सुदूर नेपाललाई विश्वसँग जोड्दै

काल्चे काकाको केरा

२०७७ कार्तिक १८, ०७:२१

हिक्मत शाही

हाम्रो घरका बुढापाकाले उनलाई काल्चु भनेर बोलाउँथे । उमेरले हाम्रा हजुरबा जस्तै भए पनि हामी नामै राखेर काल्चे काका भन्थ्यौ । उनी परलोक भएको धेरै वर्ष भयो । तर पनि उनी मेरो स्मरणमा जीवितै बनेर बसेका छन् । मलाई याद छ, उनको अन्तिम बिदाइको दिन अरुहरु झैं म पनि रोएको थिए । फरक यतिमात्रै थियो कि अरु डाको छोडेर रोए म मनमनै रोए । म त्यसबेला काल्चे काका अब फर्किएर आउन्नन् भन्ने कुरा सजिलै बुझ्ने भैसकेको थिए । 

मृत्यु के हो ? उ कस्तो हुन्छ ?  कहाँ बस्छ ? कसको आदेशमा काम गर्छ ? किन काम गर्छ ? आदि इत्यादि प्रश्नको जवाफ म सँग नभए पनि उसले के गर्छ भन्ने कुरा मैले राम्रै सँग बुझेको थिए । काल्चे काका भन्दा धेरै वर्ष पहिले कालले लग्नुभएकी मेरी हजुरआमा फेरि कहिल्यै फर्केर आउनुभएन । यति बुझिसकेको मैले अब काल्चे काका पनि कहिल्यै फर्कन्नन् भन्ने कुरा सजिलै बुझेको थिए । उनी अचेलसम्म पनि जीवितै भएको भए म, न साइनोको अगाडि नाम बोलाउथे न त त्यति पाको मान्छेलाई काका नै भनेर बोलाउँथे हुला । साइनो अनि उमेरले उनी मेरा हजुरबा किन कि, उनी मेरो हजुरबाका दौंतरी । दुर्भाग्यवश समयको परिबन्धले मलाई, उनलाई  वास्तविक साइनो लगाएर संवोधन गर्ने अवसर नै जुराएन । उनी परलोक भएको धेरै वर्ष भयो जतिखेर हामी आलाकाच्चा, ठिटना वा भनौ सानै थियौं ।

गाउँको सिरानमै हाम्रा बडेमानका घरहरु छन् । घरबाट ओरालोबाटोमा केही गर्हा अनि कान्लाहरु छिचोल्दा गाउँको मूलबाटो समातिन्छ । जहाँ अजङ्गको सिमलको रुख छ । त्यो सिमलको रुखलाई हामी भुताहा रुख भनेर चिन्थ्यौं । साँझ नढल्दै त्यो रुखमा भुत आएर बस्छ भन्ने जनश्रूति प्रचलित थियो । र त हामी ठिटनाहरु दिउँसो समेत एक्लो दुक्लो त्यो सिमलको रुख भएर उँधोउभो गर्न डराउने गथ्र्याै । फेरि वर्षका केही यामहरुमा दिन नबिराएर हुँबाग समेत त्यसै रुखमा बसेर आफ्नो बेसुरो गीत गाउँथ्यो । रात, सिमल, भुत अनि हुँबागको हुङ्कार सम्झिदा मात्रै पनि सिङ्गो शरीर सिरिङ्ग हुने । हो त्यहि सिमलको रुख अनि मूलबाटोलाई बाँयातिर पारेर केही तल झर्दा गोरेटोबाटो आउँछ । त्यो गोरेटो सँगै जोडिएको थियो काल्चे काकाको घर । गाउँका मलाई  मनपर्ने केही घरहरु मध्य त्यो घर पनि एक थियो । 

काल्चे काकाका दुई भाई  छोरा । जेठा नरबहादुर अनि कान्छा बालासिं । हामी जेठोलाई नरि काका भनेर बोलाउथ्यौ भने कान्छालाई बालु दाई । बालु  दाई प्रायः गाउँघरतिरै हुन्थे भने नरि काका भारततिर  । त्यसैले हामी नरि काकालाई परदेशी काका भनेर पनि चिन्ने गथ्र्यौ । ती दुबै भाईहरु अंशबण्डा गरेर अलग भैसकेका थिए । घर एउटै भएपनि भात भान्सा दुबैका अलग थिए । काल्चे काका र देबु बज्यै ( काल्चे काकाकी जहान जसलाई हामी देबु बज्यै भनेर बोलाउँथ्यौ) दुबै जेठा छोराको जहान सँग बस्ने गर्थे । 
म काल्चे काकाको घरमा निरन्तर आउजाउ गरिरहन्थे । त्यसका पछाडी दुई वटा कारणहरु प्रमुख थिए । एउटा काल्चे काकाको जेठो छोरा पट्टिको जेठो नाति भीम अनि अर्को काल्चे काकाको सुत्ने गोठ । 

भीम मेरो बचपनको साथी (यार) । हामी एक अर्कालाई यार भनेर बोलाउँथ्यौ । स्कुलमा कुखुरो हुँदाका यार । गोरु गोठालो लाग्दा गोरु जुधाउने यार । मेलापर्व हुँदा रत्यौलीका यार । पानी पँधेरोमा घरकुटी खेल्ने यार । ओल्केको बेला हमाली (पिङ्) का यार । के के यार ? के के यार ?? धुलोमाटोमा गट्टा खेल्ने यार । गुलेलीमा मट्याङ्ग्रा खेल्ने यार । यति भैसकेपछि यारको घर पनि आफ्नो घर जस्तो हुने नै भयो । त्यसैले हामी एक अर्काको घरमा निरन्तर आउजाउ गरिरहन्थ्यौ । 

काल्चे काका मलाई, “ए लल्लु !” भनेर सम्बोधन गर्थे । यो लल्लु शब्दको खास अर्थ के हो ? मलाई आजसम्म थाहा छैन । सायद लला अपभ्रंश भएर लल्लु भएको होला ? खैर यो  अमुर्त शब्दको अर्थ किन खोजिरहनुपर्यो र ?? फेरि  माया, प्रेम अनि अपनत्वमा संधै शब्दहरुको मात्रै प्रयोग हुन्छ भन्ने केही छैन । त्यसमा अव्यक्त शब्दहरुको झन गहिरो अनि बिराट अर्थ लाग्छ । प्रेम अपनत्वको भाव हो । प्रेम आदरको भाव हो । प्रेम एक अर्काप्रति सन्निकटता अनि समर्पणको भाव हो । अझ, प्रेममा प्रयोग गरिएका सबै शब्दलाई परिभाषित गरिरहन पनि जरुरी छैन । प्रेमका लागि प्रयोग गरिने कतिपय शब्दहरु सुन्दा नमीठा र अमुर्त  लागे पनि त्यसले दिने अर्थ मर्मस्पर्शी हुन्छ । त्यसको अर्थ शब्दकोषबाट हैन मनको गहिराइबाट खोज्नुपर्छ । त्यसैले मैले कहिल्यै पनि लल्लु शब्दको अर्थ खोज्ने प्रयत्न गरिन । तर मैले काल्चे काकाको ममत्व अनि स्नेहको अर्थलाई समग्रमा बुझेको छुँ । 

गहुँगोरो वर्णका काल्चे काका अग्लो अनि हट्टाकट्टा ज्यानका मालिक थिए । उनका घुँडा यति लामा थिए कि, कुक्रुक्क पारेर बस्दा घुँडा टाउको भन्दा अग्ला देखिन्थे । उनका लामा अनि लोता परेका कान मेरो स्मरणमा अझै पनि अजम्बरी बनेर बसेका छन् । ती एकजोडी लामा कान वृद्ध अनि चाउरी परेको अनुहारमा तुङ्रुङ् लत्रिएका हुन्थे । मानौ, कसैले खिया परेको टिनको पातामा खैरो रङ्गका लामा मोजा टाँङेको होस् ।  उनलाई भुल्न नसकिने धेरै कुराहरु छन् । त्यसमा पनि उनका एक दुई वटा बानीहरु अनौठा किसिमका थिए । ती आममानिसले नगर्ने खास किसिमका थिए ।  

बानी नं एक : 
काल्चे काका गोठालो लाग्ने गर्थे । गोठालो लाग्नु उनको दैनिकी थियो । गाईबस्तु खेद्दै जङ्गलतिर लाग्नु अनि साँझ अबेर घर फर्कनु उनको दैनिकी । घर फर्कदा उनका बलिया काँधमा अजङ्गको काठको मुँडो अटेस मटेस गरेर अटाएको हुन्थ्यो । यसो गर्नु उनको रहर वा बानीको हिस्सा थिएन । जीवन यापनको बाध्यात्मक मेलोमेसो थियो । उनको अनौठो बानी त के थियो भने उनका दुबै काँधमा सँधै जसो आधा दर्जन भन्दा धेरै लौरीहरु लमतन्न परेर तेर्सिएका हुन्थे । ती लौरीहरुमाथि आड लगाएका उनका लामा हात तलसम्म पिङ खेलिरहेका हुन्थे । मैले मेरो जीवनमा एकै पटक यति धेरै लौरी काँधमा बोकेर हिड्ने मानिस उनी बाहेक अन्त कतै देखिन । फेरि, अरु बुढापाकाहरु हालमा लिएको लौरो टेकेर टेको अर्थात सहारा लिन्थे तर काल्चे काका मात्रै यस्ता पात्र थिए जसले सँधै लोरीलाई काँधको सहारा दिए बरु लौरीको सहारा कहिल्यै लिएनन् ।

बानी नं. दुई :
काल्चे काकाको अर्को अनौठो बानी थियो । त्यो के भने उनी गाईगोरु सँगै गोठमा सुत्थे । बुढा, गोठमा नसुतेसम्म निन्द्रै लाग्दैन भन्थे । उनको लामो गोठमा आधा हिस्सा गाईगोरुलाई हुन्थ्यो भने आधा उनलाई । बीचमा सीमानाको काम आगोको धुनीले गरेको हुन्थ्यो । साँझ नढल्दै गोरुहरुसँगै काल्चे काका पनि धुवाको मुस्लोभित्र गोठमा हराएका देखिन्थे । तर हिउँदयामको कुरा बेग्लै हुन्थ्यो । हिउँदका चिसा साँझहरुमा काल्चे काकाको गोठमा बुढापाकाहरुको बाक्लै जमघट हुन्थ्यो । उनीहरु तम्बाकुको चिलिम तान्दै, आगोमा हात सेक्दै  देश प्रदेशका मीठामीठा गफ गर्थे । उनीहरुका मीठा गफले हामी ठिटनाहरुलाई पनि गोठतिर आकर्षित गर्ने गर्दथे । त्यसैले हामी पनि नियमित रुपमा काल्चे काकाको गोठमा पुगेकै हुन्थ्यौ । गोठका गफाडीमा मौरु काका सबैका उस्ताज । गजबका गफाडी थिए उनी । त्यो गोठ गजबको थियो । साँच्चिकै गजबको । जहाँ काल्चे काका सुत्ने गर्थे ।

अब मूल प्रसङ्ग तर्फ :
सधैंझै यसपालि पनि दशै नआउँदै दशैको रमाइलोले सिङ्गो गाउँलाई छपक्क छोपिसकेको थियो । वर्षातको हिलोमैलो हटेर स्निग्ध, स्वच्छ,  सफा अनि निलो आकाश मुन्तिर सिंगो नै धरती शरदको उन्मादमा उत्ताउलो भएजस्तो अनुभूति । जताततै फूलको सुवास अनि सौन्दर्य । कतै बाबरी, कतै मखमली, कतै सयपत्री अनि कतै चम्पा चमेली । जता हेर्यो त्यतैको दृश्य मण्डपमा सजिएकी दुलहीको जस्तो लाग्ने । यस्तै रमाइलोका बीच कतै बेपत्ता भएका लाहुरेहरु पनि गाउँमा धमाधम भित्रिन थालेपछि गाउँको रमाइलो अनि उमङ्गको कसरी वर्णन गर्नु र ? वर्षदिनभरि वर्षाको हिलो मैलोझैं फोहरमैला लाग्ने सिंगो गाउँ लाहुरेहरुको आगमनसंगै फक्रक्क फक्रिएको थियो, सयपत्रीको थुङ्गा झै । त्यसमाथि कमेरो अनि रातोमाटोले लपक्क पोतिएका घरहरु ।

समय बित्न कति समय लाग्छ र ? हेर्दाहेर्दै नवरात्र सुरु भयो । नवरात्रभरि गाउँको बीचमा रहेको देवीको थान (मन्दिर) मा हरेक दिन विहान बढाईंसहित देवीको आराधना गर्ने प्रचलन अनुसार यसपालि पनि परम्परालाई संधैझै दोहो¥यायो । नवरात्र सुरु भएदेखि विजया दशमीको दिनसम्म हरेक साँझ देवीको थानमा रत्यौली खेल्ने चलन छ । ठिटाठिटीहरु रातभर देउडा खेल्छन् अनि जाग्राम बस्छन् । रत्यौलीका रातहरुमा देउडासँगै अन्य धेरै कामहरु पनि हुन्छन् कतिपय भन्न मिल्ने काम अनि कतिपय भन्न नमिल्ने काम । त्यस्तै भन्न नमिल्ने कामहरुमा एउटा काम हो चोरी । नवरात्रका रातहरुमा काक्राका झुलहरु चोरिन्थे । हामी पनि सकेसम्म काक्रा चोथ्र्यौ । मेरो ग्याङका मुख्य चोरहरु भीम, निर्मल अनि गणेशहरु । यसपालिको दशैंको पहिलो दिनदेखि नै हामीले पनि पोहर परारको उपक्रमलाई निरन्तरता दियौं । घटस्थापनादेखि पञ्चमीसम्म तमाम झुलहरु रित्याइए । 

षष्ठीको दिन बिहानै काल्चे काकाले केराको थाम ढाले भनेर अपुष्ट खबर आयो । बुझ्दै जाँदा साँच्चै हो रहेछ । अनि बाको आदेश अनुसार दशैको टीकाको दिनलाई दुई हाता केराको अडर लिएर म काल्चे काकाको घरमा पुगे । काका किन हुन्न भन्थे र उनले मेरो प्रस्तावलाई सहजै स्वीकार गरे । म उनको घरमा पुग्दा केराको घरी खाल्डोमा पुरिइसकेको रहेछ । आफ्नै आँखाले देख्न नपाए पनि केराका कोसा गतिला छन् भन्ने अरुबाट जानकारी भएपछि म ढुक्क भए । त्यसताका हाम्रोतिर केरालाई खाल्डोमा हालेर कन सल्केको धुवाँले केरा पकाउने चलन थियो । ओखतीको चलन त्यसबेला आइसकेको थिएन । 

काल्चे काकाले काठको ठूलो मचान मुनि खाल्डो खनेर केरालाई माटोमा पुरेका थिए । बुढाले मचानमुनि किन खाल्डो खने ? यसको एउटै जवाफ हो, केराको सुरक्षा । केरा खाल्डोमा पुरेको दिनदेखि बुढाले आफ्नो बसाइँ पनि गोठबाट मचानमा सारेका रहेछन् । रातभरि केरालाई रुँग्यो बस्यो । हैन भने त कुनै एक रत्यौलीमा सबै केरा छु मन्तर ।  अष्टमीको रातसम्म हाम्रो टोलीले काक्राका अन्य धेरै झुलहरु खाली गर्यो । 

नवमीको दिन राती हाम्रो टोली निर्धारित ठाउँमा भेला भयो । आजको जून हिजोको भन्दा अझै खुलेको थियो । यो चोरका लागि राम्रो लक्षण होइन । जूनको उज्यालोमा पक्रिएला भन्ने ठूलो डर हुन्छ । हामीले केही समय योजना बुन्न मै खर्च गर्यौ । आजको योजना अलि फरक थियो । के खाने ? केरा खाने । कसको खाने ? काल्चे काकाको ? योजनाकार को ? भीम । 

योजनाको सबै तयारी पुरा भएपछि भीम अगाडी बढ्यो । हामी अरु अध्यारो कुनामा आड लागेर बस्यौ ।
“बाजे” ख्वाक्क ख्वाक्क नक्कली खोकी निकालेर भीम बोल्यो ।
“आज यति चाँडै आइहालिस् ? “चनाखो भएर बसेका काल्चे काकाले तुरुन्त जवाफ फर्काए । 

“दिक्क लाग्यो बाजे आज अनि आएँ ।” झर्को माने झै गरेर भीम बोल्यो ।

“ठीक गरिस । दुई तीन दिनदेखि निदाउन पाएको थिएन । आज तँ केराको सुरक्षा गर है । “काल्चे काकाले यति भन्दा भीम मचानमा उक्लिसकेको थियो । केराको सुरक्षाको जिम्मा भीमलाई सुम्पिएपछि बुढा सिरानमा राखेको कम्मल निकालेर डङ्रङ्ग पल्टिए । 
भीमको इसारा पाउने बित्तिकै हामीले आ–आफ्नो जिम्माको काम तत्काल फत्ते गर्यौ । एकै छिनमा केराको खाल्डो रित्तो भयो । भीम पनि मचानबाट सुटुक्क तल झर्यो । अनि सुरुभयो हाम्रो रात्रीभोज । केही समयमा केराका सबै कोसाहरु बैकुण्ठ बास भैसकेका थिए । 

केरा हजम गरेर हामी आ–आफ्नो घरतिर उभो लाग्यौ अनि भीम केराको सुरक्षाको लागि मचानमा उक्लियो ! 

स्मृतिमा आधारित आलेख, १७ कार्तिक २०७७ ।
 

कमेन्ट लोड गर्नुस