आजदेखि ग्यासको मूल्य बढ्यो, पेट्रोल र डिजेलको घट्यो
काठमाडौँः नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटाएको छ भने एलपी ग्यासको मूल्य बढाएको छ।
समायोजन भएको मूल्य आजदेखि लागू भएको छ। निगमले एक सूचना जारी गर्दै शुक्रबार बिहान १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा १२ रुपैयाँले घटाएको हो। नयाँ मूल्य अनुसार अब पहिलो वर्गका क्षेत्रमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य २२२।५० रुपैयाँ कायम भएको छ।
निगमले हवाई इन्धन र खाना पकाउने एल।पी। ग्यासको मूल्य भने बढाएको छ। हवाई इन्धन (आन्तरिक) तर्फ प्रति लिटर ७ रुपैयाँले वृद्धि हुँदा अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ४६ बढाइएको छ भने एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले बढेको छ। समायोजन पछि अब पुरा सिलिन्डर खाना पकाउने ग्यासको मूल्य २१६० रुपैयाँ पुगेको छ।