सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई चोटी सुदूरपश्चिमको प्रदेश सचिव बनेका झलकराम भ्रष्टाचार मुद्दामा निलम्बित 

२०८२ चैत्र ५, ०३:१० नारायण अवस्थी

धनगढीः सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका छन्। बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवका रूपमा कार्यरत अधिकारीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अधिकारी सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयको दुई पटक सचिव भएका कर्मचारी हुन्। उनी पहिलो पटक २०७८ बैशाख १२ गतेदेखि कात्तिक १ गतेसम्म आर्थिक मामिला मन्त्रालयको सचिवमा कार्यरत थिए। दोस्रो पटक भने सोही मन्त्रालयमा अधिकारीले १० महिना काम गरेका थिए। अधिकारी २०८१ असार २६ मा मन्त्रालयमा हाजिर भएका थिए भने २०८२ बैशाख १६ गते उनको बागमती प्रदेश सरूवा भएको थियो।

अधिकारी लामो समयदेखि सहकारी, राजस्व अनुसन्धान, अध्यागमन लगायतका आकर्षक निकायमा कार्यरत रहँदै आएका थिए। तर अख्तियारको अनुसन्धानले उनी राजस्व चुहावट नियन्त्रणभन्दा घुस संकलनमा संलग्न रहेको देखाएको छ। राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा उनले राजस्व छलीमा संलग्न व्यक्तिहरूसँग सौदाबाजी गरी घुस लिएको प्रमाण भेटिएको बताइएको छ।

संसदीय छानबिन विशेष समितिले पनि अधिकारीमाथि प्रश्न उठाएको छ। अध्यागमन विभागको महानिर्देशक हुँदा उनले जीवी राईको राहदानी फुकुवा गरेर विदेश भाग्न सहजिकरण गरेको आशंका गरिएको छ। सहकारी संस्था बचत दुरूपयोग प्रकरणमा पनि उनीमाथि बयान लिइएको थियो।

अधिकारीले घुसबाट आर्जित रकम प्रयोग गरी काठमाडौंको दिव्यश्वरी क्षेत्रमा जग्गा खरिद गरेको आरोप पनि लागेको छ। साथै, सुन तस्करी प्रकरणमा पनि उनको संलग्नता देखिएको भन्दै यसअघि नै विभागीय कारबाही सिफारिस गरिएको थियो। ६० किलो सुन तस्करी प्रकरणमा बेल्जियन नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएको बताइएको छ।

राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा खाएको घुसले अधिकारी भ्रष्टाचारमा डामिएर निलम्बनमा परेका हुन्।

विभिन्न शक्तिशाली राजनीतिक पहुँचका आधारमा आकर्षक अड्डामा सरुवा हुँदै आएका अधिकारी अन्ततः भ्रष्टाचार आरोपमै तानिएका छन्। अब उनको मुद्दाको अन्तिम टुंगो विशेष अदालतले लगाउनेछ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस