पत्रकारमाथि भएको आक्रमणबारे अध्ययन गर्न महासंघको टोली धनगढी आउने
धनगढी– दिनेश सञ्चारगृह र पत्रकारमाथि भएको आक्रमणबारे अध्ययन गर्न नेपाल पत्रकार महासंघको टोली धनगढी आउने भएको छ। महासंघले विज्ञप्ती जारी गर्दै पत्रकारमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाइएको घटनाहरूबारे स्थलगत अध्ययनका लागि महासंघको अध्ययन टोली धनगढी पठाउने निर्णय भएको जानकारी दिइएको छ।
दिनेश एफएमका पत्रकारमाथि अन्धाधुन्ध आक्रमण गरी घाइते बनाइएको घटनासहित कैलालीमा भएका प्रेस स्वतन्त्रता हननका घटनाहरूबारे स्थलगत अध्ययनका लागि नेपाल पत्रकार महासंघले अध्ययन टोली धनगढी पठाउने जनाएको छ।
महासंघका महासचिव रमेश विष्टको नेतृत्व रहेको टोलीमा सचिव रामप्रसाद दाहाल, सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, कैलाली अध्यक्षलगायत सहभागी हुनेछन्। टोलीले घटनाका सम्बन्धमा स्थलगत रूपमा अध्ययन गरी पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकारवाला, पत्रकार लगायतसँग छलफल गरी सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ।