सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाको स्वदेश फर्केर राजनीतिक जिम्मेवारी निभाउने घोषणा

फाइल फोटो
फाइल फोटो
२०८३ साउन ५, ०९:१४ नारायण अवस्थी

धनगढी:  नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र, संविधान र संवैधानिक संस्थामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्। जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा जारी दुई पृष्ठ लामो सन्देशमार्फत देउवाले वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि काँग्रेस दृढतापूर्वक उभिने बताएका हुन्।

देउवाले बीपी कोइरालाबाट प्राप्त राष्ट्रवाद, प्रजातन्त्र र समाजवादको आदर्श नै आफ्नो राजनीतिक जीवनको मार्गदर्शक रहेको उल्लेख गर्दै काँग्रेसले विगत आठ दशकदेखि निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध निरन्तर संघर्ष गर्दै आएको स्मरण गरेका छन्।

उनले पछिल्लो समय सरकार प्रतिपक्षप्रति असहिष्णु बन्दै गएको, स्वतन्त्र न्यायपालिका, संवैधानिक निकाय तथा लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना गर्ने संकेत देखिएको आरोप लगाएका छन्। न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई दबाब दिने प्रयास भइरहेको भन्दै उनले यस्तो प्रवृत्तिले लोकतन्त्र र संविधानलाई कमजोर बनाउने चेतावनी दिएका छन्।

देउवाले लोकतन्त्र केवल निर्वाचनमा सीमित नभई जनताको सामूहिक आत्मनिर्णयको अधिकार भएको उल्लेख गर्दै राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षा गर्न लोकतन्त्र सुदृढ हुन आवश्यक रहेको बताएका छन्।

स्वास्थ्य उपचारका क्रममा केही महिनादेखि विदेशमा रहे पनि आफ्नो मन, सोच र चिन्ता देश, जनता र लोकतन्त्रप्रति नै केन्द्रित रहेको उल्लेख गर्दै उनले नेपालका पछिल्ला राजनीतिक घटनाक्रमलाई निरन्तर नियालिरहेको बताएका छन्। उनले अब स्वदेश फर्केर लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा अझ सक्रिय रूपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

देउवाले वर्तमान अवस्थामा देशलाई विभाजन होइन, एकता; अविश्वास होइन, विश्वास; प्रतिशोध होइन, सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सबै राजनीतिक दल, नागरिक समाज, युवा पुस्ता र आम नेपालीलाई लोकतान्त्रिक मूल्यको रक्षाका लागि एकजुट हुन आह्वान गरेका छन्।

बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै उनले राष्ट्र निर्माण, सामाजिक न्याय, समावेशिता, आर्थिक समृद्धि र राष्ट्रिय एकतालाई काँग्रेसको मूल मार्गदर्शक सिद्धान्तका रूपमा अघि बढाइने बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस