सुदूर नेपाललाई विश्वसँग जोड्दै

गणतन्त्र दिवस : जनता सार्वभौम भएको दिन

२०७७ जेठ १५, १२:०३

समिक्षा बिष्ट

धनगढी : नेपालमा राजतन्त्रको अन्त्य भई जनताको शासन अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन आज। नेपालको राजनीतिक इतिहासको एक अविस्मरणीय दिन हो जेठ १५ गते। यही दिन जनता र राजाबीचको लडाइँमा अन्ततः जित जनताकै हुन्छ भन्ने यथार्थले मूर्तरूप लिएको थियो।

आजैका दिन २०६५ साल जेठ १५ गते बसेको संविधान सभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव अत्याधिक मतले पारित गरेको थियो। गणतन्त्र घोषणा भएको आज १२ वर्ष पुगेर १३ वर्ष लागेको छ।

सामान्यतया यो दिवस भन्नेबित्तिकै लोकले लामो समयदेखि प्रतीक्षा गरेको बहुप्रचलित राजनीतिक शासन व्यवस्था भन्ने बुझाउँछ। नेपालमै पनि सामन्ती शोषणको प्रतीकका रूपमा रहेको शताब्दिऔँ पुरानो राजतन्त्र ढलेर ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ स्थापना भएको हो। ऐतिहासिक संविधानसभाको बैठकको उल्लेखनीय बहुमतले निर्णय गर्दै राजतन्त्र सदाका लागि अन्त्य भएको घोषणा गरेको थियो।

यो आफैँमा एक युगान्तकारी परिवर्तनको तुमुल ध्वनि थियो। किनभने सामन्ती राजतन्त्रको दाँजोमा लोकतान्त्रिक गणतन्त्र त्यसै पनि प्रगतिशील शासन व्यवस्था हो। यसमा सामन्त र उनीहरूका पारिवारिक सदस्यको हातमा राज्यका प्रायस् हरेक प्रमुख निकाय रहेका हुन्छन्। जबकी लोकतन्त्र अथवा गणतन्त्रको सर्वमान्य सूत्र भनेकै ‘जनताको, जनताद्वारा र जनताका लागि’ भनेर सर्वत्र सम्मानित एवं अंगीकृत छ।

यद्यपि गणतन्त्र भन्दैमा मुलुक र देशवासीका सबै समस्या ‘छु–मन्तर’ हुने होइनन्त। थापि सम्बद्ध समस्या समाधान गर्ने दिशामा भने यो व्यवस्थाले आफूमा निहीत उदारता र समावेशी चरित्रले गर्दा उल्लेखनीय सहयोगीको भूमिका निर्वाह गर्नसक्ने हुन्छ। 
त्यसकारण गणतन्त्र दिवसको विशेष महत्त्व छ र खास उपादेयता पनि। कुनै पनि शासन व्यवस्था स्वयंमा केही पनि होइन्। कागजका केही पानामा लेखिएका पंक्तिहरूले व्यवस्थाबारे भन्छन् मात्र।

व्यवस्था त देश र देशवासीको हित एवं चौतर्फी समृद्धिका लागि विकसित भएको हुन्छ। मूल कुरा शासन व्यवस्था हाँक्नेहरूमा भर पर्छ, उनीहरूले व्यवस्थालाई साँचो लोकतान्त्रिक गणतन्त्रतिरको अग्रगमनतर्फ लैजान्छन्। 

अथवा पुरानै व्यवस्थातर्फको पश्चगमनतिर। यस तथ्यतर्फ सचेत गराउने अवसर पनि हो गणतन्त्र दिवस। यो दिवस ल्याउन विभिन्न तह र तप्काका सयौँ नागरिकले प्राणाहुति गरेका छन्। उनीहरूको बलिदानलाई ससम्मान सम्झिने र गणतन्त्रले बाटो बिराउन नपाओस् भनेर सबैले सबैलाई सचेत गराउने प्रतीकात्मक अवसर पनि हो यो दिवस।

गणतन्त्र दिवसलाई जनता सार्वभौम भएको सुखद र उल्लासमय दिनका रुपमा मनाइन्छ। आज भन्दा १२ वर्षअघि आजकै दिन गणतन्त्र प्राप्तिको उत्साहमा नेपालभरि एेतिहासिक दीपावली कार्यक्रम गरिएको थियो। नेपाली हामी रहौंला कहाँ नेपालै नरहेरु युगौं युगान्तर सम्म सिक्रिम रङ्गले नेपाली पहिचानको बयान गरोस्। 

अमर ख्याति प्राप्त गर्न सकोस्। मन अनि वन दुबै तर्फ डाँफे उडोस्, नेपाली टोपी र सगरमाथा उच्च रहुन् अनि विधिको शासन कायम रहोस्। देशले सामाजिक, आर्थिक स्थिरता प्राप्त गर्न सकोस्। 

गणतन्त्र दिवसको सार्थक शुभकामना, हिमाल, पहाड, तराई सबैतिर गणतन्त्र दिवस र राष्ट्रिय एकताका लहर एकै स्वर भई फैलिउन। हामी नेपाली हुँ नेपाली हुनुमा गर्व गर्छौं र यो गर्व शक्ति रहोस् हाम्रो नेपालको जय होस्। शुभकामना !

कमेन्ट लोड गर्नुस