सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा प्रधानमन्त्री रोजगार कार्यक्रममा फर्जी हाजिर बनाई कार्यकर्तालाई ज्याला

२०७७ असार ३१, ११:३१ जनक विष्ट

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत वडा नम्बर ५ को बरबट्टामा नौ लाख ७० हजार लागतमा बाटो निर्माण गरेको छ। उपभोक्ता समिति मार्फत निर्माण भएको उक्त बाटोमा काम गरेका स्थानीयलाई नगरपालिकाले दैनिक ६ सयका दरले ज्यालादारी दिने भनेको थियो।

बाटो निर्माणमा सहभागी भएकाहरुलाई १० दिनको काम गरे वापत १५ दिनको डोर हाजिरी लगाएर ज्याला दिईएको छ। उपभोक्ता समितिका अध्यक्ष स्वयंमले समेत प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक रामलाल भट्टले सम्झौता गर्ने बेला नै गरेको समझदारी अनुसार १० दिन काम गरी १५ दिनको ज्याला दिईएको स्वीकार गरेका छन्।

‘सुरुमै रोजगार संयोजक ज्यूले छिटो–छिटो काम गर्नुहोला १० दिन काम गरेपनि १५ दिनको हाजिर लगाएर ज्याला दिने भनेका थिए।’ उपभोक्ता समितिका अध्यक्ष दीपक नेपालीले दिनेश खबरसँग भने, ‘सोही अनुसार १५ दिनको ज्याला पाईसक्यौँ।’

यसअघि रोजगार संयोजक भट्टले सुरुको समझदारी अनुसार ज्याला भुक्तानी नदिएर आर्थिक अनियमितता गरेको भन्दै उनीहरुले विरोध गरेका थिए। नगरपालिकाले १० दिनको ज्याला दिएर पाँच दिनको डोर हाजिरी देखाएर अनियमितता गरेको आशंका उनीहरुको थियो।  

नगरपालिकाले त्यती मात्र नभएर बाटो निर्माणको काममा सहभागी नै नभएका स्थानीयको हाजिर देखाएर समेत भुक्तानी दिएको छ। काम नै नगरेकाहरुलाई फर्जी हाजिरी देखाएर ज्याला दिएपछि झनै विरोध भएको छ। तर स्थानीय स्तरमै विवाद सामसुम पार्न उनीहरुबाट रकम फिर्ता माग्ने समझदारी गरिएको छ।

यता  गोदावरी नगरपालिकाका रोजगार संयोजक हरीलाल जोशीले भने उपभोक्ता समितिकै अध्यक्षकै सिफारिसका आधारमा भुक्तानी दिईएको दावी गरेका छन्। उनले स्थानीयसँग थप काम गर्ने सहमती गर्दै विवाद मिलाईएको बताए।  

गोदावरी नगरपालिकामा चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ३३ लाख बजेट आएको थियो। उक्त बजेटमा भौतिक पूर्वाधारका योजना कार्यान्वयन गरिएको भएपनि अधिकांशमा फर्जी हाजिरी र विल बनाएर भुक्तानी दिईएको आरोप लागेको छ।

नगरपालिकाका जनप्रतिनिधिहरुले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कार्यकर्ता खुसी बनाउन फर्जी हाजिर देखाएर काम नगरी ज्यालाका नाममा बजेट वितरण गरेको दावी समेत गरिएको. छ। 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस