जन्मदिनको अवसरमा पत्रकार भट्टद्वारा सेभ हाउसका किशोरीलाई सहयोग
कैलाली(अत्तरिया): जन्मदिनको अवसरमा कैलालीका पत्रकार हेमराज भट्टले सेभ हाउसका किशोरीलाई सहयोग गरेका छन्। उनले आफ्नो जन्मदिन गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा मनाएका हुन्।
सेभहाउसमा बस्दै आएका १२ जना अनाथ एवं असाहय महिला तथा बालबालिकालाई उनले एक/एक जोर कपडा र सेनेटरी प्याड सहयोग गरेका छन्। अत्तरियामा रहेको गोदावरी एफएममा समाचार प्रमुखको रुपमा कार्यरत भट्ट हरेक वर्ष आफ्नो जन्मदिन सामाजिक कार्य गरेर मनाउँछन्।
सोही क्रममा यसपटक पनि सेभ हाउसलाई सहयोग गरेर जन्मदिन मनाएको पत्रकार भट्टले बताए। ‘पछिल्लो समय सेभ हाउसलाई विभिन्न ठाउँबाट खाद्यान्न सहयोग आएपनि अन्य सहयोग भएको थिएन। त्यसैले त्यहाँ रहेका किशोरी र बालबालिकाहरुको समस्यालाई बुझेर सेनेटरी प्याड र एक/एक जोर नयाँ लुगा सहयोग गरेको हुँ’ उनले भने।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सेभ हाउसकी अध्यक्ष जानकी मलासीले सेभ हाउसमा रहेका किशोरीहरुको समस्यालाई बुझेर सरसफाईका सामग्री सहयोग गरेकोमा आभार प्रकट गरीन। उनले आगामी दिनहरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेको बताइन्।
गोदावरी नगरपालिका वडा नम्बर २ तेघरी घर भएका पत्रकार भट्ट विगत ६ वर्षदेखि अत्तरिया क्षेत्रमा सक्रिय रुपमा पत्रकारिता गरिरहेका छन्।