कैलालीमा क्वारेन्टाईनमा बसेका युवक ४ दिनदेखि बिरामी, अस्पताल लैजान आनाकानी
लम्की : कैलालीमा भारतबाट फर्किएका युवक चार दिनदेखि बिरामी परेका छन्। जेठ ८ गते भारतको सुरतबाट फर्किएर जिल्लाको लम्कीचुहा नगरपालिकामा रहेको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बसेका २६ वर्षीय युवकले चार दिनदेखि विरामी भएपनि अस्पताल जान नपाएको गुनासो गरेका छन्।
दिनेश खबरसँग कुरा गर्दै उनले चार दिनदेखि हातखुट्टा गल्ने, दुःख्ने, पेट दुःख्ने, वान्ता हुने, टाउको दुःख्ने समस्या देखिएको अस्पताल सम्म पुगाईदिन आग्रह गर्दा समेत कसैले वास्ता नगरेको बताए। ती युवकले दुई दिन अघि मात्र लम्कीचुहा अस्पतालका स्वास्थ्यकर्मीको टोलीले सलाईन र केही औषधी दिएपनि स्वास्थ्यमा सुधार नभएको बताए।
उनले आफू कोरोना प्रभावित क्षेत्रबाट फर्किएकाले परीक्षण गरिदिन आग्रह गर्दा समेत वेवास्ता गरिएको गुनासो गरे। यता लम्कीचुहा नगरपालिकाले भने बिरामी युवकलाई चिकित्सकको सल्लाह अनुसार औषधी चलाईएको जनाएको छ।
नगरपालिकाकी स्वास्थ्य संयोजक जयन्ती विसीले युवकलाई चिकित्सकको सल्लाह अनुसार औषधी दिईएको बताउँदै आरडिटी टेस्ट गर्ने तयारी भएको बताईन्।
उनले आजै आरडिटी परीक्षणका गरिने भन्दै अहिले किट लगेर क्वारेन्टाईनतर्फ प्रस्थान गरिरहेको उल्लेख गरिन्।
आरडिटी परीक्षणमा आउने रिर्पोटका आधारमा मात्र पीसीआर परीक्षणका लागि नमूना संकलन गरिने संयोजक बिसीले बताईन्। बिरामी भएपछि उनलाई अहिले क्वारेन्टाईनमा छुट्टै व्यवस्थापन गरी राखिएको छ।