सुदूरपश्चिममा वैशाख महिनामा मात्रै ५८ जनाले गरे प्राण त्याग
धनगढीः सुदूरपश्चिम प्रदेशमा वैशाख महिनामा मात्रै ५८ जनाले प्राण त्याग गरेका छन्।
प्रदेशमा एक महिना अर्थात् वैशाख महिनामा मात्रै ५८ जनाले आत्महत्या गरेर प्राण त्यागेको प्रहरी तथ्याङ्क छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार सार्वजनिक गरेको वैशाख महिनाको प्रगति विवरण अनुसार दैनिक औसतमा करिब २ जनाले आत्महत्या गर्ने गरेको देखिएको छ।
आत्महत्या गर्नेमध्ये झुन्डिएर ५३ जना र विष सेवन गरेर ५ जना रहेको प्रहरी नायव उपरीक्षक दीपेन्द्र कुमार पालले बताए। उनका अनुसार आत्महत्या गर्नेमा २१ देखि ३० वर्ष उमेर समूहका धेरै छन्। सो समूहका मात्रै २३ जनाले आत्महत्या गरेका छन्।
त्यस्तै १० देखि २० वर्ष उमेर समूहका १४ जना, ३१ देखि ४० वर्ष उमेर समूहका ८ जना, ४१ देखि ४० वर्ष उमेर समूहका २ जना र ५० देखि माथिका ११ जना रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदम बहादुर विष्टले डिप्रेसन, आर्थिक लेनदेन, असफलता, प्रेम सम्बन्ध आदी कारणले आत्महत्या गर्ने गरेको पाइएको बताए। उनले प्रहरीले मिसिलमै आत्महत्याको कारण उल्लेख नगरे पनि पछि अनुसन्धानका क्रममा कारणको जानकारी लिने गरेको बताए।
‘पढाइमा नम्बर आएन भनेर पनि केही दिन अघि गोदावरीमा २ जनाले आत्महत्या गरे। कतिपयले घरायसी समस्याका कारण पनि आत्महत्या गरिरहेका हुन्छन्’ उनले भने ‘कुनै काममा असफल भएपछि, प्रेम सम्बन्ध लगायतका कारण देखिने गरेका छन्।’ साना नानी बाबुहरूले आफ्नो भनेअनुसार अभिभावकले नगर्दा पनि आत्महत्याका घटना हुने गरेको पाइएको उनले बताए।
उनले आत्महत्या रोक्नका लागि प्रहरीले पनि सचेतनाका कार्यक्रम गर्दै आएको बताउँदै यसको रोकथामका लागि काउन्सिलिङ एकदमै आवश्यक पर्ने बताए। केही व्यक्ति डिप्रेसनमा गएमा वा आफूहरूको सम्पर्कमा आए सम्झाउने, नगरपालिकामा राखेका काउन्सिलरसँग भेटाउने काम गर्ने गरेको उनले बताए। उनले विद्यालयहरूमा पनि आत्महत्या रोकथामका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्ने गरेको बताए। सुदूरपश्चिममा आत्महत्या गर्नेको तथ्याङ्क भयावह देखिएको छ।