सुदूर नेपाललाई विश्वसँग जोड्दै

“दशैँ अनि रामलीला”

२०७७ कार्तिक ८, ११:५० विरेन्द्र चौधरी

कोरोना फोवियाले गर्दा एक्लै टोलाउने बानी बसेको थियो । कौसीको ¥यालिङ्ममा हातको अडेस लाएर आज पनि एकोहोरो टोलाउँदै थिएँ । 

“फेरि के सोच्दै हो !  एकसुरमा  ?”  श्रीमतीको प्रश्नले मेरो एकाग्रता एकाएक भंग भयो ।

“किसीकि बहुत याद आ‘रेली है ।”मुन्ना भाईको नक्कल गर्दै भनें । मलाई लगेर हो मुन्ना भाई हिन्दी फिलिम अझै मन पर्छ । जिस्किने मुडमा टुटेफुटे हिन्दी पनि निस्किन्छ ।

“कोइ गर्लफ्रेण्ड है क्या  ?”  श्रीमती पनि जिस्कन थाली ।

“हे कोइ स्पेसल ।”मैले सहजताका साथ भने ।

“साँच्चै हो कि क्या हो  ?” उनी शसंकीत भईन् । अनुहार अध्याँरो पारिन । क्षणभरमै मुडअफ हुनु हाम्रो परिवारको प्रमुख गुण हो । हामी दुई जनाको जिस्किने मुडअफ भयो । त्यसपछि संवाद सुरु भयो ।

“कहाँ किहो  ?”

“धनगढी पार्क छेउकै ।”

“कहिलेदेखि  ?”

“बच्चैदेखि ।”

“भेटघाट हुन्छ होला नि  ?”

“नभेटेको २५ वर्ष भयो ।”घर थाहा छ तर भेट हुन सक्दैन रे ।”

“किन हुन सक्दैन  ?”

“कोरोनाले गर्दा आउन सक्दिन ।”

“मैं आफै भेट्न जान्छु ।”

उनी जंगिइन्

“खुरुक्क बाईक निकाल्नु  नि , किन ढिला गर्ने ।”

प्रसंग निकालेमा पछुतो भयो । आज्ञाकारी भएर बाईक स्टाट गरें । पछाडी उनी बसिन् । बाईक सिटमा पनि भौतिक दुरी कायम गरिन् । कर्के नजरले हेरिन् । घरबाट पार्कसम्म दुरी घेरैमा पाँच मिनेटको बाटो थियो । उपमहानगरपालिकाको पदवी पाएको धनगढीको मुख्य बाटो खाल्डाखुल्डीले प्रदेश राजधानीलाई गिज्याइरहेको थियो ।

अव्यवस्थित ढल र धुलाम्मे सडकले स्थानीय सरकार र प्रदेश सरकारलाई पनि गिज्जियाउँछ होला । कालो सिसा भएको चिल्लोगाडीमा हिड्ने सरकारलाई बाटोको दुर्दशा देखिँदैन । जिल्ला प्रशासन कार्यालयदेखि सेती प्रादेशिक अस्पतालसम्मको कुरुप बाटोमा मेरो बाईक उफ्रिरह्यो । उनी भने अपरिचित झै शान्त बसीरहिन् ।

पार्क मोड पुगेपछि बाईक पार्कतिर मोडें । पार्कछेउ अलि अगाडी बढेपछि कभर्ड हल जाने पुरानो गेटभित्र छिरें । कभर्डहल पुरै पहेंलो रंगले कभर गरिएको थियो । छेउमा पहेंलै रङले पोतिएको सानो मन्दिर थियो । मन्दिरको ढोका खुल्ला थियो । मन्दिरभित्र धुलाम्य हनुमान जीविराजमान थिए ।

शरीरका रंग खुइलिदै गएका हनुमान जी का आँखा निरास देखिन्थे । भगवान रामका परमभक्त हनुमानले “जयश्रीराम”लेखिएको दोसल्ला भने अझै ओढेकै थिए । हनुमान जी लाई ढोग्दै भने–

“यी हनुमान जी साक्षी छन् ।”मेरो बारेमा सबैकुरा यिनैलाई थाहा छ । यिनलाई सोध ।”
“ढुंगाका हनुमानले के सुनाउँथे र।”

“आफैले ओकेल्नु नि ।”श्रीमतीले खुट्टा भुईमा बजारिन्। 

“मेरो एउटा आग्रह छ । मेरो कथा धैर्य पूर्वक सुन ।”

“त्यसपछि जे–जे गर्नु छ गर्नु । श्रीमती जी ।”मैंले फकाउन खोजें ।

“नभन्नु मलाई श्रीमती ।”

मन्दिर अगाडीको घाँसे चौरमा उनी थचक्क बसिन् । उनको छेउमा गएर म पनि बसें । रिसाएर उल्टो फर्किन् । मैंले एकोहोरो कथा सुरु गरें ।

बच्चा हुँदै उनी सँग चिनजान भयो । चिनजान गराउने माध्यम दशैं बन्यो । ८–९ वर्ष हुँदादेखि नै भेट्न सुरु गरें । यो क्रम म १६ वर्ष हुँदासम्म जारी रह्यो । २०५२ सालमा जनयुद्ध शुरु भयो । यहि युद्धकालमा मैंले धनगढीको बसाइ छोडें । त्यसपछि भेटघाट हुन छाड्यो । अहिले आएर म फेरि घुमीफिरी धनगढीमै आइपुगको छु । युद्धकालमा जन्म स्थान छोडें । कोरोनाकालमा पुनः जन्मस्थान फर्किएको छु ।

जीवन “फिरफिरे”जस्तै भनेर बुद्धिसागरले त्यसै भनेका होइन रहेछन् । अहिले हिसाब गर्दा ब्रेकअप भएकै २५ वर्ष भइसक्यो । उनीसँग पो ब्रेक अपभयो । उनले सुनाएका कथाहरु ब्रेकअप भएनन् । जतिजति नजिक दशैं आउँथ्यो, उतिउति मनमा धैर्यताको बाँध भत्किदै जान्थ्यो ।

उनलाई भेट्न मन औडाहा भएर आउँथ्यो । घटस्थापनाको साँझदेखि विजयादशमीको रातसम्म नविराइकन उनलाई भेट्न आउँथे । भेट्ने समय र स्थान सधैं एउटै हुन्थ्यो । समय राति आठ बजेदेखि १२ बजेसम्म, स्थान पार्क छेउको कभर्डहलको खुलामञ्च ।

कुनै दिन दिउँसो पनि भेटौं न मैले भन्थे । उनी भन्थिन्–आस्विन शुक्लपक्षको रात उनलाई निकै मन पर्छ रे । तह–तह जुन हेर्दै कथा भन्न धेरै रमाइलो लाग्छ रे । त्यसैले राती मात्र भेट्ने रे । मैले भन्दै गएँ ।
यहिचौरमा बसेर कथा सुरु गर्थिन उनी । कथा सुरु गर्न अगाडी भन्ने गर्थिन् ।

“बोलो रामचन्द्र कि   जय ।”

कथाको बीच – बीचमा पनि भन्ने गर्थिन् ।

“बोलो रामचन्द्र कि  जय ।”

र कथाको अन्त्यमा पनि भन्ने गर्थिन्।

“बोलो रामचन्द्र कि  ! जय ।”

मैले नि उनकै स्वरमा भन्थे ।  “जय”

घटस्थापनादेखि दशमीसम्म उनले नयाँ नयाँ कथाहरु बडो रोचक तरिकाले सुनाउँथिन् । उनको कथा भन्ने तरिका र हाउभाउ नै मलाई मन पथ्र्यौ । लेख्न चाहिं बाल्मिकीले लेखेको हो रे, कथा चाहिं उनी सुनाउँथिन् । उनले सुनाउने कथाको शिर्षकलाई “काण्ड”भन्थिन् ।

दशदिनको अन्तरालमा बालकाण्ड, अयोध्याकाण्ड, अरण्यकाण्ड, किचकिन्धा काण्ड, सुन्दराकाण्ड र युद्धकाण्डका कथाहरु पुरा गर्थिन् । धनुषवाणमा निपूर्ण रामको कथाले मलाई यति प्रभावित पाथ्र्यौ कि विहान मैंले बासको धनुष वाण बनाएर भ्यागुताहरुको शिकार खेल्न निस्कन्थे ।

माइली रानी कैकेयीको ईष्र्या र राजा दशरथको लाचारीपनले रामलाई बनवास जानु पर्दा दुःख लागेर आउँथ्यो । रावणको बहिनी सुपर्णखाको नखरा देखेर मलाई रिस लागेर आउँथ्यो । रिस मलाई मात्र होइन, लक्ष्मणलाई झनै उठ्दो रहेछ । सुपर्णखाको प्रेम प्रस्ताव नमान्दा लक्ष्मणले उसको नाक र कान काटि दिएपछि नै रावणसँग दुश्मनीको बीउ रोपिएको उनी बताउँथिन् । बदला स्वरुप सीतालाई अपहरण गरेर लंकामा बन्दी बनाउँछन् ।

कथासुन्दा–सुन्दा कहिले काँहिं मलाई दिक्क लागेर आउँथ्यो । उनी चंचल स्वभावकि थिइन् । मलाई हँसाउन उनी नाच्न थाल्थिन् । त्यतिखेर धनगढीमा “कमल–डान्स”निकै चर्चित समूह थियो । त्यहि समूहको हिन्दी आइटम गीतमा थुमका लगाउँथिन् । मान्छेहरुको भीड छिचोल्दै कहिले बदाम खुवाउँथिन्र त कहिले रोटेपिङ्गमा सयर गराउँथिन् ।

खुलामञ्चमा निर्मित विभिन्न भगवानहरुको दर्शन गराउँथिन् । दशैंभरि श्रद्धालुहरु यिनै मूर्तिहरुकोमा घुइँचो लगाउँथे । इन्डियन कालीगडले बनाएका माटाका मूर्तिहरु साँच्चै जीवन्त देखिन्थे । पाँच वटा मूर्तिलाई चिनाउदै भन्थिन्–गणेश, लक्ष्मी,  दुर्गा,  सरस्वती र कार्तिके । भगवान दुर्गा बाहेक चारै भगवान आ–आफ्नो बाहनमा शान्त मुन्द्रामा देखिन्थे ।

बीचमा उभिएकी दशहाते दुर्गा भने निकै क्रोधित देखिन्थिन् । बडेमानको सिंहमा सवार दुर्गाको हातमा भएको त्रिशुलले कालो जीउ र रातो जिब्रो भएको डरलाग्दो राक्षसको छातीमा प्रहार गरेको मुर्ति दशैंको लागि विशेष मानिन्थ्यो । उनी भन्थिन्–देउताहरुलाई दुःख दिने दानवम हिसासुर यिनै हुन् ।

यहि दानवलाई परास्त गर्न भगवान विष्णुले दुर्गाको रुप धारण गरी दशमीकै दिन परास्त गरेकोले विजयादशमी हुन गएको हो रे ।
कथा अगाडी बढ्दै जाँदा नयाँ–नयाँ पात्रहरु पनि थपिदै जान्थे ।

कहिले हनुमानको कथा, कहिले बाली र सुग्रिवको कथा । भातृत्व सम्बन्ध दिने विभिन्न पात्रहरुको उदाहरण दिन्थिन् । यहि उदाहरण दिइरहँदा मैले बीचमा भन्थे, मेरा पनि दाजुभाईहरु छन् । हाम्रो सम्बन्धलाई कस्तो सम्बन्ध भन्ने, मैले प्रश्न गर्थे ।

“राम,  लक्ष्मण र भरत जस्तै  ?”

“बाली र सुग्रीव जस्तै ?” 

“रावण र विभिषण जस्तै  ?”

उनी मुस्कुराउँदै भन्थिन् – 

“महासय १ मैले त्रेतायुगको कुरा गरेको हो ।”

“यो कलियुग हो । आफ्नो मुल्यांकन आफै गर ।”

सप्तमीदेखि कथाको क्लामेक्स बढदै जाँदा नवमी पुग्दासम्म युद्धकाण्डको भीषण युद्ध सुरु हुन्थ्यो । कालरात्रीमा सुरु भएको युद्ध दशमीको दिन पनि जारी रहन्थ्यो । लंकामा हमला गरेका रामले अन्ततः विजयी प्राप्त गर्दै जान्छन् । लंकाका थुप्रै सेनाहरु शहीद हुन्छन् ।

रामको अचुकवाणले दशमुखे रावण गर्लाम्म ढल्छन् । रावण ढलिसकेपछि पनि रामचौरमा दौडिन्छन् । चौरमा बनाइ राखेको भिमकाय रावणको पुत्लामा अग्नि रुपी वाण प्रहार गर्छन् । पटाका जडित रावण बल्न सुरु हुन्छ । क्षणभरमै पटाकाका आवाजहरु बम फुटे जस्तै पड्किन थाल्छन् ।

आकाशमा आतिसबाजी हुन्छ । म भीडबाट बाहिर निस्किन्छु । आतिसबाजीको रंगीन प्रकाशमा उनले मलाई वाई–वाई भनेर हात हल्लाउँछिन् । म पनि हात हल्लाउँदै भन्छु –

“अर्को दशैंमा भेटौंला हैं ।”

त्यसपछि उनी निभेको आगो सँगै खरानीमा बिलिन हुन्छिन् । लंकामा विजयी हासिल गरी सीतासहित रामको समुह आयोध्यातिर लाग्छन् । म भने हसनपुरका केटाहरुको समुहमा घरतिर लाग्छुँ ।

“मेरो कथा सकियो । तिमीलाई केहिं भन्नु छ ?”

एकनासले उल्टो फर्केर कथा सुनिरहेकी श्रीमतीमतिर फर्किन्छिन् । अनि भन्छिन् – 

“रामायणको रामलीला पो रहेछ, मैले त अरु नै सोंचिरहेको थिएँ ।”

जिस्किदै मैले भने–

“रणवीर सिंहर दिपिका पादुकोणको रामलीला होइन नि।”

त्यसपछि बाईकस्टाट गरे,  हिड्नु अघि भने–

“बोलो रामचन्द्र कि ! जय !” 

  उनले पनि भनिन्– “जय !”
 

विरेन्द्र चौधरी
(हाल-निमित्त कार्यलय प्रमुख राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, धनगढी शाखा)
कमेन्ट लोड गर्नुस