सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मठमन्दिरमा पूजापाठ गर्न रोक,भेला भई दशैँको शुभकामना दिन पनि नपाईने

२०७७ कार्तिक १, ०९:१६ खबर संवाददाता

धनगढीः कैलालीमा मठ मन्दिरमा पूजापाठ गर्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै घटस्थापनादेखि दशमी सम्म विभिन्न शक्तिपिठ तथा मन्दिरहरुमा पूजाअर्चना गर्न रोक लगाएको हो।

‘जिल्लाका सबै शक्तिपिठ र मन्दिरहरुमा पुजारीले गर्ने नित्य पूजा/पाठ बाहेकका मानिस भेला जम्मा हुनेगरी कुनै प्रकारका पूजा अर्चना, भजन, किर्तन, वली लगायतका कुनै कार्य नगर्ने/नगराउने।’ प्रशासनद्धारा जारी सूचनामा भनिएको छ।

यस्तै प्रशासनले सामूहिक भेला भएर शुभकामना आदानप्रदानका कार्यक्रम गर्न समेत रोक लगाएको छ। राजनीतिक दल, संघसंस्था, क्लब, समूह र सञ्जालहरुलाई भेला भएर शुभकामना आदानप्रदानमा रोक लगाईएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्दै संक्रमणको जोखिमबाट बच्न समेत जिल्लाबासीलाई अनुरोध गरिएको छ। कैलालीमा स्थानीय प्रशासनले गत भदौँ ४ गतेदेखि १९ गते सम्म निषेधाज्ञा जारी गरेको थियो।

 २० भदौँदेखि निषेधाज्ञालाई केही खुकुलो बनाइएको थियो भने असोज १ गतेदेखि थप खुकुलो पारिएको थियो।

दशैँ तिहारका बेला भीडभाड तथा आवागमन बढ्दा कोरोनाको जोखिम समेत बढ्ने भएकाले स्थानीय प्रशासनले अहिले जारी निषेधाज्ञाको स्वरुप समेत परिवर्तन गर्ने जनाएको छ।

निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दै प्रमुख जिल्ला अधिकारीले आजै अर्को आदेश जारी गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस