कोरोना महामारीका कारण पाकिस्तानका ११ अदालतमा सीलवन्दी
न्यायाधिश तथा कर्मचारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि पाकिस्तानका ११ अदालतमा सीलबन्दी गरिएको छ ।
पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर मिर्जाले शुक्रबार यो कुराको पुष्टि गरेका हुन् । देशभर रहेका ७० अदालतहरुमध्ये ११ अदालतमा कुनै पनि काम कारवाही नहुनेगरी बन्द गरिएको उनले जानकारी दिए । ती अदालतहरु जिल्ला तथा सुरु तहका अदालतहरु पनि रहेका छन् ।
बन्द गरिएका ११ अदालतका १२ जना न्यायाधिश र कर्मचारीहरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको उनले बताए । बारका सचिव मिर्जाले सङ्क्रमित भएकाहरुको उपचार भइरहेको पनि सञ्चार माध्यमहरुलाई जानकारी दिए । पाकिस्तानमा शुक्रबारसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितहरुको संख्या तीन लाख ३२ हजार १८६ रहेको छ ।
त्यसैगरी कोरोनाका कारण पाकिस्तानमा शुक्रबारसम्ममा छ हजार ७९५ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।