ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति प्रवास नेपाली सम्पर्क विभाग जापानको आपत्ति
जापानः प्रवास नेपाली सम्पर्क विभाग, जापानले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले हालै फेसबुक लाइभमार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विभागले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत लोकतान्त्रिक अधिकार प्रयोग गर्ने नागरिक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकलाई लक्षित गरी गरिएको अपमानजनक र असभ्य अभिव्यक्तिले लोकतान्त्रिक मूल्य, राजनीतिक मर्यादा र सार्वजनिक पदको गरिमामाथि आघात पुगेको उल्लेख गरेको छ।
विज्ञप्तिमा जिम्मेवार जनप्रतिनिधिबाट यस्ता अभिव्यक्ति आउनु अस्वीकार्य भएको जनाउँदै सम्बन्धित पक्षलाई सार्वजनिक रूपमा सभ्यतापूर्ण ढंगले माफी माग्न आग्रह गरिएको छ।
साथै, आवश्यक परे लोकतान्त्रिक, संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार थप कदम चाल्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै विभागले सम्पूर्ण समर्थक तथा शुभेच्छुकलाई संयमित, सत्य र तथ्यमा आधारित अभिव्यक्ति दिन आग्रह गरेको छ।
उक्त प्रेस विज्ञप्तिमा विभागका अध्यक्ष दीपक केसी र सह–सचिव धनञ्जय शर्मा सुवेदीको हस्ताक्षर रहेको छ।