कैलालीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने पुरुष पक्राउ
धनगढी : कैलाली प्रहरीले धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएका एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको कैलारी गाउँपालिका –५ का ४८ वषीर्य पुरणप्रसाद कुमाल रहेका छन्।
कुमाल २०६१ सालको कार्तिक ७ गते सोही ठाउँकै २३ वर्षीय रामबहादुर कुमालको हत्या गरी फरार भएका थिए। राति घरमा सुतेका बेला धारिलो हतियार प्रहार गरी हत्या गर्ने कुमाललाई पुर्पक्षका लागि कारागार पठाइएकोमा उनी २०६१ सालकै माघ १० गते कारागारबाट फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए।
फरार रहेका पुरणप्रसाद कुमाललाई सोमबार घरबाटै पक्राउ गरी कैलाली जिल्ला अदालतमा दाखिला गरिएको डिएपी विष्टले बताए। निजलाई २०६५ साल जेठ २० गते कैलाली जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको प्रहरीले जनाएको छ।