सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा २ वटा मुद्धा लागेपछि वडा अध्यक्ष १३ दिनदेखि फरार

२०७७ कार्तिक १, ०२:४१ खबर संवाददाता

धनगढी, १ कार्तिक । कैलालीको कैलारी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष खेमराज चौधरी १३ दिनदेखि फरार रहेका छन् ।

वन अतिक्रमण गरेको र सार्वजनिक हित विपरित काम गरेको भन्दै उनीविरुद्ध २ वटा मुद्धा परेपछि उनी फरार रहेका हुन् ।

डिभिजन वन कार्यालय कैलालीले वन अतिक्रमण तथा वन विनाश गरेको मुद्धामा पक्राउ पूर्जी जारी गरेको छ । जिभिजन वन कार्यालयले असोज १९ गते नै पक्राउ पूर्जी जारी गरेको हो ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कंडेलले वन अतिक्रमण गरेपछि जिल्ला अदालत कैलालीबाट पक्राउ आदेश जारी गरेको बताए । सो घटनाको अनुसन्धानको लागि अनुसन्धान अधिकृत तोकिएको बताउँदै प्रमुख कंडेलले फरार रहेकोले पक्राउ गर्न नसकेको स्वीकार गरे ।

त्यस्तै, वडा अध्यक्ष चौधरी विरुद्ध सार्वजनिक हित विरुद्धको मुद्धा समेत परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव प्रहरी नायव उपरिक्षक प्रतीक बिष्टले सार्वजनिक हित विरुद्धको मुद्धा परेपछि अनुसन्धान थालिएको जानकारी दिए ।

वडा अध्यक्ष चौधरीले जेसिबी मेसिन प्रयोग गरी करिब ०.४ हेक्टर वन क्षेत्र विनाश तथा अतिक्रमण गरेको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पूर्जी जारीपछि वडा अध्यक्ष चौधरी फरार भएपछि वडा कार्यालयको सेवा प्रवाह प्रभावित भएको थियो । उनी फरार भएपछि वडा सदस्य हरिप्रसाद चौधरीले कार्यवाहक तोकिएको वडा सचिव ठागुराम चौधरीले जानकारी दिए ।

 

कमेन्ट लोड गर्नुस