सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ४० दिनपछि कसरी थपिए कोरोना संक्रमित

२०७७ जेठ १०, ०७:१६ नवराज पनेरु

धनगढी : सुदूरपश्चिममा पहिलो संक्रमित फेला परेको दुई महिना पुग्नै लागेको थियो। सुदूरपश्चिम प्रदेशभरी नै नयाँ संक्रमित फेला नपरेको पनि ४० दिन भईसकेको थियो। पहाडी जिल्ला बैतडी र दार्चुलाका नाकाबाट नेपाली मजदुर फर्किने क्रम बढेको थियो। कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर सुदूर पहाड जानेको सङख्या पनि कम थिएन्। भारतबाट फर्किएकाहरु मध्ये अधिकासंको परीक्षण नै भएको थिएन। आन्तरिक ट्राभल हिस्ट्री मात्रै भएका तर कोरोना लक्षण देखिएका व्यक्तिको भने परीक्षण भईरहेको थियो। 

बैतडीको शिवनाथ गाउँपालिकाका २२ बर्षीय युवकलाई कर्तव्य ज्यानको मुद्धामा प्रहरीको थुनामा रहेको २५ र भारतबाट फर्किएको ६५ दिन भईसकेको थियो। कोरोनाको लक्षण देखिएपछि थ्रोट स्वाबको नमुना संकलन गरियो र शुक्रवार ति युवकमा संक्रमण पुष्टि भयो। भारतबाट आएको ६५ र थुनामा रहेको २५ दिन भईसकेका युवकमा कोरोना संक्रमण कसरी भयो भन्ने बारेमा अहिले ट्रेसिङ भईरहेको छ।

‘६५ दिनअघि भारतबाट आउँदा उनी आफैले कोरोना ल्याएर आएका थिए वा बैतडी पुगेपछि उनमा संक्रमण भयो भन्ने बारेमा अहिले भन्न सकिदैन्,’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले भने, ‘थुनामा रहेका व्यक्तिमा कोरोना देखिएपछि झण्डै दुई सय बढि प्रहरीको पनि परीक्षण गर्नुपर्ने देखिएको छ। हामीले स्वास्थ्य कार्यालयलाई अनुरोध गरेका छौ।’ उनका अनुसार बैशाख १५ गते ति युवकलाई पक्राउ गरिएको थियो। 

डडेल्धुराका संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भईसकेका बिरामी हुन्। जिल्लाको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बर्षीय कोरोना संक्रमित पुरुषलाई केहीदिन अघि मात्रै डडेल्धुरा अस्पतालबाट डिस्चार्ज गरिएको थियो। डडेल्धुरा अस्पतालका मेसु डाक्टर जगदिश विष्टले भने, ‘ति पुरुषमा स्क्रव टाइफस पनि देखाएको थियो। सञ्चो भएर उनी घर फर्किसकेका थिए।’ डाक्टर विष्टका अनुसार उनको ६ गते मात्रै थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानले भने, ‘चैत, बैशाख र जेठको ९ गते सम्म संक्रमित युवकले जिल्ला छोडेका छैनन्। अधिकासं समय उनी सदरमुकाममै बसेका थिए।’ स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार जिल्लाभित्र मात्रै ट्राभल हिस्ट्री भएका व्यक्तीमा कोरोना देखिएपछि उनले कतैबाट कोरोना लगेर गएको हुन सक्ने सम्भावना निकै कम छ। संक्रमित युवक सरकारी कर्मचारी पनि हुन्। 

शुक्रवार नै कैलालीका तीन जनामा कोरोना पुष्टि भएको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्वर ४ र ७ का १९, २३ र २६ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो। उनीहरु इटहरी, बाँके र भारतबाट लुकीछिपी फर्किएका थिए। 
जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले दिएको जानकारी अनुसार वडा नम्वर ४ का संक्रमित जेठ १ गते कालाकुण्डा नाका हुँदै जानकी गाउँपालिका पुगेका थिए।

उनी भारतको महाराष्ट्रबाट फर्किएका थिए। ‘वडा नम्वर ७ का दुई जना संक्रमित मध्ये एक जना इटहरी र एक जना बाँकेबाट फर्किएका हुन्। इटहरीबाट आएका युवक बैशाख ३० गते जानकी गाउँपालिका पुगेका थिए भने अर्का सक्रमित युवक बाँकेको जानकी गाउँपालिका ३ बाट जेठ ३ गते कैलाली पुगेका थिए।’ उपाध्यक्ष महत्तोले भनिन्। 

उनीहरु तीनै जनालाई सरस्वती माविको क्वारेन्टाइनमा राखिएको थियो। भारतबाट फर्किएका युवकलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो भने अन्य दुई जना संक्रमितलाई भने गाउँपालिकाले घरबाटै प्रहरी लगाएर क्वारेन्टाइनमा ल्याएको थियो। कैलालीका तीनै जना संक्रमित गत साता मात्रै जिल्ला फर्किएकाले उनीहरुले भने अन्य क्षेत्रबाट कोरोना ल्याएको हुन सक्ने अनुमान गरिएको छ।

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो।

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस