धनगढी प्रयोगशालाका लागि दुईजना ल्याब टेक्नोलोजिष्ट छनौट
धनगढी : सेती प्रादेशिक अस्पतालले संघिय सरकारको समन्वयमा धनगढीमा सञ्चालन गरेको कोरोना परीक्षण प्रयोगशालाका लागि दुई जना ल्याब टेक्नोलोजिष्ट छनौट गरेको छ।
अस्पतालले आह्वान गरेको आवेदन अनुसार परेका दरखास्तबाट दुई जना ल्याब टेक्नोलोजिष्टलाई छनौट गरिएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार अस्पतालले माग गरेको आवेदन अनुसार चार जनाले दरखास्त दिएकोमा अन्तरवार्ता बोर्डले दुईजनालाई छनौट गरेको हो।
यसरी छनौट हुनेमा ल्याब टेक्नोलोजिष्ट रेनुका ज्ञवाली र सुनिल बहादुर सिह रहेका छन्। छनौट भएकाहरुलाई जेठ ३२ गते भित्र नियुक्तीका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क राख्न आग्रह गरिएको छ।
दुईजना ल्याब टक्नोलोजिष्ट थपिएमा धनगढी प्रयोगशालामा तत्काल जनशक्ति अभावका कारण भईरहेको समस्या केही समय सम्म हल हुने विश्वास गरिएको छ। अहिले प्रयोगशालामा पाँच जना प्राविधिक कर्मचारी भएका कारण नमुना परीक्षणमा ढिलाइ भईरहेको छ।
प्रयोगशालामा अब थपिने कर्मचारीको सेवासुविधा भने संघिय सरकार मातहत रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले व्यहोर्ने समझदारी भएको सेती अस्पतालले जनाएको छ।