कञ्चनपुरमा १ लाख बढीका अवैध सामान बरामद
धनगढी: कञ्चनपुर प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका विभिन्न खाद्य तथा किराना सामग्री बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–११ स्थित गड्डाचौकी क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेका अवैध सामान बरामद गरेको हो।
प्रहरीले करिब १ लाख २ हजार रुपैयाँ मूल्य बराबरका चिनी, मिस्री, दाल, विभिन्न किसिमका किराना तथा बिडी–बिजन लगायतका सामग्री बरामद गरेको जनाएको छ।
बरामद गरिएका सामान आवश्यक कानुनी कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीले सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध आयात नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको जनाएको छ।