सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पुगेको नेपाल पत्रकार महासंघको मिसन टोली छलफलमा व्यस्त

२०७७ असोज ४, ०७:०१ खबर संवाददाता

धनगढी:  दिनेश सञ्चारगृह र पत्रकारमाथि भएको आक्रमणबारे अध्ययन गर्न नेपाल पत्रकार महासंघको मिसन टोली धनगढी पुगेको छ।

महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोली घटना सम्बन्धी अध्ययनका लागि आज बिहान धनगढी पुगेको हो। मिसन टोलीले आजैदेखि दिनेश सञ्चार गृहसँगै कैलालीमा पत्रकारमाथि भएका आक्रमणका घटनाका विषय अध्ययन सुरु गरेको छ। आज पत्रकार महासंघ कैलाली शाखामा पत्रकारहरुसँग छलफल गरिएको मिसन टोलीमा रहेका नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष अर्जुन शाहले जानकारी दिए। 

‘मिसन टोलीले दिनेश सञ्चार गृह, मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत्यु भएका रोशन विकका परिवारसँग पनि भेटघाट र छलफल गरेको छ’ शाहले भने। 

मिसन टोलीका संयोजक समेत रहेका पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारमाथि आक्रमण गरेको घटनाबारे अध्ययनका लागि टोली कैलालीको आएको बताए। ‘द्धन्द्धकालमा समेत सञ्चारमाध्यममै प्रवेश गरी आक्रमणका घटना भएका थिएनन्’ उनले भने, ‘दिनेश सञ्चार गृहमा भएको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण मात्र नभएर मिडियामाथिको जघन्य अपराध हो।’

विष्टले पत्रकारमाथि हुने भौतिक आक्रमण कुनै पनि हालतमा स्वीकार्य नहुने बताउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले मिसन टोलीले घटना सम्बन्धीको प्रतिवेदन सार्वजनिक गरी तीन तहका सरकारलाई बुझाउने जानकारी दिए। 

मिसन टोलीमा महासचिव विष्टसहित सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य मिन बम र उत्तर विष्ट, प्रदेश अध्यक्ष अर्जुन शाह, कैलाली अध्यक्ष जगत साउँद लगायत सहभागी छन्। गत भदौँ २६ गते दिनेश सञ्चार गृहमा प्रवेश गरेको एक समूहले सहसम्पादक जनक विष्टमाथि कुटपिट गरेको थियो भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिहमाथि दुव्र्यवहार गरेको थियो। 

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीका आधारमा हिरासतमा धनगढीका १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचारको विषयलाई लिएर उनीहरुले सञ्चार गृहमै आक्रमण गरेका थिए। सञ्चार गृहमाथि आक्रमण गर्दै पत्रकारलाई कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ कैलाली शाखाको अगुवाईमा आन्दोलन जारी छ। प्रहरीले आक्रमण र कुटपिटमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। अन्यको खोजी भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस