सुदूर नेपाललाई विश्वसँग जोड्दै

यातायात श्रमिकको स्वास्थ्यलाई ध्यान दिन आग्रह

फाइल फोटो
फाइल फोटो
२०७७ असार २७, ०८:४५ रासस

यातायात व्यवसायी तथा यातायात मजदूरहरुले यातायात क्षेत्रका श्रमिकको स्वास्थ्यलाई ध्यान दिन सरकारलाई आग्रह गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात मजदूर सङ्घ, अखिल नेपाल यातायात मजदूर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनको आज महासङ्घको केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकले सवारी सञ्चालन कार्यविधि बनाएर सार्वजनिक सवारीसाधन सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण चैत १० गतेदेखि देशभरका लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। महासङ्घका महासचिव सरोज सिटौलाले श्रमिकको आधारभूत स्वास्थ्य र सुरक्षाका विषयमा यातायात व्यवसायीका न्यूनतम मागलाई सम्बोधन नगरीकन सरकारले यातायात सञ्चालन गर्ने निर्णय गरेकाले यथास्थितिमा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न नसकिने जानकारी दिए।

“बन्दाबन्दीपछि सार्वजनिक सवारीसाधन सञ्चालन विधि र प्रक्रियाका बारेमा सरोकारवालासँग छलफल चलिरहेको बेला सरकारले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णयले सर्वत्र अन्योल सिर्जना गरेको छ”, महासचिव सिटौलाले भने।

बैठकले सरकारसँग आवश्यक छलफल गरी समस्यालाई समाधान गर्नका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य र तीनवटै मजदूर सङ्गठनका  अध्यक्षसमेत रहेको कार्यदल गठन गरेको छ।

कार्यदलले लामो तथा छोटो दूरीमा चल्ने सम्पूर्ण सवारीसाधन सुरक्षित रुपमा सञ्चालन गर्नका लागि आवश्यक पहल कदमी गर्ने बताइएको छ।
 

कमेन्ट लोड गर्नुस