गौरीफन्टामा बेहोस भए, अस्पतालमा अस्ताए
धनगढी : मंगलबार साढे दुई घण्टाको लागि मात्रै गौरीफन्टा नाका खुलेपछि पाँच हजार बढि नेपाली स्वदेशी भूमीमा पुगे। सोही भीडमा थिए, कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ९ का वीरवहादुर बन्तोला।
भारतमा बढ्दै गएको कोरोना भाईरसको संक्रमण र जारी लकडाउनका कारण उनलाई पनि जन्मभूमीमै फर्किन इच्छा थियो। त्यो इच्छा मंगलवार पूरा हुँदे थियो।
स्वदेशी माटोमा टेक्न पाउँदा उनी मात्रै होईन संगै फर्किएका ३७ जना मख्ख थिए। महाराष्ट्रको रत्नागिरीबाट स्वदेशका लागि ३७ जनासँग गाडी रिजर्भ गरेर हिँडेका थिए उनी।
प्रति व्यक्ति साढे ७ हजार रुपैयाँ भाडा तिरेर गौरीफन्टा सम्म पुगेका थिए। नाकामा आइपुगेपछि भने बन्तोला एक्कासी बेहोस भए।
सँगै आएका शेरबहादुर ताडीले भने, ‘१२, १३ घण्टासम्म खाना पनि खाएका थिएनौ। शरिर दुख्न थालेपछि बन्तोलाले पनि औषधि सेवन गरेका थिए। नाकामा पुग्नासाथ उनी बेहोस भए।’
नाकामा बेहोस भएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा ल्याईयो। ‘स्वास्थ्य जाँच गर्दा उनको अवस्था सामान्य नै थियो,’ सेती प्रादेशिक अस्पतालले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘भारतबाट आएको हुनाले निजलाई निगरानीको लागि आईसोलेसनमा राखिएको थियो। राति पनि उनको अवस्था सामान्य थियो। बिहान ६ बजे उनको मृत्यु भयो।’
अस्पतालका अनुसार भारतको अस्पतालमा जाँच गराउँदा चिकित्सकले उनलाई दिमागको शल्यक्रिया गर्नुपर्ने र खर्च धेरै लाग्ने बताएका थिए। तर आर्थिक समस्याका कारण उनले शल्यक्रिया गर्न सकेनन्।
मृतक बन्तोला गत पुस पहिलो साता भारत गएका थिए। आँप टिप्ने सिजनमा उनी भारत जान्थे भने सिजन सकिएपछि घर फर्किन्थे। उनको घरमा श्रीमती, र ४ जना नातिनातिना छन्। उनका ४ जना छोराबुहारी भने मजदुरीका लागि भारतमै छन्।