सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोरेमिफा किड्स सिङ्गिङ कम्पिटिसन सिजन–२ को ग्रान्ड फिनाले सम्पन्न

२०८३ साउन ३, ०६:१९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका बाल प्रतिभालाई सांगीतिक मञ्च प्रदान गर्ने उद्देश्यले आयोजित डोरेमिफा किड्स सिङ्गिङ कम्पिटिसन सिजन–२ को ग्रान्ड फिनाले धनगढीमा सम्पन्न भएको छ।

धीर म्युजिक एन्ड प्रोडक्सन हाउस को आयोजनामा भएको प्रतियोगितामा राज मिडियाज हाउस शीर्ष प्रायोजक, लेकाली इलेक्ट्रोनिक्स हब पावर्ड बाई तथा जिरो टु टेन धनगढी सह–पावर्ड बाई रहेका थिए। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट छनोट भएका उत्कृष्ट १० प्रतियोगीबीच भएको प्रतिस्पर्धामा निर्णायकहरूको मूल्याङ्कनका आधारमा न्यु भिजन इङ्ग्लिस बोर्डिङ स्कुल का कोरस तामाङ विजेता घोषित भए। उनले नगद रु. १ लाख, ट्रफी, प्रमाणपत्र तथा अन्य पुरस्कार प्राप्त गरे।

एरिस्टो स्कुलका स्वर्णिम बुढाथोकी प्रथम रनर–अप बन्दै रु. ५० हजार तथा डिस्कभरी सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुल की एन्जेल चौधरी द्वितीय रनर–अप बन्दै रु. २५ हजार नगद पुरस्कारसहित सम्मानित भइन्। ग्रान्ड फिनालेमा जेनिस बिष्ट, राजेश रोकाया, आयान्श मल्ल, इयान विक्रम धामी, कोरस तामाङ, सन्दीप चौधरी, कावेरी बटाला, प्रतीक्षा तिमिल्सेना, एन्जेल चौधरी र स्वर्णिम बुढाथोकीले आफ्नो गायन प्रतिभा प्रस्तुत गरेका थिए।

कार्यक्रममा सिजन–१ का विजेता श्लोक खड्का, दोस्रो रनर–अप चन्द्रकुमारी जोशी तथा दीक्षा मल्ल को विशेष प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो। बाल्मिकी इन्टरनेसनल स्कुल को द इकोज ब्यान्ड ले पनि प्रत्यक्ष सांगीतिक प्रस्तुति दिएको थियो।

प्रतियोगिताको मूल्याङ्कन सनम परियार, सक्रिय मोहरा र कृष्ण पाण्डेय ले गरेका थिए। कार्यक्रममा एनसी एन्ड भाइहरू (नारायण एन्ड भाइहरू ब्यान्ड) ले प्रत्यक्ष सांगीतिक साथ दिएका थिए। कार्यक्रममा बोल्दै धीर म्युजिक एन्ड प्रोडक्सन हाउस का प्रमुख कार्यकारी अधिकृत धीर विक्रम सिंह ले प्रतियोगितालाई निष्पक्ष र सफल बनाउन सबैको योगदान रहेको भन्दै प्रतियोगी, अभिभावक, निर्णायक, प्रायोजक र दर्शकप्रति आभार व्यक्त गरे।

त्यसैगरी राज मिडियाज हाउस का प्रमुख कार्यकारी अधिकृत आदित्य विक्रम क्षेत्री ले प्रतियोगितालाई सुदूरपश्चिमका सबै जिल्लामा विस्तार गर्ने लक्ष्य रहेको बताए। लेकाली इलेक्ट्रोनिक्स हब का अध्यक्ष विक्रम बोहरा ले पनि आगामी दिनमा यस्ता प्रतिभामूलक कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा अभिभावक, कलाकार, विद्यालयका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी तथा सयौं संगीतप्रेमीको उपस्थिति रहेको आयोजकले जनाएको छ। आयोजकले आगामी संस्करणलाई अझ भव्य र सुदूरपश्चिमका सबै जिल्लामा विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ।

कमेन्ट लोड गर्नुस