सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा खुडे ओठको उपचार निसर्ग हस्पिटलमा

२०७७ साउन १६, ०७:४६ खबर संवाददाता

धनगढी: डोटीको आदर्श गाउँपालिकाकी राधीकाकुमारी खड्काले नौ महिना पहिले सन्तानको रुपमा छोरीलाई जन्म दिइन। सन्तान जन्मिएको खुशीभन्दा छोरीको माथिल्लो ओठको बिचमा चिरा परेको देखेपछि खड्का दम्पती निकै चिन्तित भए। 

राधिका र उनका श्रीमान तिर्थलाई के गर्ने र कसो गर्ने भन्ने पिर पर्यो। डाक्टरले ३ महिनापछि बच्चाको ओठको अप्रेसन गरेर मिलाउन सकिने बताए। डाक्टरको कुराले उनीहरुलाई राहतभन्दा पनि भारतमा बसिरहेका तिर्थ र राधिकालाई किन र के कारणले यस्तो भएको होला ? भन्ने पिरले पिरोल्यो। यस्तै चिन्ताका बीच नेपाल फर्किएका खड्का दम्पति कोरोना माहामारीका कारण भारत फर्कन सकेनन्। के गर्ने र कसो गर्ने भन्ने चिन्ताकै बीच अहिले उनीहरुको बच्चाको उपचार निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले गरेको छ। सुदूरपश्चिममा पहिलोपटक खुडे (अभिात ष्उि)को यति ठूलो उपचार निसर्ग अस्पतालमा सम्भव भएको हो।

कसरी गरियो ? 
अस्पतालले बच्चालाई सुरक्षा मापदन्ड प्रोटोकल पुरा गरेर अप्रेसन गरेको हस्पिटलका अध्यक्ष तीर्थ पन्तले बताए। अस्पतालले पोष्ट अप्रेसन युनिटसहितको सुबिधा सम्पन्न ठाउँमा राखेर बच्चाको उपचार गरेको थियो। पेडियाट्रिक केयर सिस्टम अन्तर्गतको नेपालकै पहिलो पेडियाट्रिक ओरल एण्ड म्याग्जिलोफेसियल सम्बन्धी छुट्टै युनिट निसर्गममा स्थापना भएको हो।

बच्चाको जिब्रो जोडिएको, हेमान्जियोमा, चोटपटकहरु , संक्रमित घाउहरु घाँटी, अनुहार तथा मुखको सम्पूर्ण सल्यक्रिया अस्पतालले गरिरहेको अस्पताल प्रशासनले जनाएको छ। त्यसैले बालिकाको उपचार वरिष्ठ मुख,अनुहार तथा बंगारा विशेषज्ञ डा दिपक ठकुराठी, एनेस्थेसियोलोजिस्ट डा. हेमन्त ओझा, बरिस्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ डा. दिपक पौडेल, नाक कान घाँटी तथा हेड एण्ड नेक सर्जरी बिशेषज्ञ डा.अजय वैश्य लगाएतको टिमले गरेको हो। 

मानव शरीरमा देखा पर्ने जन्मजात खोटमध्ये ओठ–तालुको खुडेपन दोस्रो मुख्य भएको चिकित्सकहरु बताउँछन । यो गर्भावस्थामा बच्चा बन्ने क्रममा विभिन्न कारणले ओठ तथा मुख बनाउने अंग (मेडिएन न्याजल प्रोसेस र प्यालटाइन प्रोसेस अफ म्याग्जीला) मा खराबी आइदिनाले हुन्छ। संसारमा करिब सात सय जनामध्ये एक जनामा यस किसिमको समस्या हुने गरेको चिकित्सकहरु बताउँछन्।

नेपालको सन्दर्भमा एक हजार शिशुमध्ये १ दशमलव ६४ जना यस किसिमको खोटले ग्रसित भएको निसर्ग अस्पतालले जनाएको छ। हाम्रो मुलुकमा झण्डै ५० हजार जना ओठ–तालुको खुडेपनबाट ग्रसित भएको बताइन्छ। खुँडे ओठ पुरूषमा बढी र खुँडे तालु महिलामा बढी भएको एक तथ्यांकले देखाउँछ। 

खुडेपन वंशाणुगत तथा वातावरणीय वा कुनै अज्ञात कारणले हुने चिकित्सकहरुको भनाइ छ। सन् २०१० देखि २०११ सम्ममा पाकिस्तानमा गरिएको एक अध्ययनअनुसार करिब १८ प्रतिशत समस्या गर्भावस्थामा धेरै ज्वरो आउने, छारे रोगको उपचारमा प्रयोग हुने सोडियम भाल्प्रोएट नामको औषधिको सेवन र वंशाणुगत गुणको कारण हुने गरेको पाइएको छ। ८२ प्रतिशतको कारण अज्ञात नै रहेको पाइएको छ।

खुँडे ओठ र खुँडे तालु हुनुका अन्य कारणहरूमा फोलिक एसिड र भिटामिन ‘ए’ को कमी, रुबेला भाइरसको संक्रमण र अक्सिजनको अभाव, रक्सी तथा चुरोट सेवन, एक्सरे विकिरण भएको चिकित्सकहरु बताउँछन्। निसर्गमा उपचार गरिएकी बालिकाको अबस्था अहिले राम्रो रहेको हस्पिटलका अध्यक्ष तिर्थ पन्तले बताए।

कमेन्ट लोड गर्नुस