रहरी निरीक्षक थापाले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

यसअघि गत असोजमा पनि धनगढीमा सुन चोरी भएको थियो । धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का चेतराज जोशीको घरको ताल्चा फुटाएर २ लाख नगद सहित ३० तोला सुन चोरी भएपनि संलग्नको अझै पहिचान हुन सकेको छैन् । जिल्ला प्रहरी कार्यालय कैलालीले उक्त घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

अहिले पक्राउ परेका व्यक्तिहरुको समेत सो चोरी प्रकरणमा संलग्नता हुनसक्ने आशंकामा उनीहरुमाथि समेत अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

कमेन्ट लोड गर्नुस