सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा दशैँलाई लक्षित गरी निषेधाज्ञाको स्वरुप फेरिदै, प्रजिअको आदेश आउँदै

२०७७ कार्तिक १, ०७:५७ खबर संवाददाता

धनगढीः कैलालीमा दशैँका बेला निषेधाज्ञाको स्वरुप फेरिने भएको छ। दशैँका बेला हुनसक्ने भीडभाडले संक्रमणको जोखिम बढाउने भएकाले अहिले जारी गरिएको निषेधाज्ञाको स्वरुप फेरिने स्थानीय प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले मन्त्रीपरिषद् बैठकले गरेका निर्णय कार्यान्वयन गर्न÷गराउन तथा दशैँ तिहारका बेला हुने जोखिम नियन्त्रण गर्न अहिले जारी निषेधाज्ञाको स्वरुप परिवर्तन हृुने बताए।

प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार जारी गरिएको आदेशको स्वरुप परिवर्तन गरी नयाँ आदेश जारी गर्ने उनले बताए।

अहिले जारी भएको निषेधाज्ञाको स्वरुप परिवर्तन हुने भएपनि प्रमुख जिल्ला अधिकारीबाट कस्तो खालको आदेश आउँछ भन्ने कुरा भन्न नसकिने सूचना अधिकारी जोशीले बताए।

कैलालीमा स्थानीय प्रशासनले गत भदौँ ४ गतेदेखि १९ गते सम्म निषेधाज्ञा गरेको थियो।  २० भदौँदेखि निषेधाज्ञालाई केही खुकुलो बनाइएको थियो भने असोज १ गतेदेखि थप खुकुलो पारिएको थियो।

दशैँ तिहारका बेला भीडभाड तथा आवागमन बढ्दा कोरोनाको जोखिम समेत बढ्ने भएकाले स्थानीय प्रशासनले अहिले जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गरिन लागेको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस