सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया उद्योग वाणिज्य संघमा कमल कडायतको नेतृत्वमा नयाँ कार्यसमिति चयन

२०८३ असार ३०, ०५:२४ खबर संवाददाता

अत्तरिया: अत्तरिया उद्योग वाणिज्य संघको चौथो निर्वाचन सम्पन्न भएसँगै नयाँ कार्यसमिति चयन भएको छ। आइतबार सम्पन्न मतदानको अन्तिम मतपरिणाम सोमबार साँझ सार्वजनिक गर्दै निर्वाचन समितिले अध्यक्षमा कमल कडायत निर्वाचित भएको घोषणा गरेको हो।

अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा कमल कडायतले ४०६ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी रमेश भट्टराईलाई २९ मतको अन्तरले पराजित गरे। भट्टराईले ३७७ मत प्राप्त गर्दा अर्का उम्मेदवार नैनसिंह कार्कीले ९० मत पाए।

यस निर्वाचनमा अध्यक्षसहित तीन प्यानल तथा वरिष्ठ उपाध्यक्षसहित एक प्यानल चुनावी मैदानमा थिए। निर्वाचन परिणामअनुसार कडायत प्यानलबाट ९ जना उम्मेदवार विजयी भएका छन् भने भट्टराई प्यानलबाट कोषाध्यक्ष र एक सदस्य गरी दुई जना निर्वाचित भएका छन्।

उद्योग उपाध्यक्षमा धना देवी चोखाल २७६ मतसहित विजयी भइन्। उनका प्रतिस्पर्धी भिस्मा खड्काले २५१, लोकराज ओझाले २४१ र सूर्यकुमार गौतमले ९८ मत प्राप्त गरे। वाणिज्य उपाध्यक्षमा गणेश बोगटी ३८२ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी बिरेन्द्रबहादुर विष्टले २५३ मत प्राप्त गर्दा लक्ष्मणबहादुर धामीले १३३ र पूर्णप्रसाद चौलागाईंले ९१ मत पाए।

बस्तुगत उपाध्यक्षमा बासुदेव पन्त ३०३ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी समीर गिरीले २९३ मत, खेमराज सापकोटाले १३९ र लहानु चौधरीले ११० मत प्राप्त गरे। महासचिव पदमा गम्भीर साउँद ३६२ मतसहित निर्वाचित भए। गोकुल भट्टले ३१८ मत प्राप्त गर्दा अनिल सिंहले ९२ र प्रकाश कुँवरले ८० मत पाए।

कोषाध्यक्ष पदमा भने रमेश भट्टराई प्यानलका दिपेन्द्रराज अवस्थी ३६३ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी बालकृष्ण ओझाले ३३३ मत प्राप्त गरे। दीपकप्रसाद न्यौपानेले ९२ र रामदत्त भट्टले ७९ मत पाए। सचिव पदमा धिरेन्द्र बोहरा २६९ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी राजन सिजापतीले २६४ मत प्राप्त गर्दा दीपकराज भट्टले २३८ र मनोजराज दमाईले ६४ मत पाए।

सदस्य पदमा कडायत प्यानलका शेखर पनेरु (३९४ मत), धनश्याम जोशी (३६८ मत) र डिल्लीराज ओझा (३४४ मत) विजयी भए। भट्टराई प्यानलबाट लक्ष्मीराज ओझा ३१९ मतसहित सदस्यमा निर्वाचित भए।

संघमा कुल १ हजार २४ मतदाता रहेकामा आइतबार भएको निर्वाचनमा ९६४ जनाले मतदान गरेका थिए। लामो समयदेखि विभिन्न विवादका कारण प्रभावित बनेको अत्तरिया उद्योग वाणिज्य संघले नयाँ नेतृत्वसँगै संस्थागत सुधार, व्यवसायीको हित संरक्षण र संघलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।

 

कमेन्ट लोड गर्नुस