सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका १४ संक्रमितलाई पनि सेती अस्पताल ल्याईदै, शैया अभाव हुने

२०७७ जेठ १९, ०७:१५ खबर संवाददाता

धनगढी : कैलालीमा आज थपिएका १४ जना संक्रमितलाई पनि उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याईने भएको छ।

आज संक्रमण पुष्टि भएका धनगढी उप–महानगरपालिका, गौरीगंगा नगरपालिका र बर्दगोरियाका उनीहरुलाई आईसोलेसनमा राखेर उपचार गर्न धनगढी ल्याउन लागेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले अन्य अस्पतालमा पर्याप्त आईसोलेसन शैया नभएकाले धनगढी ल्याउन लागिएको जानकारी दिए। १४ जना संक्रमितलाई सेती प्रादेशिक अस्पताल ल्याएमा आईसोलेन वार्डमा शैयाको अभाव हुने देखिएको छ।

अहिले ९ जना संक्रमित र दुई जना शंकास्पद विरामी सहित ११ जनालाई अस्पतालको आईसोलेसनमा राखिएको छ। १४ जनालाई पनि सेतीमै ल्याएपछि संक्रमित र सम्भावित विरामीको संख्या २५ पुग्ने भएपनि अस्पतालसँग २४ शैयाको आईसोलेसन वार्ड रहेको छ।

 स्वास्थ्य कार्यालयले हस्तान्तरण गरेको कोरोना अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्री व्यवस्थापन भईनसकेकाले समस्या हुने देखिएको छ। आज  धनगढी उपमहानगरपालिकाका २५ बर्षीय पुरुष सहित १४ जना संक्रमित कैलालीमा थपिएका छन्।

गौरीगंगा वडा नम्वर ७ का ४७ बर्षीय पुरुष, २४ बर्षीय पुरुष, २१ बर्षीय पुरुष र २४ बर्षिय पुरुष, बर्दगोरीयाका २७ बर्षीय पुरुष रहेका छन्।

गौरीगंगा २ को मालिका माविको क्वारेन्टिनमा रहेका १९ बर्षीय पुरुष, ३३ बर्षीय पुरुष, २८ बर्षीय पुरुष, ३५ बर्षीय पुरुष, २८ बर्षीय महिला, २७ बर्षीय महिला, ५ बर्षीय बालक, २२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो। 
 

कमेन्ट लोड गर्नुस