गौरीगंगाका क्वारेन्टिनलाई सरसफाई सामाग्री सहयोग
मसुरिया : कैलालीको गौरीगंगा नगरपालिकाका क्वारेन्टिनहरुमा सरसफाई सामाग्री सहयोग गरिएको छ। नगरपालिकाका ८ वटा वडाका विद्यालयमा व्यवस्थापन गरिएका क्वारेन्टिनमा स्वास्थ्य सामाग्री वितरण गरिएको हो।
प्रवासमा रहेका नगर क्षेत्रका युवाहरुले २० हजार रकम संकलन गर्दै क्वारेन्टिनमा आवश्यक पर्ने चार सय ३५ वटा साबुन, शौचालय सफाई गर्ने हार्पिक र फिनायल वितरण गरिएको हो। कोरोना भाइरसको संक्रमण फैलिने भन्दै भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा राखिएको छ। उनीहरुका लागि आवश्यक सरसफाईका सामाग्रीको समस्या भएपछि युवाहरुले रकम संकलन गर्दै वितरण गरेका हुन्।
युवाहरु दिपक आचार्य, प्रकाश परियार, डिल्लीराज कोईराला र टेक खत्रीले सामान खरिदका लागि रकम पठाएका हुन्। बिष्णु भुसाल, प्रकाश परियार, हेमराज जोशी, मिनल पराजुली, गणेश भुसाल र श्याम चौधरीको समूहले क्वारेन्टिनमा पुगेर सरसफाईका सामाग्री हस्तान्रण गरेको हो।