सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारद्धारा चार महिनापछि धनगढीमा प्रयोगशाला स्थापना

२०७७ साउन २७, ११:२२ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको चार महिनापछि धनगढीमा पीसीआर मेसिन जडान गरेको छ।

गत चैत १५ गते बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले धनगढी सहित डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। चार महिनापछि प्रदेशको अस्थायी राजधानी धनगढीमा पीसीआर मेसिन जडान गर्दै प्रयोगशाला स्थापना गरिएको हो।

प्रयोगशालाको आज मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे। सेती प्रादेशिक अस्पताल मातहत रहने गरी स्वास्थ्य कार्यालय कैलालीको भवनमा स्थापना गरिएको प्रयोगशालाको औपचारिक कार्यक्रमकाबीच मुख्यमन्त्री भट्टले उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले अब दैनिक एक हजार दुर्ई सय बढिको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न सकिने बताउँदै चाडै परीक्षण थाल्न निर्देशन दिएका छन्। ‘लकडाउनका बेला सुदूरपश्चिमका पाँच जनामा कोरोना देखियो। प्रेसर थियो। दोस्रो चरणमा पनि सुदूरपश्चिममा धेरै थिए। सुदूरपश्चिमबाटै देशभर कोरोना फैलिने भन्ने कुरा गरियो।’ उनले भने।

प्रदेश सरकारले चार महिनापछि निर्णय कार्यान्वयन गर्दै प्रयोगशाला स्थापना गरेका बेला धनगढी र डडेल्धुरामा गरी दुईवटा पीसीआर मेसिनबाट कोरोना परीक्षण भईरहेको छ।

धनगढीको पशुपन्छी अन्वेषण प्रयोगशालामा जडान गरिएको पीसीआर मेसिन संघिय सरकारले पठाएको हो भने डडेल्धुरा अस्पतालमा जनस्तरबाट अभियान थालेर मेसिन खरिद गरिएको थियो।

सुरुमा सेती अस्पतालमा जडान गरिएको मेसिनबाट परीक्षण गरिएकोमा अहिले बन्द छ भने अब फेरी पुशपन्छी अन्वेषण प्रयोगशालाबाट कोरोना परीक्षण बन्द गर्दै स्वास्थ्य कार्यालयको भवनमा स्थापना गरिएको नयाँ प्रयोगशाला मार्फत कोरोना परीक्षणको तयारीमा प्रदेश सरकार छ।

दैनिक एक हजार दुई सय बढिको परिक्षण गर्ने क्षेमता प्रयोगशालाको छ।

तर १० जनाको मात्र जनशक्ति भएकाले एक हजार समेत सम्भव नभएको प्रयोगशाला इञ्चार्ज रमेश शाहीले बताए। ‘आवश्यक जनशक्तिको व्यवस्थापन भए मात्र दुवै प्रयोगशाला मार्फत दैनिक स्वाब परीक्षण गर्न सकिने छ।’ शाहीले भने। डोटी र बैतडीमा समेत प्रयोगशाला स्थापनाको कार्य भईरहेको प्रदेश सरकारले जनाएको छ

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस