धनगढीमा कोरोना संक्रमितको उपचारका लागि ५ जनाले गरे प्लाज्मा दान
धनगढी– प्लाज्मा थेरापीका लागि कोरोना संक्रमणमुक्त भएकाहरुले ‘प्लाज्मा दान’ गरेका छन्। सेती प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापी मार्फत कोरोना संक्रमितको उपचार गर्नका लागि पाँच जनाले प्लाज्मा दान गरेका हुन्।
दान गरिएको रगतबाट प्लाज्मा निकालेर रेडक्रसले सुरक्षित राख्ने र आवश्यक पर्दा संक्रमितलाई चढाईनेछ। संक्रमण निको भएका प्लाज्मा दान गर्ने पाँच जनालाई धन्यवाद ज्ञापन गर्दै सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रदेशका नौँ वटै जिल्लामा प्लाज्मा थेरापीका लागि रगत संकलन केन्द्र स्थापनाका लागि पहल गर्ने बताए।
सेती प्रादेशिक अस्पतालका कोभिड–१९ उपचार विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले गम्भीर प्रकृतिका बिरामीको मात्र थेरापी गरिने बताए। उनले भने, ‘कोरोना जितेका व्याक्तीहरुको रगत संकलन रेडक्रसले गर्ने छ। संक्रमण मुक्त भएको १४ दिन पछि रक्तदान गर्न सकिने छ।’ कोरोना भाईरसका गम्भिर बिरामी देखिए नेपाल रेडक्रस सोसाईटी कैलालीसंगको सहकार्यमा सेती प्रादेशिक अस्पतालले प्लाज्मा थेरापी गर्नेछ।
संक्रमित भएर निको भएका व्यक्तिको शरिरमा बनेको एन्टिबडी संक्रमित व्यक्तिलाई प्लाज्मा चढाउँदा कोरोना भाइरसलाई मार्ने र संक्रमित व्यक्ति निको हुने दावी गरिएको छ। कोरोना निको भएका व्यक्तिको शरीरमा भाइरससँग लड्न एन्टिबडी उत्पादन भएको हुँदा प्लाज्मा छुट्याएर संक्रमित बिरामीलाई प्लाज्मा चढाउने गरिएको छ।