नेकपाको मिलन बिन्दु युवा पुस्तामा नेतृत्व हस्तान्तरण
-संजिव कार्की
नेतृत्व हस्तान्तरण सुन्दा जति मजा लाग्छ कर्णप्रिय सुनिन्छ त्यति नै यसको व्यवहारिक कार्यन्वयन जटिल र दुरुह छ । नेतृत्व दया माया र भिखको रुपमा प्राप्त हुने जिनिस होइन । नेतृत्व दिन जति अप्ठ्यारो छ लिन पनि त्यति नै महाभारत ? राजनीतीको जटिलता नै सहज नेतृत्व हस्तान्तरणको सवाल हो ।
यो सहजै कहिँकतै विरलै हुने घटना र परिघटना भन्दा बाहेक सर्वत्र विश्वव्यापी रुपमा नै यसको असहजता धेरै छ । अल्झन र झमेलाको खेल हो राजनीती । सजिलै हात लाग्दैन सत्ता र शक्ति ।
राजनीतिमा बृद्दतन्त्रले बढावा नपाएको मुलुक भेटन सकिन्न । अपवाद केवल अपवाद हो, अपवाद नियम बन्न सकेको उदाहरण पाइन्न । देसको सत्ता होस् या कुनैपनि राजनीतिक पार्टीको पार्टी सत्ता त्यहाँ वृद्धहरुकै हालीमुहाली चल्छ ।
कांग्रेस नेता प्रदीप गिरीले भने झैँ वृद्धतन्त्रको ताडनाबाट हत्तपत्त उन्मुक्ति नपाउने देश हो नेपाल । वृद्धतन्त्रबाट पार पाउन वृद्ध नेताको मृत्यु या त्यागको आवश्यकता हुन्छ । त्याग एकजना दुई जनाको होइन एउटा ठूलो समुह र हिस्साको जरुरत छ न कि कुनै एक जनाको ? सामुहिक त्याग र नवीन पुस्तालाई नै पार्टीको, देशको नेतृत्व हस्तान्तरण भएको उदाहरण विश्वमा कतै पाइन्न भने हाम्रो जस्तो मुलुकमा त्यस्तो अपेक्षा मुर्खता र कोरा कल्पनाभन्दा बाहेक अरु हुन सक्तैन ।
वृद्ध हुनु आफैमा नराम्रो होइन वयस्क उमेर अनुभवको खानी पनि हो । शरीरले वृद्ध हुनु र विचारले वृद्ध, शारीरिक स्वास्थ्यले कामयावी बन्न नसक्नु फरक कुरा हुन् । कतिपय जुँगा मुठे, मसल्स र आकर्षक थाइका धनी पनि विचार क्रियाशीलता र उर्जाले विपन्न र बुढेसकाल लागेका मान्छे झैँ हुन्छन् यसर्थ उमेर नै सबैथोक होइन जसको उदाहरण भर्खरै अमेरिकामा निर्वाचित ७८ वर्षीय जो बाइडेनलाई लिन सकिन्छ ।
मलेशियाका निबृत महाथिर पनि उर्जाले बुढो थिएनन । यसर्थ उमेरलाई नै बन्देज र निषेध आवश्यक हुदैन । तर अनगिन्ति अवसर पाएर पनि त्यसको सहि सदुपयोग गर्न नसकेका नेपाली राजनीतिका थुप्रै पार्टीका थुप्रै वृद्ध उमेरका नेता र तिनको राजकिय क्षमतामा भने प्रश्न नै प्रश्न उठेको छ । यही प्रसंगमा नेकपा भित्र मिलन बिन्दुको हतियारको रुपमा प्रम ओलीद्वारा मौखिक प्रस्ताव गरिएको नेतृत्व हस्तान्तरण विश्लेषण गर्न योग्य सन्दर्भ हो ।
परन्तु फगत कल्पना र संकट टार्ने उपायको खोजीमा मात्रै सिमित हुने ढाँटको खेतीपाती भन्दा अतिशयोक्ति नहुने वाचा र संकेतको रुपमा प्रधानमन्त्री ओलीको कुरालाई बुझियो भने पक्कै अन्यथा नहोला ? यद्दपि नेकपाको मिलन बिन्दु र एकताको आधार नयाँ पुस्तामा नेतृत्व रुपान्तरण एक मात्रै विकल्प हो ।
अन्यथा नेकपा नेताकार्यकर्तालाई जनताको नजरमा फेस सेभिंग गर्ने अर्को आधार र धरातल देखिन्न । नेकपालाई आगामी स्थानीय चुनाव र प्रदेश अनि संघीय संसद्को चुनाव हार्ने छूट छ । तर पार्टी फोर्ने र पार्टीमा पुन अलग अलग चुलो धुवाउने छूट छैन् ।
पार्टी विभाजन हुँदा सिपि मैनालीको हालत कस्तो छ सबै नेकपाजनले बुझेको तथ्य छ । पार्टी सुद्दिकरण र निर्मलीकरणका अनेकन उपाय र अवसर कठोर समीक्षा, निर्ममतापूर्वक नेतृत्व हस्तान्तरण र पार्टी प्रवलिकरणका थुप्रै अवस्था र व्यवस्थाको जोखिम र विकल्प छ । तर पार्टी विभाजनको खतरा, खतराहरू मध्ये महाभिषण खतरा मृत्युपत्रमा हस्ताक्षर गर्नु जत्तिकै, कम्युनिस्ट आन्दोलनलाई पुरै विसर्जन र चिहानमा पुर्याउने बराबरको स्थिति विद्यमान देखिन्छ ।
राजनीती कहिल्यै सिधा मार्गमा हिड्दैन तथापि नेकपालाई मुख लुकाउने र भन्ने बाटो पार्टी फुटेको स्थितिमा रहन्न । कुन पक्ष बलियो कुन निर्वल भयो त्यो गणनाको विषय बन्दैन बरु कमजोरीले दुवैलाई रसातल पुर्याउने पक्का छ ।
संकट छल्ने र टालटुले एकताले नेकपा बच्न सक्दैन, नेकपा भयंकर दुर्घटना उन्मुख भएर पनि पटकपटक बालबाल वचेको त छ । तर अब यसको इन्जिन नफेरी पुन यस्तै इन्जिनलाई सामान्य मर्मत गरेर चलाउने हो भने दुर्घटना अवस्यम्भावी छ ।
सिंगल इन्जिन त्यो पनि बारम्बार धोका दिने इन्जिन बोकेर दुई पाइलटले हाक्ने जहाज दुर्घटनामा पर्नबाट रोक्ने तागत दैवी शक्तिसँग पनि नहुन सक्छ । तसर्थ इन्जिन डबल र नयाँ राखेर पाइलट एकजना नै राखेर भए पनि जहाज चलाउनु नै उत्तम विकल्प हो किाम गर्ने सुनौलो अवसर पाएर पनि काम गर्न नसकेको दोष एक्लो केपीको भागमा मात्रै पर्दैन सिंगो नेकपाको भागमा हैसियत अनुसार पर्न जान्छ तसर्थ एक व्यक्तिको असफलता व्यक्तिको निजी, मामला बन्दैन पार्टीको सामुहिक क्षति र घाटामा अनुवाद भइदिन्छ ।
पार्टी विवाद लफडा र अनगिन्ती घीनलाग्दा हर्कतबिच प्रधानमन्त्री ओलीले नयाँ बहसको थालनी गरेर पार्टीका दोश्रो पुस्तालाई काल्पनिक ललिपपको लोभ देखाएका छन् । झट्ट सुन्दा उदारमना सोच र त्यागको संकल्प जस्तो देखिएपनि यसको अन्तर्यको यथार्थ विल्कुल यसो नहुन सक्छ यो अल्पकालीन संकट मोचनको कुटिल चालबाजी र अर्को पुस्तालाई लडाएर आफै राजकाज र पार्टी प्रमुखमा बसिरहने दाउ नहोला भन्न सकिन्न ?
भद्दा अभिनय र कलाविहीन प्रस्तुति हो रैछ भने त्यो घाटा भने ओलीको भागमा पर्ने निश्चित छ । दोश्रो पुस्ताका नेतामा एकले अर्कोलाई स्विकार गर्ने फराकिलो छाती भए त ठिकै छ दोस्रो पुस्ताको निर्विकल्प उमेद्वार को हो त ? सुवास नेम्बाङ, बिष्णु पौडेल भीम रावल जनार्दन शर्मा या अरु कुनै ? नेकपाले संकटनिरुपण गर्न साच्चिकै चाहन्छ ठूला नेताहरु पार्टीको असल अभिभावक र सल्लहाकार बनेर बस्छन भने प्रधानमन्त्रीमा सुवास नेम्बाङ अनि पार्टी अध्यक्षमा भीम रावल महासचिवमा अग्नि सापकोटा र महिला दलित जनजाती सबैलाई संबैधानिक प्रावधान अनुसार ब्यबस्था गरेर जाने हो भने नेकपा अझै फुट्न पर्दैन र अर्को चुनावमा सामान्य बहुमत लिन कस्ट पर्दैन ।
प्रमुख प्रतिपक्षी गतिलो र जोरजबर्जस्त नहुदा सत्ता पक्षलाई अझै सजिलो छ । अकर्मन्य, अल्छी जनपक्षीय काम गर्न उदासिन बनेर घर झगडामा रुमिल्लिएर सासकीय क्षमता प्रदर्शन गर्न नसक्दा पनि काउन्टर दिने बिपक्षी पार्टीको अभाव र खाँचो छ । प्रमुख प्रतिपक्षी कांग्रेस अझै बौरिएको छैन उ कुम्भकर्ण निन्द्रामा छ िनेकपा फुटे आफू जित्ने आंकलन भन्दा आफू बलियो र ससक्त भएर जाने चुनावबाट बहिर्गमित शक्ति चुनावबाटै फिर्ता ल्याउने उसको धेय छैन किनकि ऊ आत्मविश्वास गुमाएको अल्छी र नैतिक दायित्व भुलेको नेताको नेतृत्वमा छ ।
त्यसैले विपक्षीको चुनौती धारिलो नहुनु नै नेकपा शक्ति संघर्षको लफडामा अल्झाउने,अल्झिने गरिरहन्छ । नेकपाको एकता भावनात्मक, वैचारिक र सांगठानिक नभएर सत्ता स्वार्थ र शक्ति आर्जनको लागि मात्रै भएको कारण यसको द्वन्द् अनवरत र शृंखलाबद्ध चलिरहन्छ । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण राजनीतिक चातुर्यता र स्टन्ट होइन भने नेकपाको लागि मिलन बिन्दु र एकताको आधारशुत्र बन्न सक्छ । नेकपा अस्ति झैँ अब पुन बिना आधार कारण र तयारी एक बन्न सक्तैन । नयाँ खोज,नयाँ सम्भावना र नयाँ त्याग र निस्कर्ष नेकपाको लागि अत्यावश्यक छ ।
एकताको आधार ,अनि एकताको शुत्राधार दुवै नेकपा मिलनको प्रस्थानविन्दु बन्न सक्छन् । तर त्यसको लागि नेताहरुको छाती ठूलो र दृष्टिकोण दुरदर्शी हुनैपर्छ । नेकपाको तेस्रो पुस्ता आक्रामक र पार्टी नेतृत्वमा आफ्नै बुता र क्षमताले पुग्ने हैसियत भएको देखिन्न । आ–आफ्ना गुटका नेताको चाकरी दौरा अनि सारीको फेर समातेर आशिर्वाद प्राप्त गरेर, हुक लगाएर, क्रेनले तानेर जाने बाहेक आफै ठूला नेतासँग प्रतिस्पर्धा गर्ने ह्याउ राख्दैनन् जस्तो कांग्रेसमा गगन थापाले त्यो ह्याउ प्रदर्शन गरे भलै जित्न सकेनन तर बृद्दनेताहरुको चेन ब्रेक गर्छु भन्ने आँट गरे र जोखिम मोले ।
यस्तो जोखिम नेकपाका युवा पुस्त विद्यार्थी संगठनबाट आएका पुस्तामा देखिन्न । कांग्रेसमा शेरबहादुर देउवा सफल असफल आफ्नो ठाउँमा छन् तर आफ्नो बुता र ह्याउ प्रदर्शन गरेर नै पार्टी सभापति बनेका हुन् । देउवा नेविसंघको सभापति बन्दा समकालीन अखिलका सभापतिहरू नेकपाको नेतृत्व पंक्तिमा पुग्न सकेका छैनन् तसर्थ पुस्तान्तरणमा नेतृत्व हस्तान्तरणमा कांग्रेस तैबिसेक भन्न हिच्किचाउनु पर्दैन ।
देशका सबै पार्टीहरुवैचारिकरुपमा छिन्नभिन्न छन अस्पष्टता गन्तव्य बिमुख र आदर्श र ब्यबहारको तालमेल नभएर रन भुल्ल्ल छन् । झन्डै दुई तिहाई शक्ति आर्जन गरेर सत्तामा पुगेको नेकपा वैचारिकरुपमा कुहिरोको काग बनेको प्रस्ट छ । चुनावी मोर्चा जस्तो पार्टी एकीकरण छ । उसको सिद्दान्त विचार मदन भण्डारीको बहुदलीय जनवाद हो कि प्रचण्डको २१औं शताब्दीको जनवाद ? उसले आफ्नो सिद्दान्त र मार्गदर्शन यही हो भन्न सकिरहेको छैन िआफ्नो गुट र पुर्व अबद्धता अनुसार सिद्दान्तको ब्याख्या र विश्लेषण गरेर गाइ जात्रा प्रदर्शन गरेका छन् ।
नीतिगत प्रस्टता बिनाको पार्टी एकीकरणको उपज नै बारम्बारको विवाद र झैँ झगडाको बिउ र कारण हो । माछा मार्न दुवाली थुन्दा एक हुनेहरु माछा भाग लगाउने बेला अक्सर झगडा गरेकै हुन्छन नेकपा भित्रको झगडाको कारण सत्ता र शक्तिको समानुपातिक वितरणमा भएको असमानता, जालझेल र योगदानमा दृष्टि नपुगेको देखिन्छ । कम्युनिस्ट फलामे अनुशासन नैतिकता र नीतिमा पलायन बिसर्जन भएको कारण नै कम्युनिष्ट तागत क्षयीकरणमा पुगेको हो ।
चुनाव जित्न जो भए पनि हुने मनि र मसल्स भएको जो आए पनि निर्वाध पार्टीको सदस्य पार्टी नेता र सक्रिय कार्यकर्ता बन्ने परिपाटी कै कारण नैतिकता र अनुशासन , पार्टी पद्दति र विधिको खिल्ली उडेको हो । नेकपा निर्मलीकरण र प्रबलिकरण त्यति सहज छैन यद्दपि संकटलाई पार लाउन नयाँ पुस्तालाई पार्टी र सरकारको नेतृत्वमा लाने सहमति गरेर बिहंगम दृस्टी राख्ने हो भने नेकपाको संकटबाट छुटकारा मिल्न सक्छ ।
नेकपाले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने कठोर निर्मम निर्णय गर्न सक्यो भने त्यो दवाब देशका अन्य पार्टी र तिनका नेताहरुमा पर्ने छ । अवसरपाएका हरु सबै पार्टीबाट विश्राममा गए भने नवयुवाहरुको प्रतिस्पर्धामा पार्टीहरु उर्जावान र सामर्थ्यवान बन्नेथिए भन्ने झिनो अपेक्षा राखौं । कर्णप्रिय सुनिने नेतृत्व हस्तान्तरण नेकपाले कार्यान्वयन गरोस देसले हर क्षेत्रमा फड्को मार्नेछ । यदि त्यसो हुन् सकेन भने पनि युवाहरुको बुता र हुतिको परिक्षण हुनेछ ।