सुदूर नेपाललाई विश्वसँग जोड्दै

म दुई वर्षपछि घर फर्कन्छुः प्रम ओली

फाइल फोटो
फाइल फोटो
२०७७ साउन १९, १०:५३ रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले आज भक्तपुरको बालकोटस्थित आफ्नो निजी निवासमा आएर विभिन्न व्यक्तित्वसँंग भेटघाट गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री ओली बालुवाटारमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँंगको छलफलपछि अपराह्न बालकोटस्थित निजी निवासमा गएका हुन्।

धर्मपत्नी राधिका शाक्यसहित बालकोट पुगेका प्रधानमन्त्री ओलीले आफ्नो नयाँ घरमा बन्दै गरेको सङ्ग्रहालयको अवलोकन गरे। आफ्नो सम्पत्ति ट्रष्टलाई दिने घोषणा गरिसकेका प्रधानमन्त्री ओलीको जीवनकालका बिभिन्न पक्ष समेटिएको विषय, तस्वीर, पुस्तक र  महत्वपूर्ण दस्तावेजलाई पत्नी शाक्यले सङ्ग्रह गरी सङ्ग्रहालयका रूपमा गरेको व्यवस्थापनको उनले अवलोकन गरेका सांसद महेश बस्नेतले जानकारी दिए। 

त्यसक्रममा प्रधानमन्त्री ओलीले अब अढाइ वर्षपछि मात्रै आफू स्थायी बसोबासका लागि बालकोट फर्किने बताए। नेकपाका नेता एवं पूर्वसञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बास्कोटाको जिज्ञासामा प्रधानमन्त्री ओलीले अब अढाइ वर्षपछि मात्र घर फर्कन्छु भनेर जवाफ दिँदै बाँकी साढे दुई वर्ष आफैँले सरकारको नेतृत्व गर्ने सङ्केत दिए।

प्रधानमन्त्री ओलीले पूर्वमन्त्री बास्कोटा र बस्नेतसँग राजनीतिक छलफलसमेत गरेका थिए। जनताको विश्वासलाई कायमै राख्न पनि पार्टीका अर्का अध्यक्ष दाहालसंँगको छलफल सहमतिमा टुङ्गिने प्रधानमन्त्रीले विश्वास लिएको नेकपाका केन्द्रीय सदस्य बस्नेतले जानकारी दिए। मुलुक र जनताको हितका लागि जतिसक्दो छिटो सहमतिमा पुग्नु आवश्यक रहेको प्रधानमन्त्रीले बताएकाक उनले जानकारी दिए। 

“जेरी खाएर छुट्टियौँ, जेरी मीठो थियो, कहिले जेरी खुवाएर, कहिले तीतेकरेला खुवाएर कुरा गर्नुपछ”, बालुवाटारमा आज अध्यक्ष  दाहालसँग  छलफल गरी आफ्नो घर बालकोट आउनुभएका प्रधानमन्त्री ओलीलाई उद्धृत गरी सांसद बस्नेतले बताए। 

बालकोट निवासमा प्रधानमन्त्रीले भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापा, नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति कर्णेल शिवप्रसाद पौडेल, सशस्त्र प्रहरी दुवाकोट भक्तपुरका प्रमुख र राष्ट्रिय अनुसन्धान भक्तपुरका प्रमुखलगायतको टोलीसंँग भक्तपुरको शान्ति सुरक्षाबारेमा जिज्ञासा राखेका थिए। 

प्रधानमन्त्रीले हनुमन्ते करिडोर निर्माणबारे पनि चासो राखे।  कोरोना भाइरस सङ्क्रमण रोक्न तथा शान्ति सुरक्षा मजबुत बनाउन भक्तपुरका सांसद र प्रशासनले खेलेको भूमिकाप्रति आफू सन्तुष्ट रहेको उनले बताए। 

प्रधानमन्त्री भएपछि तेस्रो पटक बालकोटस्थित निजी निवास पुगेका उनी यसअघि माघ १६ मा वसन्तपञ्चमीको दिन पुगेका थिए। दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि भने उनी आज पहिलो पटक निजी निवास बालको पुगेका हुन्। प्रधानमन्त्री दम्पती आफ्नो निवास र करेसाबारी निरीक्षणसमेत गरेर करीब एक घण्टा बसेर बालकोटबाट बालुवाटार फर्केको थियो।

कमेन्ट लोड गर्नुस