सुदूरपश्चिममा सामाजिक अपराध बढ्दो, ४९० मुद्दा दर्ता
धनगढीः सुदूरपश्चिम प्रदेशमा सामाजिक अपराध बढ्दो क्रममा देखिएको छ। यस्तो अपराधमा आर्थिक वर्ष २०७८/७९ मा ७९५ र आर्थिक वर्ष २०७९/८० मा ७९९ मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ।
यस्तो अपराध आर्थिक वर्ष २०८०/८१ मा आइपुग्दा भने घटेको पाइएको छ। गत वर्ष ४९० मुद्दा प्रहरीमा दर्ता भएको अभिलेख छ। सामाजिक अपराध अन्तर्गत धर्म परिवर्तन, राज्य विरुद्धको अपराध, जातीय भेदभाव तथा छुवाछुत, आवश्यक वस्तु संरक्षण ऐन, कुटपिट अंगभंगलगायत मुद्दा रहेका छन्।
दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संघ, प्रदेश र स्थानीय तहको परिकल्पना संविधानले गरेको छ। तीनै तह राज्य शक्तिको अभिन्न अंग हुन्। तीनै तहको एकल तथा सहकार्यात्मक ढंगले हुनेगरी संविधानको अनुसूची ५, ६, ७, ८ र ९ मा अधिकारहरू बाँडफाँट गरिएको छ। यसरी संघीयताको परिकल्पनाबाट शासन प्रणालीको विकास गरिएको छ।
एकात्मक केन्द्रीकृत शासन प्रणालीबाट संघीयतामा प्रवेश गरेको ७ वर्ष भइसकेको छ। सामाजमा विभिन्न किसिमका सामाजिक अपराध बढ्दो क्रममा छ। यसले समाजमा धेरैजसो मानिसले अकालमा ज्यान गुमाउनु परेको छ। बालविवाह, देहत्याग, महिला हिंसा, घरेलु हिंसा, छाउपडी प्रथाजस्ता कुप्रथाले समाजमा जडो गाडेर बसेको छ।
समाजको सबैभन्दा डरलाग्दो अपराध देहत्याग भएको छ। यसको दर दिन प्रतिदिन बढ्दो छ। २० वर्ष पुगिसकेपछि मात्र बिहे गर्न पाउने कानुनी व्यवस्था राज्यले गरेको छ। तर सो कुरा कार्यान्वयन हुन सकेको छैन। प्रदेश प्रहरीले तयार पारेको प्रतिवेदन अनुसार अपराधका घटना संख्यात्मक रुपमा घटबढ भए पनि यसको रोकथाम भने हुन सकेको छैन्।
सुदूरपश्चिममा गत आर्थिक वर्ष २०८०/८१ मा ज्यान सम्वन्धि ३३९, देहत्याग अन्तर्गत ३६०, चोरी अन्तर्गत ११०, संगठित तथा आर्थिक अपराध अन्तर्गत ४४०, महिला तथा बालबालिका अन्तर्गत २२९, सवारी अन्तर्गत २१७ र अन्य अपराध अन्तर्गत २०२ मुद्दा प्रहरीमा दर्ता भएको देखिएको छ।