सुदूर नेपाललाई विश्वसँग जोड्दै

१२ बर्षपछि बझाङ फर्किएको चिलगाडी

२०७७ कार्तिक १२, ०९:१० किशोर खड्का

धनगढी : यस बर्षको दशैंको पुर्व सन्ध्यामा बझाङबासिमा ठूलो खुशियाली देखियो, त्यो थियो करिब १२ बर्षपछि एक फन्को लगाएर बझाङको देवल एयरपोर्टमा चिलगाडि अवतरण गर्नु । बझाङ एयरपोर्टमा परीक्षण उडानको लागि समिट एयरको जहाज अवतरण हुँदा हजारौँको संख्यामा एयरपोर्टमा हर्षोल्लास र जहाज पुनः सञ्चालनमा आउने आशा र सपना देखेका बझाङबासिको उत्साह देखेर समिट एयर क्रु मेम्बर र सञ्चालक निकै उत्साहित भए ।

त्यसपछिका दिन देखि आजका दिन सम्म बझाङको सेड्युल फलाईटमा कुुनै परिवर्तन भएन तर तोकिएको भन्दा बढि उडान भए । एकैदिन तिन वटा उडान गर्दा पनि सबै यात्रुको जहाज चढने सपना पुरा सकेको छैन् । यात्रुको चाप र माग अझै जहाजले धान्न सकिरहेको छैन् ।

अझै पनि सपना हो कि विपना हो भन्ने छ, बझाङ बासिमा तर बिहान साढे ६ बजे नै जहाज बझाङको एयरपोर्टमा जहाज अवतरण हुदा नियमित होला भन्ने बझाङबासिमा आशा पलाई सकेको छ । 
                                                                                                                 ०००

आज भन्दा करिब २ बर्ष पहिले भाद्र महिनातिर सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाबाट प्रकाशित हुने समाचारको शिर्षक र समाचारको सार हुन्थे, अविरल बर्षातको कारण बाटो बिग्रदा बझाङका बासिन्दा सडक संजालबाट बञ्चित भए, एक महिनामा २५ दिन जति सडक अवरुद्ध भयो, रासन र दैनिक उपभोग्य सामाग्रीको हाहाकार, बिरामीहरु उपचार नपाएरै ज्यान गुमाउनु पर्यो, यस्तै यस्तै । तत्कालिन समयमा मेरो बसाई संघीय राजधानी काठमाण्डौंमा थियो ।

दिनहुँ यस्तै यस्तै समाचार सुन्दा, पढ्दा निकै पिडा हुन्थ्यो । यसै क्रममा सायद कारोबार दैनिकमा र कान्तिपुर दैनिकमा मकर धामी र बसन्तप्रताप सिंहको एउटै विषयको समाचार प्रकाशित भयो । १२ बर्षदेखि बझाङ बिमानस्थल गौचरणमा परिणत, सडक सुचारु नहुँदा हजारौं यात्रु अलपत्र, जनजिवन कष्टकर । समस्याको समाधान अवश्य हुन्छ, भलै ढिलै किन नहोस, तर कठोर अभ्यास र दृढ प्रतिवद्धता चैं चाहिन्छ । खण्डहर बनेको बझाङ बिमानस्थल पुनः सुचारु गर्नुपर्छ  भन्ने मनमा अठोट जाग्यो ।

तुरुन्तै एउटा ध्यानाकर्षण पत्र तयार पारे । तत्कालिन पर्यटन मन्त्री जितेन्द्रदेव यादवलाई भेटेर बझाङ बिमानस्थल कालोपत्रे गराईदिन हुन भन्ने व्यहोरामा डेलिगेशन जाने तय भयो । संविधानसभा सदस्य एल.बि रावल, मानप्रसाद खत्री, पूर्व वनमन्त्रि भानुुभक्त जोशी, चन्द्रा जोशी, अफिलाल ओखेडा, जनक बुढा, पत्रकार मकर धामी, बसन्तप्रताप सिंह, मान बहादुर बोहोरा लगायत ब्यक्तित्वहरुको समुहले मन्त्रिज्यु समक्ष माग पत्र प्रस्तुत गर्यौ, नागरिक उड्डयन प्राधिकरणमा गएर पनि अनुरोध पनि गयौँ ।

यहि दौरान आ–आफनो क्षेत्रबाट सबैले पहल कदमी गरेको जानकारी पनि प्राप्त भयो । डा. सुुरेश मल्ल, पत्रकार शैलेन्द्र रोकाया, तत्कालिन र पर्व र वर्तमान उद्योग वाणिज्य संघका प्रतिनिधि लगायत व्यक्तित्वहरुबाट समेत पनि । संविधान सभा सदस्य अफिलाल ओखेडा यो कार्यमा सदैव अग्रपंक्तिमा दत्तचित्त भएर लागिरहे, आफनै घर बनाउन गरिने परिश्रम झैं । प्रयासले उज्यालो संकेत देखायो, बझाङ एयरपोर्टको कालोपत्रेका लागि टेण्डर आह्वान भयो ।

निर्माणको जिम्मा लिएको कम्पनीले भनेको समय भन्दा थोरै ढिला गरेपनि कोरोना कहर, बारम्बार अवरुद्ध हुने सडकका कारण निकै ढिलो गरेको महसुस भएन । अन्ततः समिट एयरको जहाजले डोटी, बैतडी र बझाङमा सेड्युल सहितको उडान भर्ने भयो । उडानको सुरुवात देखिनै धनगढी बझाङ उडान हेर्नुपर्ने जिम्मेवारी मलाई प्राप्त भयो ।

एउटा खाजाघरको संचालक, बिहान ९ बजे उठ्ने र ११ बजेतिर खाजाघर खोल्ने बिलाशी आदतको म बिहान ५ बजेदेखि निरन्तर बज्ने फोनको सामना गुर्नुपर्यो । हतार पतार गर्दै एयरपोर्ट दर्गुनुपर्ने रमाईलो र सन्तुष्टिको स्वाद अर्बणनिय छ ।

                                                                                                            ०००
धनगढीबाट बझाङ जान या बझाङबाट धनगढी आउन करिब १२ घण्टाको सडक यात्रा गर्नुपर्छ, मैले पनि पटक पटक गरेको छु । कयौन पटक तराईबाट पहाड गर्दा होस या पहाडबाट तराई आउँदा होस बान्ता गर्दै यात्रा गर्नुको पिडा भोगेको छुु ।

पहिरोले भत्काएको बाटोमाथि बस या जिप कुद्दा पल्टिएर तल झरिहालौलाकि जस्तो लागेर सिटको छेउमा रहेको डण्डी समात्दा हातमा ठेलै परेको हुन्छ । बसभरी यात्रुले गरेको बान्ताको गन्धले आफनो बान्ता रोक्न पनि मुस्किल पर्छ ।  करिब ३५ पटक सुदूरपश्चिमको पर्यटकिय मुटु खप्तड पुगे, विभिन्न पर्यटक, पत्रकार, विज्ञहरु र विदेशी पर्यटकहरुको साथमा । हिड्न कम हुने बाटोको छनौट गर्दा बझाङको बाटो नै पथ्र्याे ।

तर बसको या सडक यात्राले सबै पीडित नै भएको पाउँथे । लाग्थ्यो यदी बझाङ र डोटीमा जहाज संञ्चालन भैदिएको भए कति सहज हुन्थ्यो होला । आजका मिति सम्म बझाङ करिब २० वटा जति उडान भयो होला, प्रत्येक उडानमा करिब ४–५ वटा बिरामी तलमाथि गरेको देखे ।

बसको यात्रा गर्दा बान्ता गर्ने यात्रुहरु त बरु हप्तै कुरेर भएपनि हवाई यात्रा गर्न नै कुरेर बसेको पाए । खप्तड घुम्न आउने पर्यटकहरुको पनि फोनमा ईनक्वाईरि हुुन्छ, बझाङ र डोटीमा जहाज उडन थालेको हो ? गर्वका साथ भन्छु, हो हजुर सेवा हाजिर छ ।

                                                                                                         ०००
बझाङ उडानका दौरान र अहिले सम्म पनि हवाई भाडा महंगो भयो भने निकै गुनासो सुनियो, अझैपनि भाडादर केही कम भईदिए हुन्थ्यो भन्ने आशय सबै यात्रुको देखिन्छ । मलाई पनि भाडादर केही कम भैदिए हुन्थ्यो भन्ने पक्कै लागेको छ ।

तर यो होईन् कि यो भाडादर एयरलाईन्सले आफ्नो अनुकुल बनाएको हो, नेपाल सरकारको अधिकार प्राप्त निकाय नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडादर हो । अझ भनाँैं सरकारले यो भाडा दर लिनु भनेर तोकेको दर रेट हो । जसरी एयरपोर्ट कालोपत्रे गर्न, जहाज उडान गर्न संर्घष गर्यौ त्यसैगरी भाडादरलाई सहज बनाउन हाम्रो र मेरो प्रयास जारी रहने छ ।

तर यो भन्दै गर्दा हाल समिट एयरले दिएको गुणस्तरीय सेवालाई हामीले पनि मनन गर्नै पर्छ र धन्यवाद दिनै पर्छ । सेवामा गुणस्तरीय भएपछि केही थोरै बढी खर्च हुन्छ भन्ने हामीले बुझ्न र आत्मसात पनि गर्न सक्नु पर्छ । अन्तमाः हामीले बर्षौपछि हवाई सेवासँग जोडिने मौका पाएका छौँ ।

यसलाई सदुपयोग गरौँ । यो सेवाले निरन्तरता पाओस । हामी सबैले हाम्रै सहुलियत र सहजताका लागि यो सेवाको उपयोग गरौँ । दुर्गम र सगम छुट्याउने यी र यस्तै पूर्वाधार गतिविधि हुन् । हामी सधैभर दुर्गमकोबासि भन्न गर्व गर्ने र अनुदानमा रमाउने कि विकास  र प्रविधिलाई आत्मसात गर्दै अगाडि बढने ? पक्कै पनि हामी अब दुर्गम होईन, सम्पन्न र स्वाभिमानि जिल्लाको बासिन्दा भन्न गर्व गरौं र सेवा सुविधा उपभोग गरौँ ।

किशोर खड्का
पर्यटन अभियान्ता समेत रहेका खड्का अहिले समिट एयरको बझाङ प्रतिनिधि भएर पनि काम गरिरहेका छन् । उनी धनगढीको खप्तड खाजा घरका सञ्चालक पनि हुन् ।
कमेन्ट लोड गर्नुस