सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको साँफेबगरमा बोलेरो जिप दुर्घटना, चालकसहित पाँच जना घाइते

२०८३ जेठ ६, १०:३४ खबर संवाददाता

धनगढीः अछामको साँफेबगर नगरपालिका–२ स्वाँरबाडास्थित पहलमान सिंह स्वाँर मार्गमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्।

बुधवार बिहान करिब ६ः५० बजे धनगढीबाट बाजुरातर्फ जाँदै गरेको से १ ज ५४१ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीको भनाइ छ।

दुर्घटनामा बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ निवासी चालक टेकेन्द्र रावत घाइते भएका छन्। उनको बाँया खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी बाजुराको बुढीगंगा नगरपालिका–५ की करिब ४१ वर्षीया देबु खातीको छातीमा चोट लागेको छ। सोही स्थानका ५३ वर्षीय नृप खातीको दाहिने हात र बाँया आँखामा चोट लागेको छ।

बुढीगंगा नगरपालिका–९ की ३४ वर्षीया उज्जला सेरेलाको बाँया खुट्टामा चोट लागेको छ भने ८० वर्षीया बैरागी सेरेलाको छाती र नाकमा चोट लागेर उनी बेहोस अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घाइते सबैलाई उपचारका लागि इलाका प्रहरी कार्यालय साँफेबगरको गाडीमार्फत बयलपाटा प्रादेशिक अस्पताल पठाइएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी नायब निरीक्षक देबेन्द्र कुँवरको कमाण्डमा आठ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। जिप सडकभन्दा तल खसेकाले यातायात आवागमन भने प्रभावित नभएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

कमेन्ट लोड गर्नुस